काठमाडौं । आजबाट सुरु हुने नाडा अटो शोमा आधा दर्जन ह्याचब्याग सेग्मेन्टका कार प्रतिस्पर्धामा उत्रिँदैछन्। नेपाली बजारमा ह्याचब्याग सेग्मेन्टका कारमा ग्राहक आकर्षण देखिने गरेको छ। विगतका नाडा अटो शोमा पनि ह्याचब्याग सेग्मेन्टका गाडी ग्राहकको ध्यान तान्न सफल भएका थिए। यस वर्ष पनि ह्याचब्यागमा आकर्षण हुने अनुमान व्यवसायीको छ।
यस वर्षको नाडा अटो शो २०२४ मा २४ वटा चारपांग्रे र १९ वटा दुईपांग्रे सवारीसाधनका ब्रान्डको प्रदर्शनी हुँदै छ। तीमध्ये ग्राहक आकर्षणमा मिडियम रेन्जका सवारीसाधन पर्ने हुँदा ह्याचब्याग सेग्मेन्टका गाडीको प्रतिस्पर्धा थप रोचक बन्ने निश्चित छ। नाडा अटो शोमा केही ह्याचब्याग सेग्मेन्टका गाडी लन्च हुँदै हुँदा बजारमा यसअगाडि भित्रिइसकेका सोही सेग्मेन्टका गाडीसँग पनि प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ।
यसअघि ह्याचब्याग सेग्मेन्टमा नेपाल भित्रिएका गाडी उत्कृष्ट मानिएका छन्। नेपाल भित्रिएको छोटो समयमै लोकप्रिय भएको टाटा टियागो, बुलिङ बिङगो, बिवाइडीको डल्फिनलगायत ह्याचब्याग गाडीसँग नाडा अटो शोका लागि भित्रिएका ह्याचब्याग सेग्मेन्ट ब्रान्डबीच तीव्र प्रतिस्पर्धा हुने देखिएको छ। नाडा अटो शोका लागि नयाँ ब्रान्ड बीएडब्लू, चांगनको लुमिन, इचईभी–३०० नामी–०१, एफ–१०, क्यूट–०४ लगायत ब्रान्डका ह्याचब्याग कार नेपाल भित्रिएका छन्।
काई ‘क्यूट–०४’
नाडा अटो शोका लागि लक्ष्मी इमोबिलिटीले नेपाल ल्याएको क्यूट–०४ ह्याचब्याक कार काठमाडौं आइसकेको छ। ह्याचब्याग सेग्मेन्टमा नेपाल आएको क्यूट–०४ कारमा २८.०८ किलोवाट आवर क्षमताको लिथियम आयोन फस्फेट ब्याट्री प्याक सुविधा छ।
सीएलटीसीका अनुसार यसले सिंगल चार्जमा ३०१ किलोमिटर रेन्ज दिन्छ। अधिकतम १०० किलोमिटरको स्पिडमा गुड्ने क्यूट–०४ मा ४० किलोवाट क्षमताको मोटर दिएको छ। सुरक्षाका लागि गाडीमा एबीएस, इबीडी, एएसआर, टीसीएस, इएससी, इएसपी र डीसीएसजस्ता फिचर छन्।
एचईभी–३००
ह्याचब्याक सेग्मेन्टमा नेपाल आएको एचईभी–३०० नाडा अटो शोमा देख्न सकिनेछ। ‘एचईभी–३००’ले सिंगल चार्जमा ३३५ किलोमिटर रेन्ज दिने सीएलटीसीले प्रमाणित गरेको छ।
एस क्यूब इन्टरप्राइजेजले नेपाल ल्याएको एचईभी–३०० नाडा अटो शो २०२४ मा प्रदर्शनी हुनेछ। कम्पनीले यसलाई २५ लाख ९९ हजार मूल्य निर्धारण गरेर बिक्री सुरु गर्ने तयारी गरिरहेको छ।
बीएडब्लू ब्रम्बी
नाडा अटो शोमा ह्याचब्याग सेग्मेन्टमा प्रतिस्पर्धा गर्ने अर्काे नयाँ ब्रान्ड बीएडब्लूको ब्रम्बी हो। बीएडब्लू मोटर्सको ब्रम्बी ह्याचब्याक पनि अटो शोमा प्रदर्शनी गरिने गाडी हो।
यसमा २५ किलोवाट पिकपावर भएको इलेक्ट्रिक मोटर दिएको छ। यसको रेटेड पावर १५ किलोवाट छ। चार जनाले यात्रा गर्न सक्ने ५ ढोका भएको ब्रम्बी इलेक्ट्रिक ह्याचब्याकमा १५.१२ किलोवाट आवरको सानो साइजको ब्याट्री छ।
नामी–०१
चिनियाँ ब्रान्ड डोङफेङले उत्पादन गरेको नामी–०१ पनि नामी ब्रान्डमा बनेको पहिलो कार हो। यसलाई कम्पनीले ह्याचब्याक डिजाइनमा ल्याएको छ। ह्याचब्याग सेग्मेन्टमा नेपाल आएको नामी–०१ प्रिमियम इलेक्ट्रिक कार हो।
एमएडब्लू वृद्धि अटोकर्पले नेपाल ल्याएको नामी–०१ ३१.४ र ४२.३ किलोवाट आवरको दुई ब्याट्री अप्सनमा उपलब्ध छ। यसको मूल्य ३३ लाखदेखि ३६ लाख रुपैयाँ तोकिएको छ।
लिंकटुर एफ–१०
विशाल ग्रुपअन्तर्गतको भिजी ल्युबले नयाँ इलेक्ट्रिक ह्याचब्याग कार नेपाल ल्याएको छ। भिजी ल्युबले लिंकटुर कम्पनीबाट उत्पादन गरेको इलेक्ट्रिक ह्याचब्याक कार ल्याएको हो।
साना विद्युतीय गाडीमा उपलब्ध सबै फिचरले भरिएको एफ–१० ह्याचब्याक कारमा ३१.९५ किलोवाट आवरको ब्याट्री दिइएको छ। कम्पनीले यसको अधिकतम बिक्री मूल्य ३० लाख रुपैयाँ निर्धारण गरेको छ।
चांगनको लुमिन
चांगनको लुमिन ईभी ह्याचब्याग नेपाल भित्रिसकेको छ। एमएडब्लू वृद्धि अटोकर्पले नेपाल ल्याएको लुमिनमा ३५ किलोवाटको मोटर तथा २८.०८ र १७.६५ किलोवाट आवरको सीएटीएलको ब्याट्री प्याक छ। कम्पनीले लुमिनको मूल्य २१ लाख ९९ हजार रुपैयाँ तोकेको छ।