काठमाडौं । गण्डकी प्रदेशको वैदेशिक रोजगार शाखा संरक्षण संघले पोखरामा आयोजित तीज विशेष कार्यक्रममा राष्ट्रिय महिला भलिबलकी कप्तान अरुणा शाही र नेपाल पत्रकार महासंघ कास्की उपाध्यक्ष जमुना वर्षा शर्मालाई सम्मान गरेको छ।
कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य सरस्वती अर्याल तिवारीले शाही र शर्मालाई प्रशंसापत्र एवं नगदसहित सम्मान गरिन्। कप्तान शाहीलाई ५० हजार र पत्रकार शर्मालाई १० हजार नगदले सम्मान गरिएको हो।
अरुणालाई उनको कप्तानीमा विदेशमा उत्कृष्ट भलिबल खेल प्रदर्शन गरेको भन्दै सम्मान गरिएको थियो भने जमुनालाई पत्रकारिताको माध्यमबाट महिला सशक्तीकरणमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो।
तिवारीले कडा परिश्रम र मिहिनेतको परिणामस्वरूप समाजमा सफलता प्राप्त गरेका महिलालाई सम्मान गर्ने यो कार्यक्रम प्रसंशनीय रूपमा स्थापित गरेको बताइन्। उनले महिलालाई अघि बढ्न अझै धेरै चुनौती रहेको उल्लेख गर्दै तिनको सामना गरेर मात्रै सफलता प्राप्त गर्न सकिनेमा जोड दिइन्।
उनले वैदेशिक रोजगारलाई व्यवस्थित बनाउनुपर्ने, गैरकानुनी र सीपबिनै विदेश प्रवृत्तिलाई निरुत्साहित गर्दै विदेशभन्दा स्वदेशमै स्वरोजगार बन्न प्रेरित गर्नुपर्ने आवश्यकता औंल्याइन्।
पत्रकार शर्माले सम्मानले पत्रकारिता क्षेत्रमा अझ जिम्मेवार भएर काम गर्न प्रेरित गरेको बताइन्।
उनले रोजगारीका लागि संघर्ष गर्ने महिलाका समस्या सम्बोधन गर्दै वैदेशिक रोजगार शाखा संरक्षण संघलाई समस्यामा परेका नेपाली श्रमिकको सहयोग गर्न सुझाव दिइन्।
महिला भलिबल कप्तान अरुणाले सम्मानले आफूलाई थप हौसला र ऊर्जा मिलेको धारणा राख्दै देशको नाम राख्न निरन्तर मिहिनेत गर्ने धारणा व्यक्त गरिन्।
संघका अध्यक्ष सुजन श्रेष्ठले हरितालिका तिज पर्वको महत्त्व र महिमा विशेष रहेको जनाउँदै महिलालाई सम्मान गरिएको बताए। उनले २०६६ मा स्थापित संस्थाले गण्डकी प्रदेशका वैदेशिक रोजगार सम्बद्ध शाखालाई नियमन गर्दै सरकार र व्यवसायीबीच समन्वय गर्दै आइरहेको जानकारी दिए।
उनले वैदेशिक रोजगारको नाममा हुने ठगीलाई रोक्दै कानुनी र व्यवस्थित माध्यमबाट रोजगार प्रदान गर्न संस्था सक्रिय रहेको र संघमा ८० वटा सस्था आबद्ध रहेको उनको भनाइ थियो।
कार्यक्रममा संघका सल्लाहकार, सदस्य, कर्मचारी र अन्य विशिष्ट व्यक्तित्वलाई पनि मायाको चिनो दिएर सम्मान गरिएको थियो।
कार्यक्रम सञ्चालन महासचिव विक्रम पोखरेलले गरेका थिए भने सल्लाहकार, संघका वरिष्ठ उपाध्यक्ष घनश्याम गौतमलगायत वक्ताहरूले आ–आफ्नो मन्तव्य राखेका थिए।