काठमाडौं। नेपालमा बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले २०२४ भर्सनको बीवाईडी एटो ३ औपचारिक रुपमा लन्च गरेको छ। नेपालको पहिलो स्पोर्टी इलेक्ट्रिक एसयूभी मानिएको बीवाईडी एटो ३ देशमा सबैभन्दा बढी बिक्री हुने एसयूभी बन्ने क्रममा रहेको कम्पनीले दाबी गरेको छ।
नेपाल भित्रिएको दुई वर्षभन्दा कम समयमै ३ हजार युनिट बढी बीवाईडी एटो ३ नेपाली सडकमा गुडिरहेका छन्। ड्राइभिङ अनुभवलाई अझै राम्रो बनाउन बीवाईडी एटो ३ को २०२४ भर्सनमा धेरै आकर्षक अपग्रेड गरिनुका साथै नयाँ फिचर थप गरिएका छन्। हाल यो गाडी आकर्षक कसमस ब्ल्याक कलर अप्सनमासमेत उपलब्ध भएको छ।
यसको इन्टेरियर युनिक ब्ल्याक र ब्लु कलर स्किममा समेत उपलब्ध छ र यसले गर्दा आधुनिकता प्रदान गरेको छ। यसको एक्सटेरियरमा पनि महत्वपूर्ण सुधार गरिएको छ। रियर ब्याज अर्थात पछिल्लो भागमा पहिले ‘बिल्ड योर ड्रिम’ ब्याज रहेकोमा अब भने स्लिक खालको ‘बीवाईडी’ मात्र लेखिएको छ। डी–पिलर पहिले ड्रागन स्केलजस्तै प्याटर्नसहित सिल्भर कलरमा रहेकामा अब भने स्टाइलिस ब्ल्याक कलरमा रहेको छ। यसले गाडीलाई स्पोर्टी डिजाइन दिनमा थप सहयोग गरेको छ।
बीवाईडी एटो ३ को इन्फोटेनमेन्ट सिस्टमलाई समेत थप अपग्रेड गरिएको छ। पहिले १२.८ इन्च रहेकोमा अब यो १५.६ इन्च छ र यसले ड्राइभर तथा प्यासेन्जरको डिजिटल अनुभवलाई अझै रमाइलो बनाउँछ। सुपेरियर ग्रिप र सबै टेरेन्समा राम्रो ह्यान्डलिङ प्रदान गर्न गाडीको दुवै भेरियन्ट हाई–पर्फर्मेन्स कन्टिनेन्टल टायरले सुसज्जित छ।
बीवाईडी एटो ३ को २०२४ भर्सनमा थप गरिएको सबैभन्दा महत्त्वपूर्ण नयाँ फिचर बीवाईडी एप हो। सो अत्याधुनिक एप्लिकेसनले गाडीधनीको ड्राइभिङ अनुभवलाई सहज तरिकाले नियन्त्रण गर्न भूमिका खेल्छ। बीवाईडी एपमार्फत गाडीको रेन्ज र पावर लेभल चेक गर्न, टायर प्रेसर चेक गर्न र गाडीका ढोका तथा झ्याल बन्द भएको वा नभएको बारे थाहा पाउन सकिन्छ। त्यसैगरी टाढैबाट गाडीको अवस्थिति पत्ता लगाउन, एसी सञ्चालन गर्न र गाडीको हर्न तथा लाइट नियन्त्रण गर्न सकिन्छ।
बीवाईडी एटो ३ नवप्रवर्तनको पहिचान मात्र नभई दिगो यातायात समाधानसमेत हो। बीवाईडीको ई–प्लेटफर्म ३.० मा बनेको र सुरक्षित ब्लेड ब्याट्रीद्वारा सञ्चालित बीवाईडी एटो ३ मा इको–फ्रेन्ड्ली डिजाइनसहितको पावरफुल पर्फर्मेन्सको सम्मिश्रण रहेको कम्पनीले बताएको छ।
यसको डीआईलिंक सिस्टममा उपलब्ध गराइएको नयाँ फिचर ‘क्याम्पिङ मोड’ ले गाडीलाई थप भर्सटाइल बनाउन भूमिका खेलेको र एड्भेन्चर तथा आउटडोरमा रमाउन चाहनेका लागि रुचिकर बनेको छ।
बीवाईडी एटो ३ २०२४ भर्सन एड्भान्स्ड र सुपेरियर गरी दुई भेरिएन्टमा उपलब्ध रहेको छ। एड्भान्स्डमा ४९.९२ किलोवाट आवरको ब्याट्री प्याक छ भने यसको मूल्य ५६ लाख ९० हजार रुपैयाँ तोकिएको छ। त्यसैगरी सुपेरियरमा ६०.४८ किलोवाट आवरको ब्याट्री प्याक छ भने यसको मूल्य ६७ लाख ८० हजार रुपैयाँ तोकिएको छ।
दुवैमा १०० किलोवाटको मोटर रहेको छ । बीवाईडी एटो ३ को २०२४ भर्सन कसमस ब्ल्याक, स्कि ह्वाइट, बुल्डर ग्रे र सर्फ ब्लु गरी विभिन्न चार कलर अप्सनमा उपलब्ध छ।
नवप्रवर्तन र दिगो वातावरणमैत्री यातायात समाधानका साथ साइमेक्स इंकले नेपालको विद्युतीय सवारी क्रान्तिमा लगातार नेतृत्व दिँदै आएको छ। बीवाईडी एट्टो ३ २०२४ भर्सनले इलेक्ट्रिक भेइकल टेक्नोलोजी र डिजाइनको शिखरलाई प्रतिनिधित्व गर्दै स्पोर्टी इलेक्ट्रिक एसयूभीको नयाँ मापदण्ड स्थापित गरेको कम्पनीले जनाएको छ।