काठमाडौं । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ लेखर्कमा भदौ ९ मा गएको पहिरोमा परेर बेपत्ता १० मध्ये ८ जनाको मृत्यु भएको छ।
पहिरोले चार घर बगाउँदा हराइरहेका १० मध्ये ८ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख प्रदीपकुमार सिंहलाई उद्धृत गर्दै नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ।
मंगलबार एक महिलाको बायाँ गोडाको पैतालाको भाग मात्र भेटिएपछि हराइरहेका आफन्तसँग अनुसन्धान गर्दा नङ पालिस लगाएको बांगो औंलाका आधारमा हराइरहेकी श्रीमती बिन्दा पहरीको भएको श्रीमान् कुमार पहरीले स्वीकारेपछि सनाखत गरी परिवारको जिम्मा लगाइएको उनले जानकारी दिए।
गत शनिबार रातीको अविरल वर्षाका कारण वडा–३ लेखर्कमा पहिरोमा परेर ११ जना बेपत्ता भएका थिए। बेपत्तामध्ये एक जनालाई जीवितै उद्धार गरिएको थियो भने ६ जनाको शव सोही दिन नै निकालिएको थियो। त्यसपछि एक जनाको शव र मंगलबार एक जनाको पैतालाको भाग फेला परेपछि मृत्यु हुनेको संख्या आठ पुगेको प्रहरीले बताएको हो।
पहिरोमा परेर हराइरहेका सोही वडाका ५५ वर्षीय काले पहरी र ५० वर्षीय झ्याइँपुरी पहरीको खोजी भइरहेको प्रहरी समाचार कक्षले जनाएको छ।
पहिरोमा परेर सोही वडाकी ३० वर्षीया चण्डिका श्रेष्ठ, १८ महिने छोरा आयुष श्रेष्ठ, सोही वडाका ५७ वर्षीया उर्मिला पहरी, ३० वर्षीय सन्दीप पहरी, ११ वर्षीय सन्तोष पहरी, १४ वर्षीय विज्ञान पहरीको शव आइतबार नै फेला पारी परीक्षणपश्चात् परिवारलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कौशल न्यौपानेले बताए।