काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण नेतृत्वको टाउको दुखाइ बन्दै आएको छ, गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा चलाउने विषय। अर्बौ रुपैयाँ ऋण लागतमा निर्माण भएर सञ्चालनमा आएको २ वर्ष बढी बितिसक्दासमेत दुई विमानस्थल सञ्चालन हुन नसकेको भन्दै सरकारको चौतर्फी आलोचना भइरहेको छ।
अर्बौ रुपैयाँको ऋणमा पूर्वधार निर्माण व्यावसायिक सम्भावना अध्ययनबिनै हचुवामा विमानस्थल निर्माण भएको भनिरहँदा प्राधिकरण नेतृत्वका लागि केही समय टाउको लुकाउने ठाउँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिले दिएको हो।
दुई विमानस्थलमा जहाज उडान गर्न विदेशी एयरलाइन्सलाई विभिन्न सुविधा दिएर लोभ्याउँदासमेत नियमित सञ्चालन गर्न नसकिरहेका बेला प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिको बहानामा अनिवार्य काठमाडौं बाहिर जाने व्यवस्था लागू गरेको छ।
अन्य समय बाध्यकारी रुपमा पोखरा र गौतमबुद्ध विमानस्थलबाट उडान गर्न निर्देशन दिन नमिलिरहेको बेला काठमाडौंको विमानस्थल स्तरोन्नति गर्दा लामो समयसम्म विमानस्थल बन्द हुँदा उडानै नगर्नुभन्दा वैकल्पिक रुपमा बाहिरका विमानस्थलबाटै भए पनि उडान गर्न एयरलाइन्स तयार भएका हुन्।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले वार्षिक ८० लाख यात्रु क्षमताको टर्मिनलले अहिले ९५ लाखसम्म यात्रु थेगिरहेको बताउँदै तत्कालै स्तरोन्नतिको विकल्प नभएको बताए। धावन मार्ग, ट्याक्सी वे, एप्रोन विस्तार गर्न प्राधिकरणले कात्तिक २३ देखि चैत १८ सम्म दैनिक १० घन्टा बन्द गरेर काम गर्न लागेको जानकारी उनले दिए। १० घन्टा विमानस्थल बन्द हुँदा आन्तरिक र अन्तर्राष्ट्रिय गरी करिब ३३ प्रतिशत उडान कटौती हुनेछन्।
अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई भैरहवाको गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट ४० प्रतिशत उडान गर्ने गरी पुनर्तालिकीकरण गर्न परिपत्र भएको छ। दैनिक चार उडान गर्नेले कम्तीमा ५० प्रतिशत र तीन उडान गर्नेले २५ प्रतिशत उडान भैरहवा वा पोखरा सार्नैपर्नेछ।
सन् २०२० बाट सुरु भएको धावन मार्ग, ट्याक्सी वे र एप्रोन विस्तारको काम सन्् २०२५ भित्रै सम्पन्न गर्ने प्राधिकरणको लक्ष्य छ।
अहिले त्रिभुवन विमानस्थलमा बिहान ६ देखि ३ बजेसम्म दैनिक २१ घन्टा उडान हुँदै आएको छ। यो अवधिमा करिब ११० अन्तर्राष्ट्रिय र २४० आन्तरिक उडान हुँदै आएको छ। अहिलेको टर्मिनल भवन ४० वर्षअघि निर्माण गरिएको हो।
पोखरा र भैरहवामा उडान गर्नेलाई छुटैछुट
प्रधानमन्त्री कार्यालयले पोखरा र भैरहवा विमानस्थल सञ्चालनसम्बन्धी कार्यविधि बनाएर स्वीकृतसमेत गरेको छ। स्वीकृत कार्यविधिअनुसार नेपाल वायुसेवा निगम (नेवानि)को ग्राउन्ड ह्यान्डलिङ सेवामा ७५ प्रतिशत छुट, हवाई टिकटमा भ्याट छुट, यात्रु सेवाशुल्कमा छुट, हवाई इन्धनमा छुट, श्रम डेस्क स्थापनालगायत छुट, सहुलियत तथा सेवा उपलब्ध गराइने उल्लेख छ।
मन्त्रिपरिषद् निर्णयबमोजिम आयल निगमले हवाई इन्धनमा प्रतिकिलोलिटर १ सय अमेरिकी डलर छुट दिने निर्णय गरिसकेको छ।
पर्यटन चलायमान हुने आस
काठमाडौं विमानस्थलमा उडान गर्नकै लागि पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अनिवार्य उडान गर्नैपर्ने बाध्यतामा अन्तर्राष्ट्रिय एयरलाइन्सहरु परेका छन्। अन्तर्राष्ट्रिय एयरलाइन्स बाध्यतामा परे पनि त्यस क्षेत्रको पर्यटन चलायमान हुने निश्चित देखिएको छ।
नेपाल पर्यटन बोर्डका पूर्वसञ्चालक एवं बाराही ग्रुपका प्रबन्ध निर्देशक विप्लव पौडेल पोखरा अन्तर्राष्ट्रिय विमानस्थल केही समय मात्र सञ्चालन हुँदा पनि पर्यटनमा सकारात्मक प्रभाव पर्ने बताउँछन्। काठमाडौंमा आउने पर्यटकको गन्तव्य पनि पोखरा नै हुने गरेकाले सीधै पोखरा आउँदा पहिलाको तुलनामा ७ देखि १० प्रतिशत पर्यटक थपिने उनको भनाइ छ।
उनले अहिलेको अवस्थामा होटल पर्याप्त रहेको बताउँदै लक्जरी खोज्नेका लागि भने पर्याप्त नरहेको र विस्तारै तयार भइरहेको उनले जानकारी दिए। ‘छोटो समय नियमित उडान सुरुआतले दीर्घकालीन रुपमा नियमित सञ्चालन बाटो खुल्छ। नियमित जहाज सञ्चालनको आवश्यक वातावरण बनाउन पोखराबासी पूर्ण रुपमा तयार छौं’,उनले भने।
सिद्धार्थ होटल संघका अध्यक्ष एवं नानस होटल सञ्चालक चन्द्रप्रकाश श्रेष्ठ(सीपी)ले भैरहवा विमानस्थल सञ्चालनमा आउँदा त्यहाँका होटलले पुनर्जीवन पाउने बताए। ‘अन्तर्राष्ट्रिय उडानको आसमा अर्बांै रुपैयाँ लगानीमा निर्माण भएका होटल बन्द हुने स्थितिमा पुगिरहेका बेला प्राधिकरणको निर्णयले केही राहत दिन सक्छ’, अध्यक्ष श्रेष्ठले भने, ‘यो निर्णय आंशिक मात्र हैन, दीर्घकालीन होस्।’