काठमाडौं। मंगलबारदेखि भृकुटीमण्डपमा नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल (नाडा)को आयोजनामा सुरु भएको १६औं संस्करणको नाडा शोमा टाटाको पन्च सार्वजनिक गरिएको छ।
कम्पनीले नाडा शोको पहिलो दिन सार्वजनिक टाटा पन्चको मूल्य ३३ लाख ९९ हजार रुपैयाँ तोकेको छ।कम्पनीले ल्याएको एस एमआर भेरियन्टको ३३ लाख ९९ हजार, एलआर भेरियन्टको ३६ लाख ९९ हजार र एस एलआर भेरियन्टको ३८ लाख ९९ हजार तोकेको हो।
नेपाल आएको झण्डै एक महिना पुग्न लागेको कारको यसअघि मूल्य बाहिर आएको थिएन। टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले नाडा अटो शोको स्टलमा टाटा पन्च गाडीसँगै मूल्य सार्वजनिक गरेको हो।
टाटाले पन्च ईभीमा भेन्टिलेटेड सिट दिएको छ। ३६० डिग्री क्यामेरा र सेन्टर कन्सोलमा दिएको रोटरी गियर सेलेक्टर यसको अर्को उत्कृष्ट फिचर हो .। इलेक्ट्रीक पार्किङ ब्रेक तथा वायरलेस मोबाइल चार्जिङ प्याड प्रयोग गर्न एकदमै सहज छ।
पन्च ईभीमा १६ इन्चको ह्वील, १९० एमएमको ग्राउण्ड क्लियरेन्स तथा ठूलो एसयूभीहरूको जस्तै ९० किलोवाटको मोटर छ। बढी पावर चाहिएमा स्पोर्ट्स मोड छँदैछ। पन्च ईभीमा ३५ किलोवाट आवरको ब्याट्री छ। अगाडि कनेक्टेड एलइडी डीआरएल, स्प्लीट हेडलाइट तथा मस्कुलर बडी सेपले गाडीको फस्ट लुक्स एकदमै आकर्षक देखिन्छ ।
नयाँ डिजाइनको टु स्पोक फ्ल्याट बटम स्पोर्टी स्टेरिङ ह्वील, १०.२५ इन्चको फ्लोटिङ सेन्टर स्क्रीन तथा फुल्ली डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टरका साथै लेदरेट सिट कभरले यसको फस्ट इम्प्रेसन नै प्रिमियम देखिन्छ ।