काठमाडौं। नेपाल पर्यटन बोर्ड तथा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)सँगको सहकार्यमा सञ्चालित जीविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) ले तेस्रो पटक प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) गोल्ड अवार्ड प्राप्त गरेको छ।
प्यासिफिक ट्राभल एसोसिएसन (पाटा) को थाइल्यान्डमा बुधबार आयोजित कार्यक्रममा पाटाका अध्यक्ष पिटर साइमनले (एसटीएलआरपी) परियोजनाका निमित्त प्रबन्धक धर्म दवाडीलाई अवार्डबाट सम्मानित गरेका हुन्।
परियोजनाले कम्युनिटी बेस टुरिजममा २०२४ का लागि पाटा गोल्ड अवार्ड प्राप्त गरेको हो। परियोजनाले नेपालका सात प्रदेश, ५८ जिल्ला तथा ८५ वटा नगर/गाउँ पालिकासँगको सह–लगानीमा विभिन्न स्थानमा पर्यटकीय गन्तव्य निर्माण गरी पर्यटन रोजगारीका अवसर सिर्जना र दिगो पर्यटन विकासमा क्षमता अभिवृद्धि गरेकाले यो अवार्ड प्राप्त गरेको हो।
परियोजनाले यसअघि सन् २०२२ र २०२३ मा पनि एसटीएलआरपी परियोजनाले (पाटा) गोल्ड अवार्ड प्राप्त गरेको थियो। एसटीएलआरपीले पर्यटनका माध्यमबाट महिला सशक्तिकरणमा गरेको पहलकदमी, दिगोपन तथा सामाजिक उत्तरदायित्वका लागि २०२३ मा पाटा गोल्ड अवार्ड र २०२२ मा टुरिजम डेस्टिनेसन रेसिलेन्सी विधाअन्तर्गत पाटा गोल्ड अवार्ड प्राप्त गरेको थियो।
निरन्तर पाटा अवार्ड प्राप्त गर्नुले परियोजनाले गरिरहेका कामले पर्यटन क्षेत्र लाभान्वित भएको र यसले थप काम गर्न प्रोत्साहन मिलेको बोर्डका निमित्त कार्यकारी प्रमुख नन्दिनी लाहे थापाले बताइन्।
परियोजनाले कोभिड–१९ पछि करिब १० हजार पर्यटन मजदुरलाई अल्पकालिन रोजगारी सिर्जना तथा चार हजारलाई क्षमता अभिवृद्धि तालिमसहित सातै प्रदेशका विभिन्न पालिकामा पर्यटकीय गन्तव्य निर्माण गरिएको बोर्डका प्रबन्धक तथा राष्ट्रिय कार्यक्रम संयोजक श्रद्धा श्रेष्ठले जानकारी दिइन्।
यो अवधिमा परियोजनाले महिलाका लागि रिभर गाइड, यौनिक तथा लंैगिक अल्पसंख्यकका लागि टे«किङ गाइड तथा सातै प्रदेशका १५० पालिकामा पर्यटन रणनीति निर्माण, १३० वटा विद्यालयमा राष्ट्रिय दिगो पर्यटन क्लब गठन गरी पर्यटन जनचेतना अभिवृद्धिको कार्यक्रम तथा पर्यटनसँग सम्बन्धित विभिन्न निजी सरोकारवाला संस्थासँगको सहकार्यमा विभिन्न विधाका पर्यटन गाइड म्यानुअल निर्माण गरिएको श्रेष्ठको भनाइ छ।
सोही कार्यक्रमाम नेपालको इन्ट्रीपिड डीएमसी नेपालले दिगो विकास तथा सामाजिक उत्तरदायित्व (सोसल रेस्पोन्सबिलिटी एन्ड सोसल रेस्पोन्सविलिटी)अवार्ड प्राप्त गरेको बोर्डले बताएको छ।