काठमाडौं । मिस माल्टा चेरिस स्पिटेरी २४ दिने नेपाल बसाइँ सिध्याएर फर्किइन्। साउन १४ मा नेपाल आएकी मिस माल्टा भदौ ५ गते मात्र स्वदेश फर्किइन्।
उनको काठमाडौं बसाइँमा पर्यटकीय क्षेत्र पोखरा र सौराहामा जाने सुरुआती तयारी रहे पनि जहाज र गाडी दुर्घटनापछि त्यो कार्यक्रम रद्द गरिन्। काठमाडौं, ललितपुर र भक्तपुर क्षेत्रमा घुमघाम गरेरै समय बिताइन्। यदि मिस माल्टाको भ्रमण पोखरा र सौराहामा हुन सकेको भए विश्व बजारमा अर्कै सकारात्मक सन्देश जाने थियो, जुन हुन सकेन।
साउन ९ मा पोखरा उडेको सौर्यको जहाज दुर्घटना, असार २९ मा भरतपुर महानगर–२९ सिमलतालमा पहिरोले दुई वटा यात्रुवाहक बस बगाएको, साउन २३ को एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना, भदौ ७ मा पोखराबाट काठमाडौं आउँदै गरेको भारतीय पर्यटकीय बस दुर्घटनाले नेपालको पर्यटन क्षेत्रमा नकरात्मक सन्देश प्रवाह गरिरहेको छ। खासगरी पर्यटकीय सिजन सुरु हुनै लाग्दा नेपालको अकास र सडक दुवैमा जोखिम बढेको भन्दै पर्यटकले सोधीखोजी थालेका छन्।
होटल एसोसिएन अफ नेपाल(हान)का कोषाध्यक्ष युवराज श्रेष्ठले अकास र सडक मार्ग दुवैमा बढ्दो असुरक्षाले पर्यटक आगमनमा नराम्रो असर पुगेको बताए। ‘दुर्घटना रोक्न कसैले सक्दैन तर निरन्तर पर्यटकसँग सरोकार राख्ने जहाज, हेलिकोप्टर र गाडी दुर्घटनाले नकारात्मक असर पुगेको छ’, कोषाध्यक्ष श्रेष्ठले भने, ‘पर्यटक बोकेर हिँडेको गाडी दुर्घटना परेपछि नेपालको अकास मात्र हैन, सडक पनि सुरक्षित छैन भन्ने सन्देश फैलिएको छ।’
हवाई सुरक्षा हिसाबले नियामक र नियमन बनाएर राम्रो नियमन गरेको छ भन्ने सन्देश दिन आवश्यक रहेको उनको भनाइ छ। पर्यटकीय क्षेत्रसँग जोडिएका सडकको स्तरोन्नतिलाई छिटो सकाउने र मर्मतसम्भारको काम टाइम कार्डअनुसार गराउन आवश्यक छ। ‘बाह्य पर्यटक बोकेर आएका पर्यटक गाडी विशेषगरी हरियो एवं चिनियाँ र भारतीय पर्यटक बोकेर आउने गाडीलाई टाइम कार्ड उपलब्ध गराएर यात्रा गराउनुपर्छ। यसो गरे पर्यटक वाहनलाई दुर्घटना हुनबाट जोगाउन सकिन्छ,’ उनले भने।
साउन ९ मा सौर्य जहाज दुर्घटना, असार २९ मा सिमलतालमा पहिरोले दुई वटा यात्रुवाहक बस बगाउनु, साउन २३ को एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना, भदौ ७ मा पोखराबाट काठमाडौं आउँदै गरेको भारतीय पर्यटकीय बस दुर्घटनाले नेपालको पर्यटन क्षेत्रमा नकारात्मक सन्देश प्रवाह गरिरहेको छ।
हवाई दुर्घटना न्यूनीकरणका लागि नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणलाई चुस्त बनाउन सेवाप्रदायक र नियामक छुट्टाछुट्टै बनाउने काम तत्कालै गरी सुरक्षा प्रत्याभूति दिलाउने काम भइरहेको सन्देश दिन आवश्यक रहेको उनको भनाइ छ।
पछिल्लो समय घटेको दुर्घटनाले अन्तर्राष्ट्रिय पर्यटनमा बजारमा नेपाल पर्यटकीय क्षेत्रको सुरक्षाको चासो र चिन्ता बढेको देखिन्छ। कतिपय पर्यटकहरुले सम्मुखमा आइरहेको सिजनलाई ठूला असर गर्ने देखिन्छ।
नेपाल पर्यटन बोर्डका निर्देशक एवंम प्रवक्ता मणिराज लामिछानेले सम्बन्धित क्षेत्रले पर्यटकीय क्षेत्र जोडिने सडकको स्तरोन्नति गर्न तदारुकताको साथ काम गर्नुपर्ने बताउँछन्। ‘हवाई सुरक्षाका लागि सरकारले ल्याएका सबै नीति अविलम्बन गरी नीतिगत सुधार टड्कारो आवश्यक हो’, प्रवक्ता लामिछानेले भने, ‘दुर्घटनापछि नेपाल आउने पर्यटक संख्या क्रमिक रुपमा घट्दै गएको छ।’
भारतीय पर्यटनमा पर्न सक्छ असर
नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार हवाई मार्गमार्फत सबैभन्दा बढी पर्यटक भारतबाट आउने गरेका छन्। गत अगस्टमा मात्रै २१ हजार ४९१ जना भारतीय पर्यटक नेपाल आएका थिए।
यो संख्या जहाजमार्फत आएका मात्र हुन। तर, खुला सीमा भएकाले धेरै पर्यटक गाडीबाटै नेपाल आउने गरेका छन्।
खासगरी दिल्ली–काठमाडौं उडानको भाडा अत्यधिक महँगो हुन थालेपछि धेरै पर्यटक गाडीमार्फत र अझ कतिपयले त निजी गाडी लिएर आउने गरेका छन्। गाडीमार्फत आएको संख्या बोर्डसँग हुँदैन।
तर,पछिल्लो समय मर्स्याङ्दी सडक दुर्घटनामा परी ३७ भारतीय पर्यटकको ज्यान गएपछि भने नेपालको सडक सुरक्षा विषयमा प्रश्न उठ्न थालेको व्यवसायीको भनाइ छ। दीर्घकालीन असर नपुगे पनि तत्कालीन अवस्थामा भने सडक दुर्घटनापछि नेपाल आउने भारतीय पर्यटक संख्या घट्ने निश्चित रहेको बोर्डका प्रवक्ता लामिछानेले बताए।
चीनमा पनि नकारात्मक
साउन २३ मा एयर डाइनेस्टी हेलिकोप्टर दुर्घटनामा परी चार चिनियाँ पर्यटकको मृत्यु भयो। मौसम खराबीका बेला हेलिकोप्टर दुर्घटनामा परेको प्रारम्भिक अध्ययन छ। यो दुर्घटनापछि नेपाल आउने तयारीमा रहेका चिनियाँ पर्यटकसमेत सुरक्षा प्रत्याभूति कसरी हुन्छ भनेर सोधखोज गर्न थालेको पर्यटन व्यवसायी मिङमा शेर्पाको भनाइ छ।
अहिलेको स्थितिमा विश्वको पर्यटकीय गन्तव्य यात्रा सुरक्षित बनाउँछौं र सुरक्षित छ भन्ने प्रतिबद्धता सरकारी स्तरबाट व्यक्त नगरिए आउने सिजनमा पर्यटक संख्या घट्न सक्ने उनको बुझाइ छ।