काठमाडौं । बढ्दो क्रममा रहेको सेयर बजारमा आइतबार लगानीकर्तालाई ठूलो धक्का लागेको छ। सेयर बजार सूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) उच्च अंक (७९.८८)ले घटेर कारोबार बन्द भएको छ।
आइतबारको नेप्से घटाइ २०८१ साउन २२ यताकै ठूलो हो। त्यस दिन नेप्से १४५.०५ अंकले घटेको थियो। आइतबार कारोबार खुल्ना साथ सूचक बढे पनि त्यसपछि भने निरन्तर घटेको हो।
सुरुवातमै नेप्से २९९०.०४ अंकमा पुगेको थियो। तर, कारोबार बन्द हुँदा २८९४.५७ अंकमा रोकिएको छ। गत बिहीबार २९७४.४६ अंकमा रोकिएको सूचक आइतबार २८८५.३९ अंकसम्म झरे पनि अन्तिममा केहीमाथि बन्द भएको हो।
२०८१ असार १७ बाट सातौं हप्तासम्म पनि निरन्तर बढेको बजार गत साता २६.३५ अंकको गिरावट देखिएको थियो। गत साताको गिरावटलाई पछ्याउँदै नेप्सेले आइतबार पनि ओरालो यात्रा गरेको हो।
२४४ कम्पनीको सेयर किनबेच भएको बजारमा आइतबार १९ अर्ब ४६ करोड रुपैयाँको सेयर किनबेच (डिभेन्चर र मिचुअल फन्ट) बाहेकको सेयर किनबेच भएको छ।
गत बिहीबारको तुलनामा कारोबार रकम सामान्य बढी भए पनि यसअघिको उच्च कारोबारबाट भने करिब एक तिहाइले कम हो।
असार ३१ गते २९ अर्ब ३० करोड रुपैयाँको सेयर किनबेच भएको थियो। तीव्र रुपले खस्किएको बजारमा आइतबार लघुवित्त कम्पनीमा ठूलो वृद्धि देखिएको छ।
आइतबार अधिकांश लघुवित्त कम्पनीको सेयर मूल्य बढ्दा वीन नेपाल, उपकार र आत्मनिर्भर लघुवित्तमा रकारात्मक सर्किट लागेको छ भने ६० कम्पनीका सेयर लगानी कर्ताले धेरथोर कमाएका छन्।
उता मन्दाकिनी हाइड्रो पावरको ९.९१ प्रतिशत मूल्य घटेको बजारमा १८४ कम्पनीका लगानीकर्ताले गुमाएका छन्। ९ प्रतिशत लाभांश घोषणा गरेको अपी पावरको आइतबार सबैभन्दा धेरै (८४ करोड ६८ लाख रुपैयाँ) स्यर किनबेच भएको छ।