काठमाडौं । पछिल्लो समय मुलुकको आर्थिक गतिविधिमा देखिएको संकुचनको असर बैंकले दिने प्रतिफलमा पनि देखिएको छ। अपेक्षित रुपमा बैंकिङ व्यवसाय नहुँदा बैंकहरूको नाफामा धक्का लागेको र अधिक पुँजीका कारण प्रतिफल दर (रिटर्न एन्ड इक्विटी-आरओई)मा पनि परेको छ।
गत वर्ष बैंकहरूको आरओई अघिल्लो वर्षको तुलनामा औषत २.१२ प्रतिशत बिन्दुले घटेको छ। आर्थिक वर्ष २०७९/८० मा बैंकहरूको औषत आरओई १२.०९ प्रतिशत रहेकोमा २०८०/८१ मा ९.९७ प्रतिशतमा खुम्चिएको छ।
बैंकहरूले प्रकाशित गरेको वित्तीय विवरण अनुसार २० मध्ये १३ बैंकको आरओई १.४४ प्रतिशतदेखि १३.८१ प्रतिशत बिन्दुसम्म घटेको छ। तर, ७ बैंकको भने ०.९५ प्रतिशतदेखि ५.२५ प्रतिशत बिन्दुसम्म बढेको छ।
गत वर्ष प्राइम कर्मसियल बैंकको ५.२५ प्रतिशत बिन्दुले आरओई बढ्दा एनआइसी एशिया बैंकको सबैभन्दा धेरै १३.८१ प्रतिशत बिन्दुले घटेको छ।
अहिले पाउने प्रतिफलमा पूराना लगानीकर्ता पनि बाहिरिने अवस्था छ। नयाँ लगानीकर्ता भित्र्याउन बैंकिङ क्षेत्रले नाफा कमाउने गरी व्यवसाय विस्तार गर्नू आवश्यक छ। त्यसका लागि सबै पक्षले सहज नीति अवलम्बन गर्नुपर्छ।
गत वर्ष न्यूनतम आरओई ४.५८ प्रतिशत (नेपाल बैंक) र अधिकतम संयुक्त लगानीको बैंक स्ट्यान्डर्ड चार्टर्डको १९.१८ प्रतिशत छ। यस्तो आरओई अघिल्लोफ वर्ष अधिकतम प्रतिफल भएको स्ट्यान्डर्ड चार्टरको २१.१७ प्रतिशत र न्यूनतम कुमारी बैंकको ५.६१ प्रतिशत थियो।
के हो आरओई? यसको असर कसलाई कस्तो पर्छ?
सेयरधनीले बैंकमा गरेको कुल लगानीको प्रतिफललाई आरओइ भनिन्छ। कम्पनीको खुद आम्दानीलाई औषत सेयर धनीको सम्पत्तिले भाग गरेर निमालिन्छ। बैंकमा लगानीकर्ताले गरेको लगानीभित्र चुक्ता पुँजीसँगै सञ्चित कोष र सेयर बेचेर कमाएको पैसा (पेड अप क्यापिटल) समावेश हुन्छ। १०० रुपैयाँ लगानीमा आउने नाफा नै आरओई हो। आरओई ९.९७ प्रतिशत हुनु भनेको लगानीकर्ताले पाउने प्रतिफल १० प्रतिशतभन्दा कम छ भन्ने हो। अहिले बैंकहरूको चुक्ता पुँजी ८ अर्ब रुपैयाँ माथि छ।
बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष उपेन्द्र पौड्याल सामान्यतया कुनै पनि बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने लगानीकर्ताले न्यूनतम प्रतिफल २० देखि २५ प्रतिशतसम्म पाउने अपेक्षामा लगानी गर्ने गरेको बताउँछन्।
‘आरओई २०-२५ प्रतिशत भए लगानीकर्तालाई न्योचित हुन्छ,’ अध्यक्ष पौड्यालले क्यापिटल नेपालसँग भने, ‘आर्थिक सुस्तताको प्रभाव स्वरुप बैंकहरूले पुँजी संरचनाअनुसार प्रतिफल आउँने गरी व्यवसाय विस्तार गर्न सकेका छैनन्। लाभांशका रुपमा बोनश सेयर दिने नीतिले चुक्ता पुँजी बढ्दै जाँदा आरओई पनि घट्दै गएको छ।’
नेपालको बैंकिङ क्षेत्रमा नयाँ लगानीकर्ता भित्र्याउन बैंकहरूले नाफा कमाएर न्योचित प्रतिफल दिनु आवश्यक रहेको पौड्यालको भनाइ छ।
‘अहिले पाउने प्रतिफलमा पूराना लगानीकर्ता पनि बाहिरिने अवस्था छ। नयाँ लगानीकर्ता भित्र्याउन बैंकिङ क्षेत्रले नाफा कमाउने गरी व्यवसाय विस्तार गर्नू आवश्यक छ। त्यसका लागि सबै पक्षले सहज नीति अवलम्बन गर्नुपर्छ,’ पौड्यालले भने।
विश्लेषकहरूले आरओई धेरै वा थोरै भएको आधारमा स्व कम्पनीको लगानी उपयुक्त भएको वा नभएको बताउने गर्दछन्। आरओई बढी भएको कम्पनीको सेयर मूल्य पनि माथि हुन्छ भने थोरै आरओई हुने कम्पनीको मूल्य कम हुन्छ।
गत वर्ष १० बैंकको प्रतिफल दर १० रुपैयाँभन्दा कम छ भने ८ बैंकको १०-१५ रुपैयाँ र दुई बैंकको १५ रुपैयाँभन्दा बढी छ।