काठमाडौं। नेपाली बजारमा सुनको मूल्यले रेकर्ड ब्रेक गरेको छ। बुधबार छापावाल सुन प्रतितोला १ लाख ५३ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको हो। बुधबार कायम सुनको मूल्य हालसम्मकै उच्च हो।
यसअघि भदौ ५ मा छापावाला सुन प्रतितोला १ लाख ५३ हजारमा कारोबार भएको थियो। महासंघका अनुसार मंगलबारको तुलनामा आज छापावाल सुन प्रतितोला ८०० महँगिएको हो। मंगलबार प्रतितोला १ लाख ५२ हजार ३०० मा कारोबार भएको थियो।
महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ। मंगलबार १८५० रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि १८५५ मा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ।
अमेरिकी डलर, युरो र पाउन्ड स्ट्रलिङ महँगियो
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर, युरो र पाउन्ड स्ट्रलिङलगायत विदेशी मुद्राको मूल्य बढेको छ। राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ९९ पैसा र बिक्री दर १३४ रुपैयाँ ९९ पैसा कायम भएको छ। मंगलबार १ अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ९५ पैसा र बिक्री दर १३४ रुपैयाँ ५५ पैसा थियो।
यस्तै, मंगलबार १ युरोको खरिद दर १४९ रुपैयाँ ५६ पैसा र बिक्री दर १५० रुपैयाँ २३ पैसा रहेकामा आज खरिद दर १४९ रुपैयाँ ६६ पैसा र बिक्री दर १५० रुपैयाँ ३३ पैसा तथा १ पाउन्ड स्ट्रलिङको मूल्य आज खरिद दर १७७ रुपैयाँ १७ पैसा र बिक्री दर १७७ रुपैयाँ ९६ पैसा कायम भएको छ।
मंगलबार १ पाउन्ड स्ट्रलिङको खरिद दर १७६ रुपैयाँ ६० पैसा र बिक्री दर १७७ रुपैयाँ ३९ पैसा थियो। खुला बजारमा भने मूल्य फरक पर्न सक्नेछ।