काठमाडौं । सेयर ब्रोकरमार्फत सुरु गरिएको सेयरधितो कर्जा ( मार्जिन लेन्डिङ) कारोबारमा उत्पन्न व्यवहारिक समस्या समाधान गर्न गठित समितिले सुझावसहितको प्रतिवेदन बुझाएको छ । समितिले नेपाल स्टक एक्चेन्ज(नेप्से) लिमिटेड व्यवस्थापनलाई सुझावसहित प्रतिवेदन बुझाएको हो ।
नेप्सेले सुपरिवेक्षण विभागका कामु सहायक प्रवन्धक निर्देशक सुरेश जोशीको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको थियो । सो समितिले अध्ययन सकेर नेप्से व्यवस्थापनलाई प्रतिवेदन बुझाएको समितिका संयोजक जोशीले बताए । संयोजक जोशीले भने,‘हामीले काम सकेर व्यवस्थापनलाई सुझावसहितको प्रतिवेदन बुझाएका छौँ ।’
मार्जिन लेण्डिङ कारोबार सम्बन्धि कार्यविधीको पहिलेको व्यवस्थामा नयाँ आर्थिक वर्षको प्रथम छ महिनामा वार्षिक साधारणसभा सम्पन्न गरेको हुनुपर्ने भन्ने छ । त्यसलाई संशोधन गरेर आर्थिक वर्षको प्रथम छ महिनामा वार्षिक साधारणसभा सम्पन्न गरेको तर जीवन बीमा कम्पनीको हकमा थप ३ महिनामा दिनुपर्ने सुझाव सो अध्ययन समितिले नेप्से व्यवस्थापनलाई दिएको छ ।
जीवन बीमा कम्पनीहरुले आर्थिक वर्षको छ महिनामा साधारणसभा गर्न नसक्ने भएकाले संशोधन गर्न सुझाव दिएको संयोजक जोशीले क्यापिटल नेपाललाई बताए । त्यस्तै,मार्जिन ऋणका लागि विद्यमान कार्यविधिअनुसार लगानीकर्ताले कुनै पनि कम्पनीको सेयरको १८० दिनको औसत बजार मूल्य वा पछिल्लो बजार भाउ मध्ये जुन कम हुन्छ सोही आधारमा मात्र कर्जा पाउन सक्ने प्रावधान छ ।
बाँकी लगानीकर्ता आफैंले व्यवस्था गर्नुपर्ने हुन्छ । त्यसलाई संशोधन गर्नुपर्ने समितिको सुझाव छ । त्यस्तै, आर्थिक वर्षको प्रथम ६ महिना भित्रै वार्षिक साधारणसभा सम्पन्न गरेको कम्पनीले मात्रै मार्जिन कारोबार सुविधा पाउन प्राप्त गर्न सक्छन् ।
ब्रोकरमार्फत मार्जिन लेन्डिङ सुविधा लिएर सेयर कारोबार गर्नु भन्दा बैंक तथा वित्तीय संस्थाबाट सेयर धितो कर्जा लिनतर्फ लगानीकर्ता उत्साहित भएकाले मार्जिन लेन्डिङ कारोबारले गति लिन सकेको थिएन ।
मार्जिन लेण्डिङको चर्को ब्याजदर, बैंक तथा वित्तीय संस्थाले दिने भन्दा निकै कम मात्रामा ब्रोकरमार्फत मार्जिन पाइनु, लगानीकर्ताले आफूले चाहेका कम्पनीको खरिद गर्न नपाउनु लगायतका विभिन्न कारणले ब्रोकरमार्फ मार्जिन प्रकृतिको कर्जा लिन आकर्षित भएको देखिँदैन ।
यही बेला बैंक तथा वित्तिय संस्थामा प्रसस्तै,लगानी योग्य रकम (तरलता) छ । त्यसैले बैंक तथा वित्तीय संस्थाहरुले मार्जिन प्रकृतिको कर्जा दिइरहेका छन् ।