काठमाडौं । प्रतिनिधिसभा बैठकमा सांसद योगेशकुमार भट्टराईले माओवादीको १० वर्षे हिंसाले विकास निर्माण अवरुद्ध भएको बताएपछि नेकपा माओवादी केन्द्रका सांसदले त्यसको विरोध गरेका छन्।
एमाले सांसद भट्टराईको भनाइ शान्ति सम्झौता विपरीत भएको आरोप लगाउँदै नेकपा माओवादीका सांसद आरोप–प्रत्यारोपमा उत्रिए।
नेकपा माओवादीका सांसद देवेन्द्र पौडेलले ‘हिंसा’ शब्दलाई संसद्को रेकर्डबाट हटाउन सभामुख देवराज घिमिरेसँग माग गरे।
एमाले सांसदहरुले उक्त शब्द असंसदीय नभएको भन्दै हटाउन नहुने धारणा राखे। ‘मैले केही दोष दिएको हैन। अध्ययनले भन्छ, माओवादी हिंसा १० वर्षसम्म नभएको भए नेपालमा विद्युत् उत्पादन क्षेत्रमा योभन्दा ठूलो क्रान्ति हुने थियो। असुरक्षाले विद्युत्मा लगानी भएन। १० वर्षको हिंसा नभएको भए २०६५ मै लोडसेडिङ अन्त्य हुने थियो’, सांसद भट्टराईले भने।
उनी बोल्दै गर्दा माओवादी केन्द्रका सांसद माधव सापकोटाले नियमापत्ति गरे। उनले सांसद भट्टराईले गैरसंसदीय शब्द बोलेको टिप्पणी गरे। सांसद सापकोटाले नियमापत्ति जनाउँदै भने, ‘संसद् सञ्चालनको नियमावली विपरीत नियमापत्ति हुने गरी शब्द बोल्नुहुँदैन । माननीयले गैरसंसदीय अमर्यादीत शब्द बोल्नुभएको छ।’
सभामुख घिमिरेले हिंसा शब्द प्रयोगबारे आफनो ध्यानार्कषण भएको उल्लेख गर्दै नियमित प्रक्रिया अगाडि बढाउन आग्रह गरे पनि माओवादी सांसदहरुले विरोध गरिरहे।
माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले नियमापत्ति जनाउँदै सदनमा नियम उल्लंघन भइरहेको बताए। एमाले सांसद रघुजी पन्तले सांसद भट्टराईले प्रयोग गरेको शब्द असंसदीय नभएको दाबी गरे।