काठमाडौं । मंगलबारदेखि सुरु भएको नाडा अटो शो अवधिभर गाडी खरिद गर्न चाहने ग्राहकका लागि विभिन्न ब्रान्डले बम्पर अफर सार्वजनिक गरेका छन्। नाडा अटो प्रदर्शनीमा राखिएका विभिन्न ब्रान्डमध्ये ६ ब्रान्डका गाडीले अटो मेलाभरि गाडी खरिदकर्तालाई यस्तो अफर सार्वजनिक गरेका हुन्।
हाल नेपाली बजारमा उपलब्ध सेरेस–थ्री दुवै भेरियन्टको मूल्य घटेको छ। नेपालका लागि सेरेस गाडीको आधिकारिक वितरक एमएडब्लू वृद्धि मोटोकर्पले सेरेस–थ्रीको मूल्य साढे ४ लाख रुपैयाँले घटाएको हो। कम्पनीका अनुसार अब कम्फर्ट भेरियन्ट ४५ लाख ४९ हजारमा खरिद गर्न सकिनेछ। यसअघि यसको मूल्य ४९ लाख ९९ हजार रुपैयाँ थियो।
त्यस्तै, कम्पनीले प्रिमियम भेरियन्टको मूल्य ४ लाख १२ हजार रुपैयाँले घटाएको छ। यसअघि सेरेसको प्रिमियम भेरियन्टको मूल्य ५२ लाख ९९ हजार थियो। मूल्य घटेपछि ४८ लाख ८७ हजार रुपैयाँमै खरिद गर्न सकिने कम्पनीले जनाएको छ।
अर्को विद्युतीय ब्रान्ड एमजीले नाडा अटो शोमा अफर सार्वजनिक गरेको छ। नेपालका लागि एमजीको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले एमजी जेडएस ईभीमा ६ लाख रुपैयाँ छुट दिने घोषणा गरेको छ।
यसअघि एमजी जेडएस ईभीको मूल्य ५२ लाख ९९ हजार रुपैयाँ थियो। कम्पनीले मूल्य घटाएसँगै अब जेडएस ईभीको मूल्य ४६ लाख ९९ हजार पर्नेछ। कम्पनीले नाडा अटो शो र दसैं-तिहारका लागि अफर दिएको हो।
पारामाउन्ट मोटर्सले यसलाई स्पेसल अफर भन्दै सीमित अवधिका लागि मात्रै लागू हुने जनाएको छ। एमजी जेडएस ईभीमा ५१ किलोवाट आवरको ब्याट्री छ भने ९९ किलोवाट आवरको इलेक्ट्रिक मोटर छ।
चिनियाँ जिलीको प्रिमियम इलेक्ट्रिक ब्रान्ड जिकर एक्स नाडा अटो शोमा लन्च भएको नयाँ ईभी हो। कम्पनीले जिकर ब्रान्ड लन्चसँगै एक्स मोडल प्रदर्शनीमा राखेको छ। सारडा ग्रुपअन्तर्गतको पायोनियर मोटोकर्पले नाडा अटो शोमा प्रदर्शनीमा राखेको जिकर एक्समा १० लाख रुपैयाँ छुट अफर दिएको छ।
कम्पनीले टु ह्वील ड्राइभ र फोर ह्वील ड्राइभ अप्सनमा जिकर एक्स नेपाल ल्याएको हो। यी दुवै भेरियन्टमा अफरसहित कम्पनीले नाडा अटो शोमा यसको मूल्य ७९ लाख ९९ हजार रुपैयाँ तोकेको छ। यसअघि उक्त गाडीको सुरुआती मूल्य ८९ लाख ९९ हजार रुपैयाँ थियो।
त्यसैगरी फोर ह्वील ड्राइभ भेरियन्टको मूल्य १ करोड ४९ लाख रुपैयाँ तोकिएको छ। यसअघि फोर ह्वील ड्राइभ भेरियन्टको मूल्य १ करोड ५९ लाख ९९ हजार थियो। यी दुई भेरियन्टमा मूल्यमा ठूलो अन्तर हुनुमा मोटर पावर मुख्य कारण हो।
लिपमोटरले पनि नाडा अटो शोमै अफर दिएको छ। नेपालका लागि लिपमोटरको आधिकारिक वितरक सांग्रिला मोटर्सले नाडा अटो शो अवधिभर ६७ लाख ९९ हजार रुपैयाँ मूल्य राखेको छ। नाडा शोपछि यसको मूल्य ७१ लाख ९९ हजार तोकिने योजना कम्पनीको छ।
जेक्को जे सिक्समा ३ लाख रुपैयाँ छुट दिने घोषणा एसपीजी अटोमोबाइल्सले गरेको छ। कम्पनीले नाडा अवधिका लागि यो अफर ल्याएको हो। कम्पनीले उक्त गाडी ६६ लाख ९९ हजारमा बिक्री गरिने बताएको छ। यसअघि यस गाडीको मूल्य ६९ लाख ९९ हजार रुपैयाँ थियो।
त्यस्तै, एसपीजी अटोमोबाइल्सले ओमोडा ई–५ मा पनि नाडा शो अवधिभर अफर दिएको छ। कम्पनीले ओमोडा ई–५ लक्जरी भेरियन्टमा १ लाख ५० हजार रुपैयाँ छुट दिइने जनाएको छ। नाडा अवधिभर ग्राहकले ओमोडा ई–५ ६० लाख ४९ हजार रुपैयाँमा खरिद गर्न सक्नेछन्। यसअघि यसको मूल्य ६१ लाख ९९ हजार रुपैयाँ थियो।
साथै, कम्पनीले अर्को भेरियन्ट ओमोडा ई–५ डिलक्समा पनि १ लाख रुपैयाँ छुट दिएको छ। यसको मूल्य नाडाका लागि ५४ लाख ९९ हजार राखिएको छ। यसअघि यसको मूल्य ५५ लाख ९९ हजार रुपैयाँ थियो।