काठमाडौं। वर्तमान सरकारको महत्त्पूर्ण उपलब्धि मानिएको सेयर बजारमा ठूलो गिरावट आएको छ।
२०८१ असार १७ गते नयाँ सरकार गठन चर्चासँगै बढ्न थालेको बजार सातौं सातासम्म बढेको थियो। असार ३१ गते गठित प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले सेयर बजारको वृद्धिलाई आफ्नो सफलता ठानेर व्याख्या र विश्लेषण गर्दै त्यसैअनुरुपका अभिव्यक्ति दिँदै आएकाे थियाे।
तर, आठौं साता (गत साता) र यो साताको पनि दुई कारोबार दिन सेयर बजारमा गिरावट आएको छ। आइतबार ७९.८८ अंकले घटेको बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मंगलबार पनि १११.९६ अंकले घटेर २७८२.६० बिन्दुमा सीमित भएको छ। अघिल्लो कारोबार दिन आइतबार नेप्से ७९.८८ अंकले घटेर २८९४.५७ बिन्दुमा बन्द भएको थियो।
खासगरी प्रधानमन्त्री ओली र अर्थमन्त्री विष्णु पौडेलले सेयर बजारको वृद्धिलाई आफ्नो सरकार आएपछि लगानीकर्तामा देखिएको उच्च मनोबलको प्रतीक मान्दै आएका छन्। नयाँ सरकारसँगै अर्थतन्त्रमा क्रमशः सुधार हुँदै गएको निजी क्षेत्रका प्रतिनिधिले पनि दाबी गर्दै आएका थिए। तर, आइतबार र मंगलबारको सेयर कारोबारले भने नीतिगत सुधारबिनाको बजार बढाइ टिकाउपूर्ण नहुने सन्देश दिएको छ।
सरकारले एकोहोरो सेयर बजार बढिरहेको भनेर स्वामित्व लिइरहँदा नीतिगत सुधारका पक्षमा भने कुनै काम यस बीचमा गरेको छैन। त्यसको असर सेयर बजारमा देखिएको हो। मंगलबार सेयर बजारमा कुल १८ अर्ब ४६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। मंगलबारको सेयर कारोबार पछिल्लो १० कारोबार दिन यताकै न्यून हो। यसअघि साउन २३ मा नेप्सेमा कुल १७ अर्ब ६९ करोड रुपैयाँ बराबारको कारोबार भएको थियो। अघिल्लो कारोबार दिन आइतबार भने नेप्सेमा कुल १९ अर्ब ४६ करोडको कारोबार भएको थियो।
मंगलबार होटल तथा पर्यटन समूहको सेयर मूल्य ०.४३ प्रतिशतले बढ्नुबाहेक अन्य सबै समूहको घटेको छ। बैंकिङ समूहको सेयर मूल्य ४.९२ प्रतिशत, विकास बैंक समूहको ४.१८ प्रतिशत, फाइनान्स समूहको ४.६९ प्रतिशत, जलविद्युत समूहको ३.६९ प्रतिशत र लगानी समूहको सेयर मूल्य ४.१३ प्रतिशतले घटेको छ।
मंगलबार कारोबारमा आएकामध्ये २० कम्पनीको सेयर मूल्य बढ्दा २२३ कम्पनीको घटेको छ। यस्तै, १ कम्पनीको सेयर मूल्य भने स्थिर छ। मंगलबार तारागाउँ रेजेन्सी होटल, आत्मनिर्भर लपघुवित्त वित्तीय संस्था र डोल्टी पावर कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ। यस्तै, थ्रि स्टार हाइड्रापावर र कर्णाली विकास बैंकको सेयर मूल्य ९ प्रतिशत बढीले वृद्धि भएको छ। मंगलबार नेपाल फाइनान्सको सेयर मूल्यमा नकरात्मक सर्किट लागेको छ।