काठमाडौं । नेपाल बिमा प्राधिकरणले वैदेशिक रोजगार म्यादी बिमा समानुपातिक रूपमा ‘पुल’ प्रणालीमार्फत गराउने भएको छ। यस्तो बिमा लेखमा कमिसनको खेल मौलाउँदै गएपछि प्राधिकरणले ६८ः३८ को अनुपातमा पुलमार्फत गराउन लागेको हो।
सरकारले अनिवार्य गरेको बिमामध्येको वैदेशिक रोजगारीमा जानेहरूले गर्नु पर्ने म्यादी जीवन बिमालाई कम्पनीले ‘पोटफोलियाे’ बढाउने हतियारको रूपमा प्रयोग गर्न थालेको थिए।
कम्पनीले बिमा शुल्कको ९० प्रतिशतसम्म कमिसनमा खर्च गरेको फेला पारेपछि प्राधिकरणले यसलाई नियामकीय दायरामा ल्याउन लागेको हो।
बिमा व्यवसायमा कमिसन दिएर नै मध्यस्थकर्ता अर्थात् अभिकर्तामार्फत विस्तार गर्न पाउने कानुनी प्रावधान छ। तर, निश्चित समयपछि स्वतः खारेज हुने प्रकृतिको म्यादी बिमालेखमा मध्यस्थकर्ता राखेर कमिसन दिन मिल्दैन।
बीमितले सोझै कम्पनीमा गएर बिमा गर्न सक्ने व्यवस्था प्राधिकरणले गरेको छ। यस्तो बिमालेख जारी गर्दा बिमकले व्यवसाय विस्तार वा बिजनेस प्रमोसनको नाममा मध्यस्थकर्ता वा कसैलाई पनि कमिसन दिनु गैरकानुनी हो।
वैदेशिक रोजगार म्यादी जीवन बिमामा मौलाएको बेथिति रोक्न यसलाई ‘पुल’मार्फत गर्ने कार्यविधि निर्माण कार्य सुरु गरिएको प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद शिलवालले बताए।
‘समानुपातिक तवरले यसलाई पुलमार्फत गर्न विषय तय भइसकेको छ, जसका लागि हामी कार्यविधि निर्माण गर्दैछौं,’ प्राधिकरण अध्यक्ष शिलवालले क्यापिटल नेपालसँग भने, ‘अब कम्पनीले ६८ः३२ को अनुपातमा व्यवसाय विभाजन गरेर पुलमार्फत वैदेशिक रोजगार म्यादी जीवन बिमा व्यवसाय गर्नु पर्ने हुन्छ। कार्यविधि हामी नै बनाउँछौं र पुल सञ्चालन गराउने काम पनि हाम्रो नै हो।’
नयाँ कार्यविधि कार्यान्वयन आएपछि वैदेशिक रोजगार म्यादी जीवन बिमा लेख बिक्री भएको शतप्रतिशतमा ६८ प्रतिशत सबै कम्पनीमा समानुपातिक तवरमा वितरण हुनेछ भने ३२ प्रतिशत हिस्सा बिमा लेख जारी गर्ने कम्पनीमा रहने प्राधिकरण अध्यक्ष शिलवालले जानकारी दिए। प्राधिकरणले ‘वैदेशिक रोजगार म्यादी बिमा पुल सञ्चालन कार्यविधि, २०८१’ को मसयौदा निर्माण गर्दै छ। उक्त कार्यविधि मस्यौदा बिमा प्राधिकरण सञ्चालक समितिले पास गरेपछि लागू हुनेछ।
बिमा व्यवसायलाई पुलमार्फत गर्दा कम्पनीबीच भएको सम्झौताअनुसार व्यवसायको हिस्सा बाँडफाँड हुन्छ। पुलमा सहभागी कम्पनीले पुल प्रणालीमार्फत बिमा लेख बिक्री गरी सोहीअनुसार आम्दानी र खर्च हिस्सा लगाउँछन्। वैदेशिक रोजगार म्यादी जीवन बिमालाई यसअघि पनि २०७५ सालदेखि २०७९ असार मसान्तसम्म पुलमार्फत गरिएको थियो। तर, यसको बिमा शुल्क भुक्तानी अनलाइन प्रणालीमाफत भएपछि पुल खारेज गरियो।
पुल खारेजसँगै यसमा बिमा कम्पनीले वालेटमार्फत गरिने बिमालेख भुक्तानीलाई ‘क्यासब्याक’को नाममा प्रतिबिमा लेख १२ सय रुपैयाँसम्म वैदेशिक रोजगार कम्पनीहरूलाई कमिसन दिन थालेका थिए। कमिसन दिए मात्रै म्यानपावर कम्पनीले बिजनेस दिन थालेपछि यस्तो विकृति बारे गुनासो गर्दै गत असारमा निर्जीवन बीमक संघ नै प्राधिकरण पुगेको थियो।
प्राधिकरणद्वारा जारी ‘वैदेशिक रोजगार म्यादी बिमालेख निर्देशन, २०८०’ अनुसार वैदेशिक रोजगारमा जानेहरूको बिमा गर्नुपर्छ। जसमा बिमा कम्पनीहरूले १८ वर्षदेखि वर्षदेखि ६४ वर्ष उमेरसम्मका लागि १ वर्षदेखि साढे ६ वर्षसम्मलाई बिमा लेख जारी गर्न पाउँछन्। यस्तो बिमा लेखको मूल्य न्यूनतम १४ सय ८६ देखि अधिकतम १८ हजार २२२ रुपैयाँसम्म निर्धारण गरिएको छ।
केही जीवन बिमा कम्पनीले म्यानपावर कम्पनी र वालेटमा बिमा शुल्कबापतको पैसा कमिसनमै खर्च गरिरहेका गर्न थालेपछि यस्तो बेथिति रोक्न प्राधिकरणले पुनः पुलको व्यवस्था लागू गर्नु परेको हो।
प्राधिकरणले अघिल्लो मोडालिटीमा पुल सञ्चालन गर्न सुझाए पनि केही बिमा कम्पनीहरू सहमत नभए पनि प्राधिकरणले हस्तक्षेप गर्दै कार्यविधि नै निर्माण गरी पुलमा जान निर्देशन दिन लागेको हो। प्राधिकरणको कार्यविधि अनुसार स्थापित हुने पुल प्रणालीमा यसमा ३ वटा लघु बिमा सहितका १७ वटै निर्जीवन बिमा कम्पनी सहभागी हुनु पर्ने छ।
गत असारसम्म नेपालबाट कुल ७ लाख ४१ हजार ३ सय २ नेपाली वैदेशिक रोजगारीमा विभिन्न देश गएका छन्। वैदेशिक रोजगारीमा जानेले हालसम्म ३ अर्ब १३ करोड रुपैयाँ बराबरको म्यादी जीवन बिमा गराएका छन्।