काठमाडौं । बागमती प्रेदश सरकारमा राजस्व संकलनमा वृद्धि भएको छ। गत आर्थिक वर्ष २०७९/८० कोभन्दा आर्थिक वर्ष २०८०/८१ मा ४.७२ प्रतिशतले राजस्व संकलन बृद्धि भएको हो।
आर्थिक मामिला तथा योजना मन्त्रालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०८०/८१ मा २५ अर्ब ५० करोड ४२ लाख संकलन भएको छ।
आर्थिक वर्ष २०७९/८० मा २४ अर्ब ३५ करोड ४२ लाख राजस्व संकलन गरेको प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ मा एक अर्ब १५ करोडभन्दा बढी राजस्व संकलन गर्न सफल भएको हो।
प्रदेश सरकारअन्तर्गत कोष तथा लेखा नियन्त्रक कार्यालय प्रमुख हरिप्रसाद उपाध्यायले लक्ष्य अनुसार नै राजस्व संकलन भएको जानकारी दिए।
उनले भने, 'घरजग्गा रजिष्ट्रेशन ‘मालपोत’ र सवारीसाधन करमा केही कमी आएको छ। आर्थिक तरलताका कारण घरजग्गा तथा नयाँ सवारीसाधन खरिद बिक्री कारोबारमा सोचे जस्तो राजस्व संकलन नभएता पनि तुलनात्मक रुपमा गत आर्थिक वर्षभन्दा ४.७२ प्रतिशत वृद्धि हुनुभनेको सन्तोषजनक नै हो।’
विशेषत प्रेदशमा घरजग्गा रजिष्ट्रेशन ‘मालपोत’ र सवारीसाधन कर प्रदेश सरकारको राजस्व संकलनको मुख्य आयस्रोत मानिन्छ। प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रीको रुपमा कुन्दनराज काफ्लेले जिम्मेवारी सम्हालेपछि प्रदेशको अर्थतन्त्र थप सकारात्मक रुपमा चलायमान भएको उपाध्यायको भनाई छ।
मन्त्रालयको तथ्यांक अनुसार दुवै शीर्षकबाट आर्थिक वर्ष २०८०/८१ मा १४ अर्ब राजस्व संकलन हुने अनुमान गरिएकामा ११ अर्ब ६० करोड ७६ लाख ५० हजार मात्र राजस्व संकलन छ।
त्यस्तै, घरजग्गा रजिष्ट्रेशन शीर्षकबाट ६ अर्ब ७५ करोड राजस्व संकलन गर्ने लक्ष्य रहेकामा त्यसको करिब ८१.३२ प्रतिशत अर्थात पाँच अर्ब ४८ करोड ९३ लाख ३८ हजार राजस्व संकलन भएको छ।
यस्तो छ २०७९/८० र २०८०/८० को राजस्वको अवस्था