काठमाडौं। तीन वटा जहाज ग्राउन्डेड भएको र मर्मतसम्भारमा ढिलाइ गरेर राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम(एनएसी) अस्तव्यस्त बनाएको विषयमा प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा बिहीबार झन्डै ३ घन्टा छलफल भयो। बिहान साढे १० मा बैठक बोलाइए पनि ११ बजेदेखि सुरु भयो।
बैठकको सुरुमै एनएसीका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई जहाजमा देखिएका समस्याकाे कहिलेसम्म समाधान भइसक्छ भनेर धारणा राख्ने समय दिइयो। करिब १५ मिनेटजति बोलेका अध्यक्ष अधिकारीले जहाज मर्मतसम्भारको काम भइरहेको, इन्जिनको विस्तृत अध्ययन(सी–चेक)को काम नियमित हुँदाहुँदै पनि प्राविधिक कारणले ढिलाइ हुँदा एकैसाथ ३ वटा जहाज ग्राउन्डेड हुन पुगेको रेडिमेड जवाफ दिए। सी-चेकका लागि तीन पटक ठेक्का आह्वान गर्नुपरेको, विदेशमा पैसा पठाउन बैंकले ढिलाइ गरेको, पार्टपुर्जा खोल्दै जाँदा अन्य समस्या पनि देखिँदा जहाज मर्मतसम्भारमा ढिलाइ भएको तर्क उनले गरे।
उनले एकै साथ सबै जहाजको इन्जिन मर्मत गर्नुपर्ने भएकोले अहिले समस्या आएको बताउदै सेप्टेम्बरको पहिलो साता भित्रै इटालीमा बनिरहेको वाइडबडी जहाज उडानमा आइसक्ने प्रतिबद्धतासमेत जनाए। उनले जहाज मर्मतसम्भार गरी नियमित उडान गर्न निगमका कर्मचारीले प्रयास गरिरहेकाे बताए।
अध्यक्ष अधिकारीका कुरा सुनेपछि बैठकमा उपस्थित सांसदहरुले पालैपाले बोले। सबै सांसदले अध्यक्ष अधिकारीको कार्यक्षमतामाथि प्रश्न मात्र उठाएनन्, निजी क्षेत्रलाई तत्कालै जहाज चलाउने जिम्मा दिनुपर्नेसमेतका प्रस्ताव राखे।
छलफलमा नेकपा एमाले सांसद देवी भट्टचनले सरकारबाट निगम चलाउन नसक्ने अवस्थामा पुगेकाले ढिला नगरी हिमालय एयरलाइन्सलाई सबै जहाज चलाउन दिनुपर्ने प्रस्तावसमेत राखे।
भट्टचनकै प्रस्तावमा राप्रपाका सांसद पशुपतिशमशेर राणाले पनि सरकारले बिजनेस गर्न नसक्ने बताउँदै निजीकरण तत्कालै गरेर ऋणबाट मुक्त हुनुपर्ने धारणा राखे।
नेपाली कांग्रेसका सांसद उदयशमशेर राणाले ७५ प्रतिशत जहाज ग्राउन्डेड हुनु भनेको गम्भीर लापर्वाही भएको भन्दै यसको सम्पूर्ण जिम्मेवारी निगम व्यवस्थापनले लिनुपर्ने बताए। निगममा हालका अध्यक्ष अधिकारी आएपछि मात्रै करिब १० अर्ब रुपैयाँ नोक्सान बेहोरिसकेको बताउँदै यसको जिम्मेवारी कसले लिने भन्ने प्रश्न उनले उठाए।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले अध्यक्ष अधिकारीको कार्यक्षमतामाथीनै प्रश्न उठाउँदै नैतिकताको आधारमा राजीनामा दिएर बाटो खोल्न अनुरोध गरे। ‘निगम लथालिंग बनेको र अर्बौ रुपैयाँ ऋणमा डुबाएकामा आत्मग्लानि गर्दै अध्यक्ष अधिकारीले तत्कालै राजीनामा दिनुपर्छ,’ सांसद खनालले भने, ‘हैन भने हटाएर सरकारले तत्कालै नयाँ व्यवस्थापक लगेर चलाउने आँट गर्नुपर्छ।’
पूर्वपर्यटनमन्त्री एवं माओवादी केन्द्रका सांसद सुदन किराँतीले छिनछिनमा मन्त्री परिवर्तन हुने भएकाले कर्मचारीमा मनपरीतन्त्र हावी भएको र त्यसैको प्रमुख पात्र निगमका अध्यक्ष अधिकारी रहेकाे दाबी गरे। ‘निगम सुधारका लागि बनेका सुझाव बुझ्दाबुझ्दै पद छोड्नुपर्ने हुँदा कार्यान्वयन गर्न सकिएको छैन’, पूर्वमन्त्री किराँतीले भने।
पूर्वपर्यटनमन्त्री एवं माओवादी केन्द्रका सांसद हितबहादु तामाङले पनि निगम व्यवस्थापनसँग काम गर्न जोसजाँगर नदेखिएकाले तत्कालै ‘बोल्ड डिसिजन’ सरकारले नगरे संस्था डुब्ने स्थितिमा पुग्ने जिकिर गरे। ‘जहाजमा देखिएको समस्याबारे यो पहिलो पटक हैन,’ पूर्वमन्त्री तामाङले भने, ‘मन्त्रीको निर्देशन नमान्ने र आफूखुसी गर्ने प्रवृत्ति निगम व्यवस्थापनमा हावी छ। यसको अन्त्य नभएसम्म समस्या समधान हुँदैन।’
कानेखुसी गरेपछि अध्यक्ष अधिकारीले खाए थर्काइ
सांसदहरुले बोलिरहँदा निगम अध्यक्ष अधिकारी भने कर्मचारीसँग कानेखुसी गरिरहेका थिए। यतिसम्म कि सांसदले बोलिरहँदा बीचमै उत्तर दिने र आफ्ना कर्मचारीले समेत जवाफ दिन पाउनुपर्ने भन्दै सभापतिलाई अनुरोध गरिरहेका थिए। समिति सभापति राजकिशोर यादवले अध्यक्ष अधिकारीलाई आफ्नो कार्यशैली परिवर्तन गर्न भन्दै थर्काए।
‘निगमको चियरम्यान भएकाले अबदेखि बैठकमा तपाईं मात्र आउनू, दलबल लिएर नआउनू‘, सभापति यादवले भने, ‘तपाईंको साइट टक बढी भयो। अब आइन्दा यस्तो हर्कत नदेखाउनु।’
समिति बैठकमा अध्यक्ष अधिकारी आफूसहित आधा दर्जन कर्मचारी लिएर आएका थिए। उनले यसअघिका बैठकमा समेत कर्मचारी लिएर आउने र दोषा पनि आफूभन्दा तलका कर्मचारीलाई दिएर पन्छिँदै आएका थिए। तर, सभापति यादवले अर्को पटकको बैठकमा आउँदा एक्लै आउनू भनेर निर्देशनै दिए।
विषयगत भएन निर्णय
समिति बैठकको मुख्य उद्देश्य नै ग्राउन्डेड जहाजको समस्याको समाधान कसरी हुन्छ र कहिलेसम्म हुन्छ भन्नेमा थियो। तर, सांसदले बोल्ने क्रम नसकिएपछि मूल विषयमा कुनै निर्णय हुन सकेन।
राप्रपाका सांसद धबलशमशेर राणाले समितिमा पटक पटक यस्ता विषयमा छलफल हुने गरेको बताउँदै तत्कालीन अवस्थामा समाधान चाहिएकोले यो विषयमा निर्णय गर्नुपर्ने प्रस्ताव राखे। एमाले सांसद सुनिता बरालले पनि छलफल मात्र गर्नेभन्दा निष्कर्ष निकालेर जनतालाई सेवा दिनुपर्ने प्रस्ताव राखे।
तर, समिति सभापति यादवले भने अहिले नै कुनै निर्णय दिन नसक्ने र अर्को बैठकमा थप छलफल गर्ने प्रस्ताव राखे। सभापतिको प्रस्तावपछि बैठकमा उपस्थित पर्यटनमन्त्री बन्द्रीप्रसाद पाण्डे र राज्यमन्त्री अरुणकुमार चौधरीले समेत केही बोल्न पाएनन्। ‘तपाईंहरुलाई अर्को बैंठकमा बोल्न दिन्छु। अहिलेलाई जानुस्’,सभापति यादवले भने।