काठमाडौं । भृकुटीमण्डपमा जारी नाडा अटो शोमा राखिएका नयाँ ब्रान्डका गाडी ग्राहकले सस्तो (एमआरपी)मै खरिद सुविधा पाएपछि पुरानालाई मूल्य घटाउन दबाब परेको छ। नाडा अटो शो २०२४ मा नयाँ ब्रान्डले अनुमानभन्दा सस्तोमा गाडी ल्याएपछि पुरानालाई मूल्य घटाउन दबाब परेको हो।
मंगलबारदेखि सुरु नाडा अटो मेलामा २३ वटा चारपांग्रे सवारीसाधनका ब्रान्डरु सहभागी छन्। सहभागी चारपांग्रे नयाँ ब्रान्डमध्ये ८ वटा ब्रान्ड नाडा अटो शोमै सार्वजनिक भएका हुन्।
यस वर्षको नाडा अटो शोमा ईभी ब्रान्डको वर्चस्व छ। धेरै संख्याका ईभी ब्रान्ड नेपाल भित्रिएकाले अटो व्यवसायीले एमआरपी मूल्यभन्दा कममा गाडी बुकिङ खुलाएका छन्। अटो शोमा नयाँ ब्रान्डले अनुमानभन्दा कम मूल्यमा गाडी प्रदर्शनीमा राखेपछि पुरानालाई घटाउन दबाब परेको छ।
नाडा शोमा इन्ट्री भएका गाडी नयाँ ब्रान्ड नामी, एक्सपेङ, जेको जे सिक्स, बीएडब्लू ब्रम्बी, भोल्टस्, जिकर एक्स, लिपमोटर, काईलगायत नयाँ ब्रान्ड प्रदर्शनीमा राखिएको छ।
एमएडब्लू वृद्धि अटोकर्पले नेपाल ल्याएको डोङफेङको नामी ह्याचब्याक सोचेभन्दा कम मूल्यमा लन्च भएको छ। कम्पनीले भन्सार प्रयोजनका लागि नामी–०१ को मूल्य ३९ लाख ९० हजार रुपैयाँ उल्लेख गरेर ल्याएको थियो।
यसको बिक्री मुल्य ३५ लाख वरपर रहने अनुमान थियो। तर, कम्पीले तीन भेरियन्टमा उपलब्ध नामी ब्रान्डको गाडी २९ लाखदेखि बिक्री सुरु गर्ने योजना बनाएको छ।
कम्पनीले ई–वान भेरियन्टको मूल्य २९ लाख ९९ हजार, ई–टु भेरियन्टको ३१ लाख ९९ हजार र ई–थ्री भेरियन्टको ३४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। एमएडब्लु वृद्धिले नाडा अटो शोमा नामीको दुई भेरियन्ट मात्र प्रदर्शनीमा राखेको छ।
नामी ब्रान्डको प्रतिस्पर्धी मानिने टाटा पन्च ईभी ३५ देखि ४२ लाख हाराहारीमा आउने अनुमान थियो। टाटाको पन्च ईभी नेपाल आएको झन्डै एक महिना पुग्न लागेको कारको यसअघि मूल्य बाहिरिएको थिएन।
यस वर्षको नाडा अटो शोमा धेरै संख्याका ईभी ब्रान्ड नेपाल भित्रिएकाले अटो व्यवसायीले एमआरपी मूल्यभन्दा कममा गाडी बुकिङ खुलाएका छन्। अटो शोमा नयाँ ब्रान्डले अनुमानभन्दा कम मूल्यमा गाडी प्रदर्शनीमा राखेपछि पुरानालाई घटाउन दबाब परेको छ।
सिप्रदी ट्रेडिङले नेपाल ल्याएको टाटा पन्च ईभी नाडा अटो शोको पहिलो दिन सार्वजनिक गरिएको हो। कम्पनीले नाडा शोको पहिलो दिन सार्वजनिक गरेको टाटा पन्चको मूल्य ३३ लाख ९९ हजार रुपैयाँ तोकेको छ।
सिप्रदीले नेपाल ल्याएको टाटा पन्च ईभी एस एमआर भेरियन्टको ३३ लाख ९९ हजार, एलआर भेरियन्टको ३६ लाख ९९ हजार र एस एलआर भेरियन्टको ३८ लाख ९९ हजार तोकेको हो। नाडा अटो शो अवधिभर बुकिङ गर्नेलाई सिप्रदीले टाटा पन्चमा आफ्ना चार्जिङ स्टेसनमा निःशुल्क चार्जिङको व्यवस्था मिलाएको जनाएको छ।
नाडा अटो शोमै लन्च भएको केई ब्रान्डको क्यूट–०४ ह्याचब्याक गाडीको मूल्य पनि सोचेभन्दा कम रहेको छ। कम्पनीले भन्सार प्रयोजनका लागि २५ लाख ९६ हजार रुपैयाँ तोकिएको थियो। तर, लक्ष्मी इमोबिलिटीले नाडा अटो शोमा सार्वजनिक गरेको क्यूट–०४ को मूल्य २४ लाख ९६ हजार रुपैयाँ तोकेको छ।
त्यस्तै, कम्पनीले क्यूट ०२ को मूल्य भने १९ लाख ९६ हजारबाटै सुरु गरेको छ। कम्पनीले यसको टप भेरियन्टको मूल्य २२ लाख ९६ हजार तोकेर बुकिङ खुलाएको हो।
एलआरआर ग्रुपले नेपाल ल्याएको बीएडब्लूको ब्रम्बी ह्याचब्याक नाडा अटो शोमै सार्वजनिक गरेको छ। कम्पनीले ब्रम्बी ह्याचब्याकको मूल्य २१ लाख ९० हजार रुपैयाँ तोकेर सार्वजनिक गरेको छ।
त्यस्तै, भोल्टस् गाडीको आधिकारिक बिक्रेता एस क्युब इन्टरप्राइजेजले भोल्टस्को एचईभी–३०० को मूल्य २५ लाख ९५ हजार रुपैयाँ तोकेको छ। यो मूल्य नाडा अटो शोका लागि मात्र हो। त्यसपछि एचईभी–३०० को मूल्य २८ लाख रुपैयाँ कायम हुने एसक्युबले जनाएको छ।
कम्पनीले यसमा ३२.५६ किलोवाट आवरको लिथियम आइरन फस्फेट ब्याट्री दिएको छ। एचईभी–३०० कारमा ३५ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर पाउन सकिन्छ। यसको पिकटर्क भने १२५ एनएम छ। यस गाडीले ३३५ किलोमिटर रेन्ज दिने सीएलटीसीले प्रमाणित गरेको छ।
ह्याचब्याक डिजाइनको ‘एचइभी–३००’ मोडलको लम्बाई ३७४० एमएम, चौडाई १६५५ एमएम र उचाई १५५० एमएम छ। यसमा २४१५ एमएमको ह्वीलबेस पाउन सकिन्छ। यसको ग्राउन्ड क्लियरेन्स १७५ रहेको छ।
पाँचसिटे क्षमताको भनेर बिक्री हुने कारमा आधुनिक फिचरको लामै लिस्ट पाउन सकिन्छ। यसमा १०.२५ इन्चको फ्लोटिङ डिस्प्ले, जीपीएस नेभिगेशन, भ्वाइस रिकगनिशन, ओटा अपडेट दिइएको छ। कम्पनीले यसमा ८ वर्ष वा १ लाख ६० हजार किलोमिटर वारेन्टी रहेको जनाएको छ।
यसअघि सेरेस–३, एमजी जेडएस, जिकर, जेको, अमोडालगायतले अधिकतम १० लाख रुपैयाँसम्म मूल्य घटाएर नाडा अटो शोमा गाडी बिक्रीका लागि राखेका छन्।