काठमाडौं। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) अध्यक्ष करण चौधरीले व्यवसायीलाई त्रासको वातावरणबाट मुत्तm गराउन आग्रह गरेक छन्। मंगलबार १६औं नाडा अटो शो उद्घाटन कार्यक्रममा अध्यक्ष चौधरीले यस्तो बताएका हुन्।
अर्थमन्त्री विष्णुप्रसाद पौडेल प्रमुख अतिथि रहेको कार्यक्रममा अध्यक्ष चौधरीले अहिलेको सरकारबाट ठूलो आशा रहेको बताए।
‘अहिले व्यवसायी त्रासमा बाँचेका छन्।पहिला व्यवसायीलाई त्रासबाट मुत्तm गराउनुस्’, अध्यक्ष चौधरीले भने, ‘अहिले निजी क्षेत्रलाई हेर्ने नजर परिवर्तन भएको छ। त्यो नजर सकारात्मकभन्दा पनि नकारात्मक हुँदै गएको छ। अटो सबैभन्दा पारदर्शी व्यवसाय हो। हामी पारदर्शी हुन तयार तर व्यवसायीलाई चोर हुन् भन्ने मानसिकता हटाउनुपर्छ।’
उनले नेपालमा व्यवसायीलाई पछाडि धकेल्ने नीति नियम रहेकाले त्यसलाई सुधार गर्नुपर्ने बताए। कम्तीमा १० वर्षे स्थिर नीति ल्याइदिन आग्रह गर्दै चौधरीले व्यवसायी लगानी गर्न तयार रहेको जानकारी दिए। चौधरीले अटो व्यवसायी नेपालमै टिक्ने वातावरण बनाइदिन आग्रह गरे।
‘अवैध रुपमा लाखौं करोडौं मूल्यका साधन आयात भइरहेका छन्। यसर्थ, भन्सार नाका र सीमामा कडाइ गर्न आवश्यक छ। हामीलाई नेपालमै बसेर काम गर्नुछ’, अध्यक्ष चौधरीले भने, ‘अटो व्यवसायी अर्थतन्त्रमा योगदान गर्ने सबैभन्दा ठूलो क्षेत्र अब पनि बन्न सक्छ। यसका लागि सरकार साथ आवश्क छ।’
चौधरीले अटो शो आर्थिक वृद्धि गर्ने ठूलो चाबी भएको बताए। यो नभई अर्थतन्त्र चलायमान नहुने र नाडा अटो शो अटो व्यवसायीका लागि पर्व भएको चौधरीको भनाइ छ। ‘यस्तो आर्थिक शिथिलतामा नाडा अटो शो किन भन्ने गरिन्छ। हाम्रो समस्या देखाउन अटो शो गरेका हौं’, चौधरीले भने, ‘नीतिगत सुधार गरेर अटो व्यवसाय चलायमान बनाए त्यसले सरकारलाई पनि ठूलो सहयोग पुग्छ।’
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले सेयर बजारलाई गतिशील राख्न विद्यमान नीति सुधार गर्नुपर्ने बताए। चालू आर्थिक वर्षको सुरुबाट नै दुई ठूलो दलको सरकार बनेकोले थुप्रै सुधारका कामको अपेक्षा रहेको उनको भनाइ छ।
वर्तमान सरकारले अर्थतन्त्रको समग्र क्षेत्र सुधारमा पहल गर्नुपर्ने अग्रवालको सुझाव छ। अटोमोबाइल, सेयर बजारमा केही उत्साह आएकाले थप नीतिगत सुधार आवश्यक भएको अग्रवालको बताए।