काठमाडौं । नेपाल अटो मोबाइल्स एसोसिएसन (नाडा) द्वारा आयोजना हुने सवारीसाधनको कुम्भ मेला ‘नाडा अटो शो २०२४’ भदौ ११ देखि सुरु हुँदै छ। हरेक वर्ष अटो मोबाइल व्यवसायीको छाता संस्थाले आयोजना गर्ने मेलामा अटो व्यवसायीसँगै बैंक तथा वित्तीय संस्थालाई पनि व्यवसाय विस्तारको अवसर मिल्ने गर्छ।
सवारीसाधन कर्जा विस्तार बढाउन बैंक तथा वित्तीय संस्थाहरुले मेलामा ग्राहकलाई सहुलियत र सस्तो ब्याजदरमा ‘अटो लोन स्किम’ सार्वजनिक गर्दै स्टल नै राखेका हुन्छन्। यस पटक ६ वाणिज्य बैंक र १ विकास बैंकले नाडा अटो शोमा सहभागिता जनाउने भएका छन्। यी बैंकहरुले चारपांग्रे विद्युतीय सवारी कर्जालाई प्राथमिकतामा राख्दै नाडा अटो शोमा उपस्थिति जनाउने भएका हुन्।
नाडा अटो शो २०२४ मा ९५ प्रदर्शकका १३० वटा स्टलले सहभागिता जनाउनेछन्। यसमध्ये सवारी कर्जा लिएर ७ वटा बैंकहरुले स्टल राख्ने भएका हुन्। सामान्यतयभन्दा सहज र सस्तो ब्याजदर कर्जा स्किम ल्याउँदै हिमालयन, ग्लोबल आइएमई, नबिल, सानिमा, माछापुच्छ्र्रे, लक्ष्मी सनराइज र महालक्ष्मी विकास बैंकले यस पटकको नाडा अटो मेलामा स्टल राख्ने भएका हुन्।
बैंक तथा वित्तीय संस्थाहरुले नेपाल राष्ट्र बैंकको प्रावधानमा रहेर विद्युतीय सवारीसाधनलाई मूल्यको ८० प्रतिशतसम्म र पेट्रोलियम सवारीसाधनलाई ५० प्रतिशतसम्म कर्जा दिन पाउँछन्। नियामकीय प्रावधानमा रहेर उल्लिखित बैंकहरुले ७.९९ प्रतिशतदेखि साढे १० प्रतिशतसम्म ८ वर्षसम्मकाे सवारी कर्जा दिनेछन्।
नाडाजस्ता अटो मेलाले बैंकहरुलाई सवारी कर्जामार्फत व्यवसायी विस्तारमा सहयोग हुने हुँदा अवसरको रुपमा लिएर सहभागिता जनाउन लागिएको सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) निश्चलराज पाण्डे बताउँछन्।
‘नाडाजस्ता मेलामा सहभागी बैंकहरुलाई अटो कर्जा विस्तार गर्न सहयोग पुग्ने गरेको छ। त्यसैले सानिमा हरेक वर्ष सहभाभी भइरहेको हुन्छ,’ सीईओ पाण्डेले क्यापिटल नेपालसँग भने, ‘चाडपर्व नजिकिरहेको हुँदा मेलामा गाडी अवलोकन गरेर दसैंमा सवारी खरिद गर्छु भन्नेलाई बैंकले अहिलेकै स्किम रेटमा सवारी कर्जा दिन्छ।’
नाडा अटो शाेको सहभागिताले बैंकलाई ग्राहक चाहना र व्यवहार बुझेर अटो लोनसम्बन्धी थप स्किम बनाउन सहयोग हुने उनको भनाइ छ।
हरेक वर्ष नाडा अटो मेलामा सहभागी भइरहेको नबिल बैंकले यसपटक पनि सहभागिता जनाएकाे छ। मेलाले बैंकको सवारी कर्जा विस्तारलाई सहयोग गर्ने भएकै कारण सहभागिता जनाइएको बैंकमा डेपुटी सीईओ मनोज ज्ञावली बताउँछन्।
‘अघिल्लो वर्षमा पनि नाडा अटो मेलापछि समग्रमा अटो लोन २/३ प्रतिशतले वृद्धि भएकै हुन्छ,’ बैंकका डिसीईओ ज्ञावलीले क्यापिटल नेपालसँग भने, ‘अटो मेलामा सहभागी बैंकलाई थप फाइदा हुने हुँदा नबिलले पनि यस्ता मेलालाई अवसरकै रुपमा लिएर सहभागिता जनाइरहेको छ।’
यस पटकको नाडा अटो मेलामा २४ वटा ब्रान्डले आफ्ना उत्पादन प्रदर्शनमा राख्नेछन्। यसमध्ये ३ वटामा त्रै इन्धन सवारीसाधनका छन्। मेला नै विद्युतीय सवारीसाधनमय हुने भएपछि बैंकहरुले सवारी कर्जा स्किम पनि सोहीअनुसार बनाएका छन्। यसपटक मेलामा सहभागी अधिकांश वाणिज्य बैंकहरुले विद्युतीय सवारी कर्जालाई प्राथमिकतामा राखेका हुन्।
अटो मेलामा सहभागी बैंकको स्किम प्रतिस्पर्धा
मंगलबारदेखि ६ दिनसम्मका लागि राजधानीको भृकुटीमण्डपमा हुने १४औं नाडा अटो शोमा सहभागी बैंकहरुले सवारी कर्जामा सस्तो ब्याजदर, सहज प्रकृया, प्रिमियम र शेवाशुल्कमा छुटसहितका स्किम दिनेछन्। साथै, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, भिसा तथा क्रेडिट कार्डलगायत बैंकका अन्य डिजिटल सेवामा निःशुल्क गर्नेछन्। यद्यपि महालक्ष्मीले आफ्नो स्किम बाहिर ल्याएको छैन।
माछापुच्छ्रे बैंकः हालसम्म सवारी कर्जामा न्यूनतम ८.५० प्रतिशतदेखि अधिकतम ११ प्रतिशत ब्याजदर लिइरहेको माछापुच्छ्रे बैंकले नाडा अटाे शाेका लागि विशेष स्किम ल्याएकाे छ। बैंकले नाडा शाेमा सहभागी भएर चारपांग्रे सवारी खरिद गर्नेका लागि परिवर्तित ब्याजदरमा ९ प्रतिशत ब्याजमै सवारी कर्जा उपलब्ध गराउनेछ। बैंकले बेसरेटमा १ प्रतिशत मात्रै प्रिमियम थप गरेर ब्याजदर निर्धारण गरेको हो। हाल बैंकको बेसरेट ८ प्रतिशत छ।
यस्तो कर्जा बैंकले विद्युतीय सवारीमा मूल्यको ७० प्रतिशतसम्म ६ वर्षका लागि र इन्धन सवारीमा मूल्यको ५० प्रतिशत ८ वर्षका लागि दिनेछ। सामान्यतया ०.७५ प्रतिशतसम्म सेवाशुल्क लिइरहेको बैंकले नाडा अटो शाेमा भने कर्जा सेवाशुल्क ०.२५ प्रतिशत मात्रै दिने उल्लेख गरेको छ।
सानिमा बैंकः यसअघिसम्म न्यूतनतम ९.३३ प्रतिशतदेखि ११.३३ प्रतिशतसम्मको ब्याजदरमा सवारी कर्जा प्रवाह गरिरहेको सानिमा बैंकले नाडा मेलामा आउने ग्राहकलाई ८.४९ प्रतिशतदेखि १०.५५ प्रतिशत ब्याजदरमै सवारी कर्जा उपलब्ध गराउने भएकाे छ।
बैंकले ७ वर्षका लागि स्थिर ब्याजदरमा ८.४९ प्रतिशतमै सवारी कर्जा दिने भएको हो। बैंकले परिवर्तित ब्याजदरमा ८.५५ प्रतिशत रहेको बेसरेटमा २ प्रतिशत प्रिमियम जोडेर १०.५५ प्रतिशतमै सवारी कर्जा उपलब्ध गराउनेछ। नाडा अटो मेला लक्षित गरेर बैंकले शेवाशुल्कसमेत ०.२५ प्रतिशत मात्रै लिनेछ। बैंकले चारपांग्रे सवारीसाधनका लागि मात्रै अटो लोन दिने भएकाे हाे।
नबिल बैंकः हालसम्म न्यूनतम ८.२५ प्रतिशतदेखि १०.६३ प्रतिशतसम्मको ब्याजदरमा सवारी कर्जा प्रवाह गरिरहेको नबिल बैंकले नाडा अटो मेलाका लागि विशेष स्किम ल्याएको छ। बैंकले नाडा मेलामा सवारी खरिद गर्ने ग्राहकका लागि ५ वर्षसम्मका लागि ८.२५ प्रतिशत र ७ वर्षसम्मका लागि ८.४९ प्रतिशत ब्याजदर तोकेको छ। यस्तो कर्जा स्किम बैंकले विद्युतीय र इन्धन दुवैका लागि ल्याएको हो। स्थिर ब्याजदरका लागि मात्रै कर्जा स्किम ल्याएको बैंकले सेवाशुल्क ०.५ प्रतिशतसम्म लिने जनाएको छ।
ग्लोबल आइएमई बैंकः यस पटकको नाडा अटो मेलामा सबैभन्दा सस्तोमा सवारी कर्जा ग्लोबलले दिने भएको छ। बैंकले हालसम्म १२.४९ प्रतिशतसम्म ब्याजदरमा सवारी कर्जा दिइरहेको छ। तर, बैंकले नाडा मेलामा भने न्यूनतम ७.९९ प्रतिशतदेखि अधिकतम ९.४९ प्रतिशत ब्याजदरमै सवारी कर्जा दिने भएको छ।
बैंकले ‘ग्रिन ड्राइभ’ स्मिक ल्याउँदै विद्युतीय सवारीमा ५ वर्षसम्मका लागि ७.९९ प्रतिशत र त्यसभन्दा माथि भए ८.४९ प्रतिशत ब्याजदर लिनेछ। इन्धन सवारीका लागि भने बैंकले ५ वर्षका लागि ८.४९ प्रतिशत र सोभन्दा माथि भए ९.४९ प्रतिशत ब्याजदर लिने उल्लेख गरेको छ।
बैंकले मेलामार्फत आउने ग्राहकलाई ३ कार्यदिनमै कर्जा उपलब्ध गराउनेछ भने पहिलो वर्षका लागि क्रेडिट कार्डमार्फत निःशुल्क इन्स्योरेन्स र मोबाइल बैंकिङ निशुल्क गर्नेछ। कर्जा प्रकृयामा सेवाशुल्क भने बैंकले ०.५ प्रतिशत लिनेछ।
लक्ष्मी सनराइज बैंकः हालसम्म सवारी साधान कर्जामा न्यूनतम ८.९९ प्रतिशतदेखि अधिकतम ११.७० प्रतिशतसम्म ब्याजदर लिइरहेको लक्ष्मी सनराइज बैंकले १४औं नाडामा भने विशेष छुट दिने भएको छ। बैंकले नाडा मेलामा विद्युतीय सवारी खरिद गर्न कर्जा लिनेलाई ८.९९ प्रतिशतमै कर्जा उपलब्ध गराउनेछ। बैंकले ०.५ प्रतिशत सेवाशुल्क लिएर यस्तो कर्जा ७ वर्षका लागि स्थिर ब्याजदरमा उपलब्ध गराउने भएको हो।
बैंकले इन्धन सवारीमा बेसरेटमा १ प्रतिशत प्रिमियम थप गरेर ब्याजदर निर्धारण गरेको छ। हाल बैंकको बेसरेट ८.२५ प्रतिशत रहेको हुँदा परिवर्तित ब्याजदरमा इन्धन सवारीसाधन खरिदका लागि ९.२५ प्रतिशतसम्म कर्जा उपलब्ध गराउनेछ।
हिमालयन बैंकः सवारीसाधन खरिद गर्न हालसम्म हिमालयन बैंकले न्यूनतम ९.३६ प्रतिशतदेखि अधिकतम १२.८६ प्रतिशतसम्म ब्याजदर लिइरहेको छ। बैंकले १४औं नाडा अटो मेलाका लागि परिवर्तित ब्याजदरमा ९.५१ प्रतिशतसम्म कर्जा उपलब्ध गराउनेछ। बैंकले बेसरेटमा विद्युतीय सवारीका लागि ०.५३ प्रतिशत प्रिमियम जोडेर ९.३६ प्रतिशतमा र इन्धन सवारीका लागि ०.६५ प्रतिशत प्रिमियम जोडेर ९.५१ प्रतिशत ब्याजदरमा कर्जा दिने भएको हो। बैंकले सेवाशुल्कबापत भने ०.५ प्रतिशत लिने उल्लेख गरेको छ।