काठमाडौं । संघीय संसदमा दर्ता भएको धितोपत्र सम्बन्धी पहिलो संशोधन विधेयक–२०८१ माथिको छलफल सुरु भएको छ। मंगलबारको प्रतिनिधिसभा बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले धितोपत्र सम्बन्धी पहिलो संशोधन विधेयक–२०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेसँगै सैद्धान्तिक छलफल सुरु भएको हो।
अर्थमन्त्री पौडेलले साउन ३२ मा धितोपत्र सम्बन्धी ऐन, २०६३ लाई संशोधन गर्न बनेको उक्त विधेयक संसदमा दर्ता गरेका थिए। यसपछि, मंगलबारबाट उक्त विधेयकमाथिको छलफल सुरु भएको हो।
विधेयकमाथिको छलफलका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले सेयर बजार पहिलाभन्दा केही परिष्कृत भएको बताए। ‘धितोपत्र बजारको सूचना प्रविधिमा अझै धेरै काम गर्नुपर्ने देखिन्छ। लगभग ६८ लाख लगानीकर्ताको लगानी यसमा हुने भएकाले यो निकै संवेदनशील क्षेत्र हो। नेपाली सेयर बजारमा अन्तिममा गएर सोझा लगानीकर्ताको लगानी बढी डुबेको देखिन्छ,’ श्रेष्ठले भने, ‘यसर्थ, जोखिमको साक्षरता प्रदान गर्न आवश्यक देखिन्छ।’
श्रेष्ठले प्राविधिक किसिमको सूचनाले बजारलाई अझै राम्रो बनाउँदै लग्ने भएको त्यसतर्फ ध्यान दिनुपर्ने बताए। सूचीकृत कम्पनीले वित्तीय नियम पालना गरेको छ वा छैन भन्ने विषय हेर्न आवश्यक रहेको श्रेष्ठको भनाइ छ। फेक डकुमेन्ट पेस गर्ने कुरा आएकाले यसलाई नियन्त्रण गर्ने गरी समयसापेक्ष ढंगमा अगाडि बढ्नुपर्ने धारणा श्रेष्ठले राखे। नेपाली धितोपत्र बजार पहिलाको पुरातन अवस्थाबाट प्रविधिमैत्री हुँदै गएको र लगानीकर्ताले पहिला जस्तो ढड्डामा काम गर्नुपर्ने चुनौती नरहेको श्रेष्ठको भनाइ छ। तर, यो परिवर्तन अझै समयसापेक्ष नभएको श्रेष्ठको तर्क छ।
पूर्वअर्थमन्त्रीसमेत रहेका कांग्रेस सांसद डा. प्रकाशशरण महतले आफू अर्थमन्त्री हुँदा नै यसलाई अगाडि बढाइएको बताउँदै विधेयकमा व्यापक संशोधन गरिएको बताए। ‘धितोपत्र बजारप्रति जनताको व्यापक आकर्षण छ। ठुलो संख्यामा नागरिकले धितोपत्र बजारमा लगानी गरिरहेका छन्। केन्द्रीय बैंकले सहज नीति लिएपछि यसप्रतिको आकर्षण अझै बढेको छ,’ महतले भने, ‘ठुलो संख्यामा धितो बजारमा नागरिक जोडिएपछि त्यसलाई व्यवस्थित गर्ने चुनौती सरकारमा थपिएको छ।’ महतले प्रविधिको विकाससँगै सेयर बजारको संरचना नै परिवर्तन भएकाले त्यसलाई समेट्ने ढंगमा विधेयक आएको बताए।
पूर्वअर्थमन्त्रीसमेत रहेका कांग्रेस सांसद डा. प्रकाशशरण महतले आफू अर्थमन्त्री हुँदा नै यसलाई अगाडि बढाइएको बताउँदै विधेयकमा व्यापक संशोधन गरिएको बताए।
सेयर बजारलाई नियमन गरिरहेको नेपाल धितोपत्र बोर्ड सशक्त हुन आवश्यक भएको बताउँदै महतले त्यहाँ दुरुपयोग हुने ठाउँ बन्द गर्नुपर्ने धारणा राखे। ‘कसैले बजारमा म्यानुपुलेसन गर्न नपाओस्, इन्साइडर ट्रेडिङ गर्न नपाओस् र आम लगानीकर्ताको लगानी सुरक्षित होस् भन्नेमा सरकार सतर्क हुनुपर्छ,’ महतले भने, ‘विधेयक यस्ता विविध विषयमा केन्द्रित भएर आएकाले यसको दफावार छलफल गरेर, समितिमा छलफल गरेर अगाडि बढाउनुपर्छ।’ निजी क्षेत्रको नेप्से भित्रिने, कमोडिटी मार्केट आउने जस्ता चर्चा चलेकाले पनि विधेयक महत्त्वपूर्ण भएको महतले बताए।
सांसद बासुदेव घिमिरेले लगानीकर्ताको हित र पुँजी बजारको विकासलाई केन्द्रमा राख्नुपर्ने बताए। ‘धितोपत्र निष्कासन, व्यवस्थित कारोबार तथा धितोपत्र बजारको प्रभावकारी नियमन गर्न विद्यमान कानुनी व्यवस्थालाई समसामयिक संशोधन गर्ने आवश्यकतालाई विधेयकले समेटेको छ,’ घिमिरेले भने, ‘यसबाट हाल देखिएका धितोपत्रसम्बन्धी धेरै समस्या समाधान हुने मेरो आकलन छ।’ घिमिरेले अर्थमन्त्री विष्णु पौडेलले जिम्मेवारी सम्हाल्नसाथ सेयर बजार सकारात्मक भएर अगाडि बढेको र विधेयक आउँदा त्यसको सकारात्मक प्रभाव थप बढेर जाने बताए।
सांसद जुलीकुमारी महतोले कुनै पनि मुलुकको अर्थतन्त्र चलायमान बनाउन धितोपत्र बजारको महत्त्वपूर्ण भूमिका हुने बताइन्। यसले पुँजी परिचालन गरी देशको आर्थिक विकासमा योगदान गर्ने बताइन्। सांसद रोशना कार्कीले धितोपत्र बोर्ड नियामकीय निकाय भएकाले यसको कामले ६८ लाख लगानीकर्ताको लगानी के हुने भन्ने निर्धारण हुने बताइन्। सेयर बजार अर्थतन्त्रको ऐना भएको बताउँदै कार्कीले लगानीकर्तालाई दिग्भ्रमित गर्ने कार्यलाई नियन्त्रण गर्नुपर्ने बताइन्।
सांसद डा. स्वर्णिम वाग्लेले धितोपत्र सम्बन्धी विधेयकले स्वार्थ बाझिने केही व्यवस्था सुधार गरेर ल्याएको बताए। ‘बोर्डको अध्यक्ष र यसका सदस्य सोझो राजनीतिक प्रभाव र पहुँचबाट नियुक्ति गरिने भएकाले यसलाई सुधार गर्नुपर्ने देखिन्छ,’ वाग्लेले भने, ‘यस्ता निकायमा पद नियुक्ति गर्ने प्रवृत्ति र प्रणाली नै परिवर्तन गर्नुपर्छ। सेबोनमा १० वर्षदेखि देखिएको विवादलाई अन्त्य गर्नुपर्छ।’ नियामकीय निकाय कमजोर बन्दा त्यसको असर समग्र क्षेत्रमा पर्ने भएकाले त्यसतर्फ ध्यान दिनुपर्ने वाग्लेको तर्क छ। वाग्लेले विधेयकमा गरिएको दण्ड र सजायलाई अझै उपयुक्त बनाएर लग्नुपर्ने बताए।
सांसद हरि ढकालले धितोपत्र बोर्ड ९ महिनादेखि अध्यक्षविहीन भएर बस्नु परेकाले धेरै काम रोकिएर बसेको बताए। ‘बजारले नयाँ गति लिन सुरु गरेको छ। नयाँ गति लिँदै गर्दा बोर्डमा अध्यक्ष नभएको प्रभाव कस्तो पर्छ भन्ने कुरा विचार पुर्याउनुपर्छ,’ ढकालले भने, ‘स्वच्छ र क्षमतावान् व्यक्ति तत्कालै अध्यक्षमा नियुक्ति गर्न आवश्यक छ।’ अध्यक्ष ढकालले सेयर बजार प्राकृतिक ढंगमा चल्नुपर्ने धारणा राखे। ब्रोकरमार्फत मार्जिन लेन्डिङ गर्ने विषय आएको उल्लेख गर्दै सांसद ढकालले यसलाई स्वागत गरे। यसले लगानीकर्तालाई थप उत्साहित बनाउने ढकालको भनाइ छ।
सांसद राजेन्द्रकुमार केसीले नेपाली धितोपत्र बजारमा साक्षरताको आवश्यकता एकदमै भएको बताए। आम लगानीकर्ताको पुँजी सुरक्षित गर्नका लागि राज्य गम्भीर हुनुपर्ने केसीको तर्क छ। धितोपत्र नियमनलाई थप बलियो बनाउनुपर्ने सांसद केसीले बताए। सांसद सुमान श्रेष्ठले नियामक निकाय धितोपत्र बजारलाई एकदमै बुझ्ने बनाउनुपर्ने विषयमा केन्द्रित गर्नुपर्ने बताइन्। नीतिगत भ्रष्टाचारलाई पनि रोक्ने ढंगमा नीति आउन आवश्यक भएको श्रेष्ठको तर्क छ।
सांसद माधव सापकोटाले पछिल्लो चरण सेयर बजारमा ठूलो जनसंख्याको आकर्षण देखिएको बताए।
सांसद प्रेम सुवालले धितोपत्र विधेयक हेर्दा कति व्यक्तिको हातमा पुरै सम्पत्ति जान्छ भन्ने वातावरण अर्थमन्त्रीले नबुझेको जस्तो लागेको बताए। सेयर बजारमा कालो धन प्रवेश हुने गरेको उल्लेख गर्दै यसलाई राख्नुपर्ने सुवालको तर्क छ। सांसद मनिष झाले धितोपत्र विधेयक समयसमयमा परिवर्तन गर्न आवश्यक भएको बताउँदै यो स्वागतयोग्य भएको तर्क गरे। धितोपत्र बजारमा लगानीकर्ताको सहभागिता बढेकाले यसलाई सामान्यरुपमा लिएर सामान्य ढंगमा नै छोड्न नहुने झाको भनाइ छ। सांसद झाले धितोपत्र बोर्ड नियुक्तिमा भ्रष्टाचार हुने गरेको उल्लेख गर्दै राजनीतिक नियुक्ति छोड्नका लागि सरकारसँग आग्रह गरे।
सांसद माधव सापकोटाले पछिल्लो चरण सेयर बजारमा ठूलो जनसंख्याको आकर्षण देखिएको बताए। ‘नयाँ र भरखरै प्रवेश गरेका लगानीकर्ताले पर्याप्त सूचना र ज्ञानको कमीले केही जटिलता क्रमशः बढेर गएको छ। उनीहरूलाई सूचना प्रविधिबाट सहज बनाउन राज्यले ध्यान दिनुपर्छ,’ सांसद सापकोटाले भने, ‘धितोपत्र बजारलाई व्यवस्थित बनाउँदै लगानीकर्ताको लगानी सुरक्षित बनाउनुपर्ने विषयमा विधेयक गम्भीर हुनुपर्छ।’ सांसद नारायणी शर्माले धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिमा तदारुकता अपनाउनुपर्ने बताइन्। सेयर बजारबाट गलत ढंगमा लगानीकर्ता फस्ने अवस्थाको अन्त्य गर्नुपर्ने सांसद शर्माको भनाइ छ।
सांसद नागिना यादवले धितोपत्र विधेयक पुँजीवादको परिकल्पनालाई संशोधन गर्ने ढंगमा आएको बताइन्। लगानीकर्ता कस्ता विषयमा संवेदनशील हुने र कसरी नियमन हुने विषयमा विधेयक बोलेको यादवको भनाइ छ। जिडिपी र बजारीकरणको हल्ला बजारमा गलत ढंगमा भएको यादवले उल्लेख गरिन्। छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री विष्णु पौडेलले धितोपत्र बजारलाई व्यवस्थित गर्ने सिलसिलामा विभिन्न कानुन ल्याउँदै आएको बताए। हालसम्मको अभ्यासका क्रममा देखिएका समस्या समाधान गर्ने ढंगमा विधेयक आएको पौडेलेको भनाइ छ।
‘सेयर बजारको विस्तार बढ्दै गएको छ। यसलाई हामीले थप टिकाउ र स्थिर ढंगमा अगाडि बढाउनुपर्ने बाध्यता छ। बाहिरी मुलुकमा भएको नयाँ नयाँ अभ्यासलाई पनि हामीले प्रयोगमा लग्दै जानुपर्ने छ,’ अर्थमन्त्री पौडेलले भने, ‘विश्वका असल अभ्यासलाई अपनाउँदै र हाम्रो समस्या समाधान गर्ने उद्देश्यले विधेयक आएको छ।’ अर्थमन्त्री पौडेलले लगानीकर्ता नफसुन् भन्ने उद्देश्यले विधेयकमा नियामकीय व्यवस्था गरिएको स्पष्ट पारे। विधेयकमा नयाँ नयाँ प्रविधिको प्रयोग र नियमनको पाटो फराकिलो बनाउँदै लगेकाले यसले बजार सुदृढ बनाउने अर्थमन्त्री पौडेलको भनाइ छ।