काठमाडौं । सवारीसाधनको कुम्भ मेला मानिने ‘नाडा अटो शो २०२४’ भदौ ११–१६ सम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुँदै छ। नाडा अटो शोको मिति नजिकिँदै गर्दा नेपाली अटो बजारमा प्रतिस्पर्धी ब्रान्ड भित्रिने क्रम तीव्र छ।
अटो शोमा विगतमा लोकप्रिय बनेका ब्रान्डसँगै नयाँ उत्पादनबीचको रोचक उपस्थिति र स्पर्धाले नेपाली अटो बजारलाई अझ चलायमान बनाउने अपेक्षा गरिएको छ। नाडा अटो शोमा गाडी बिक्रेताहरू आकर्षक ‘लुक्स’ र मध्यम–स्तर मूल्य तोकिएका सवारीसाधनतिर ग्राहक तान्न कस्सिएका छन्। विगतमा पनि गाडीको लुक्स चित्त बुझेपछि मात्रै उपभोक्ताले मूल्य र फिचर बुझ्न आउने गरेको गाडी बिक्रेताहरू बताउँछन्। त्यसैले अटो शोमा नयाँ आकार, कलर, डिजाइन, लुक्स र इन्टेरियरले सजिएका गाडी भित्र्याएर व्यापार गर्ने योजनामा व्यवसायी छन्।
व्यवसायीका अनुसार नाडा अटो शोमा ‘सोकेस’ गरिने अधिकांश नयाँ ब्रान्ड नेपाल आइसकेका छन् भने बाँकी पनि एक/दुई दिनमै भित्रिने छन्। नेपाल भित्रिएका गाडी संख्या हेर्दा यस वर्षको नाडा अटो शो पनि गत वर्षजस्तै ईभीमय हुने देखिएको छ। गत वर्षदेखि नै नेपालमा आइस इन्जिनका निजी सवारीसाधन भित्रिन पातलो भइसकेको छ। विगतमा सरकारले ईभी सवारीलाई प्राथमिकता दिएर कर छुटलगायत सुविधा उपलब्ध गराएका कारण ईभी बजार बढ्दो छ। गत वर्ष मात्रै ११ हजार ७०१ युनिट ईभी नेपाल भित्रिएको तथ्यांक भन्सार विभागसँग छ। तथापि हुन्डाई, महिन्द्रा, सुजुकीलगायत सीमित ब्रान्डको मात्रै आइस इन्जिन गाडी नाडा शोमा राखिनेछन्।
१६औं संस्करणको नाडा अटो शोमा ‘सामान्यदेखि प्रिमियम सेग्मेन्ट’का गाडीलाई ग्राहक रोजाइ पार्ने गरी विभिन्न ब्रान्डले अवलोकन तथा बिक्रीमा ल्याउनेछन्। नाडा अटो शोमा देखाइने र बिक्री गर्ने गरी हालसम्म करिब डेढ दर्जन नयाँ ईभी ब्रान्ड नेपाल भित्रिएको र भित्रिने तयारीमा रहेको व्यवसायी बताउँछन्।
कुन ब्रान्डले के ल्याए?
टाटा पन्च ईभी
टाटा मोटर्सले यस पटकको नाडा अटो शोमा पन्च ईभी प्रदर्शनी गर्ने भएको छ। नेपालका लागि टाटाको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले अटो शोलाई लक्षित गरेरै टाटा पन्च ईभी नेपाल ल्याएको हो।
नाडा अटो शोमा गाडी बिक्रेताहरू आकर्षक ‘लुक्स’ र मध्यम–स्तर मूल्य तोकिएका सवारीसाधनतिर ग्राहक तान्न कस्सिएका छन्। विगतमा पनि गाडीको लुक्स चित्त बुझेपछि मात्रै उपभोक्ताले मूल्य र फिचर बुझ्न आउने गरेको गाडी बिक्रेताहरू बताउँछन्। त्यसैले अटो शोमा नयाँ आकार, कलर, डिजाइन, लुक्स र इन्टेरियरले सजिएका गाडी भित्र्याएर व्यापार गर्ने योजनामा व्यवसायी छन्।
हाल टाटा टियागो, नेक्सन ईभी बिक्री गरिरहेको कम्पनीले अटो शोको समय पारेर अर्को ईभी उत्पादन पन्च ईभी बजारमा ल्याएको छ। यो गाडी सिप्रदीले ४० देखि ४२ लाखभित्रै उपलब्ध गराउने तयारी गरेको छ।
जेको जे सिक्स
चेरीको सब–ब्रान्ड जेको जे सिक्स नाडा अटो शोमा प्रदर्शनीका लागि नेपाल आइसकेको छ। नेपालका लागि ओमोडा गाडीको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले उक्त गाडी नेपाल ल्याएको हो। कम्पनीले यसको मूल्य ६९ लाख ९९ हजार रुपैयाँ तोकेको छ।
अवतार–११
चिनियाँ ईभी गाडी अवतार–११ नाडा अटो शो २०२४ का लागि नेपाल आइसकेको छ। अवतारको आधिकारिक बिक्रेता सिजी मोटर्स र एमएडब्लू वृद्धिले उक्त गाडी नेपाली बजारमा भित्र्याएका हुन्।
नाडा अटो शोका लागि नेपाल ल्याइएको यो नयाँ ब्रान्ड हो। यसको मूल्य १ करोड ४५ लाख रुपैयाँ तोकिएको छ।
नामी–०१
चिनियाँ कम्पनी डोङफेङको प्यासेन्जर भेहिकल नामी–०१ नेपाल भित्रिएको छ। गत साता मात्रै डोङफेङको प्यासेन्जर भेहिकल सेग्मेन्टको नेपालका लागि आधिकारिक बिक्रेता बनेको एमएडब्लूले नामी–०१ ल्याएको हो। कम्पनीले नाडा अटो शोबाट नामी–०१ बिक्री सुरु गरिने बताएको छ।
नामी–०१ प्रिमियम इलेक्ट्रिक ह्याचब्याक ईभी हो। यो कारमा फ्रेमलेस डोर, फ्लस ह्यान्डल र सेल्फ पार्किङलगायत सेगमेन्टयुक्त फस्ट फिचर छन्। एमएडब्लू वृद्धि मोटोकर्पले ३१.४ र ४२.३ किलोवाट आवरको दुई ब्याट्री अप्सनमा नामी–०१ नेपाल ल्याएको छ। यी दुवै ब्याट्री अप्सनमा उपलब्ध नामी ह्याचब्याकको अधिकतम खुद्रा मूल्य ३१.४ किलोवाट आवर क्षमताको ब्याट्रीयुक्त भेरियन्टको मूल्य ३२ लाख ९९ हजार र ४२.३ किलोवाट आवर क्षमताको ब्याट्रीयुक्त मोडलको मूल्य ३५ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। यसको मूल्य सोचेभन्दा निकै कम राखेको कम्पनीले दाबी गरेको छ।
लिपमोटर सी–१०
लिपमोटरको गाडी नेपाल आइसकेको छ। एमएडब्लू वृद्धिले नेपाल ल्याएको लिपमोटर सांग्रिला मोटर्सले नाडा अटो शोमा अवलोकन तथा बिक्रीका लागि राखिने जनाएको छ। लिपमोटर सी–१० बिक्रीका लागि दुई ग्रुपलाई आधिकारिक बिक्रेता घोषणा गरिएका कारण कसले राख्छ भन्ने यकिन छैन।
यसमा ५२.९ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको छ। एक पटकको फुल चार्जमा ४१० किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ। गाडीमा सी–१० को लम्बाइ ४७३९ एमएम, चौडाइ १९०० एमएम र उचाइ १६८० एमएम छ। यसको ह्वीलबेस २८२५ एमएम छ। यो गाडीको ग्राउन्ड क्लियरेन्स १८० एमएम रहेको छ।
महिन्द्रा एक्सयूभी थ्री एक्सओ
महिन्द्राले अघिल्लो महिना मात्र भारतमा बिक्री सुरु गरेको एक्सयूभी थ्री एक्सओ नेपाल आइसकेको छ। नेपालका लागि महिन्द्राको आधिकारिक वितरक अग्नि इन्कर्पाेरेट प्रालिले नाडा अटो शोका लागि उक्त गाडी ल्याएको हो।
कम्पनीले गाडीको एमआरपी ६० लाख ९० हजारदेखि ६६ लाख ६५ हजार रुपैयाँ तोकेको छ। कम्पनीले अहिलेको लागि दुई भेरियन्टमा थ्रीएक्सओ नेपाल ल्याएको छ। नेपाल आएको थ्रीएक्सओ मोडलमा १.२ लिटर टिसीएमपी एफआई इन्जिन उपलब्ध छ।
ग्रेटवाल मोटर्स ट्यांक ५००
जीडब्लुएमको सब–ब्रान्ड ट्यांक ५०० हाइब्रिड कार नेपाल आइसकेको छ। जीडब्लूएमको ट्यांक ५०० नाडा अटो शोका लागि विशाल ग्रुपअन्तर्गतको भिजी इम्पेक्स प्रालिले नेपाल ल्याएको हो। कम्पनीले ट्यांक ५०० को मूल्य १ करोड ९१ लाख रुपैयाँ तोकेको छ।
गाडी अफरोड भएकाले नेपालका सबै ठाउँमा गुड्न सक्ने कम्पनीको दाबी छ। यसमा फोर ह्वील सिस्टम छ। ७६ लिटर क्षमताको फ्युल ट्यांक रहेको गाडीमा ९ स्पिडको अटोमेटिक गियर–बक्स उपलब्ध छ। गाडी हाइब्रिड भएकाले ८.५ लिटर इन्धनले १०० किलोमिटर दूरी पार गर्न सक्ने कम्पनीको भनाइ छ।
लिंकटुर एफ–१०
नाडा अटो शोका लागि लिंकटुर कम्पनीको एफ–१० ह्याचब्याग नेपाल आइसकेको छ। विशाल ग्रुपअन्तर्गतको भिजी ल्युबबाट आयातीत इलेक्ट्रिक ह्याचब्यागको मूल्य ३० लाख रुपैयाँ तोकिएको छ। कम्पनीले नाडा अटो शोमा उक्त गाडी अवलोकनमा राख्नेछ।
नाडा अटो शोका लागि नेपाल आएको यो नयाँ ब्रान्ड हो। यो गाडी सहरी क्षेत्रका लागि उपयोगी रहेको कम्पनीले जनाएको छ।
जीकर एक्स
जिली विश्व प्रसिद्ध बहुराष्ट्रिय कम्पनीसँग संयुक्त साझेदारीमा सवारी उत्पादन गरिरहेको कम्पनी हो। चिनियाँ ईभी बजारमा प्रभावशाली बनेको जीकर आफ्नै ब्रान्ड हो। चिनियाँ ब्रान्ड जिलीको प्रिमियम इलेक्ट्रिक ब्रान्ड जीकर एक्सको दुई भेरियन्ट टु ह्वील ड्राइभ र फोर ह्वील ड्राइभ अप्सनमा जीकर एक्स नेपाल आइसकेको छ।
शारडा ग्रुपअन्तर्गतको पायोनियर मोटोकर्पले आगामी नाडा अटो शोमा जिली अटोमोबाइल होल्डिङको ईभी ब्राण्ड जीकर सिक्स प्रदर्शनीमा राख्नेछ। कम्पनीले नेपाल ल्याएको टु ह्वील ड्राइभ भेरियन्टको मूल्य ८९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।
त्यसैगरी फोर ह्वील ड्राइभ भर्सनको मूल्य १ करोड ५९ लाख ९९ हजार तोकिएको छ। यी दुई भेरियन्टमा मूल्यमा ठूलो अन्तर हुनुमा मोटर पावर मुख्य रहेको कम्पनीले बताएको छ।
चांगन लुमिन
नेपालका लागि चांगन लुमिनको आधिकारिक वितरक एमएडब्लू वृद्धि अटोकर्पले लुमिन मिनिईभी नेपालमा भित्र्याइसकेको छ। कम्पनीले उक्त गाडी आगामी नाडा अटो शोमा सोकेसका लागि ल्याइएको जनाएको छ।
लुमिन ईभी सिटी कारमा ३५ किलोवाटको मोटर दिइएको छ। यसमा १७.६५ किलोवाट आवर र २८.०८ किलोवाट आवरको लिथियम आइरन फस्फेट ब्याट्री प्याक छ। दुई भेरियन्टले क्रमशः २०५ र ३०१ किलोमिटर रेन्ज दिन्छ। गाडीमा जडान गरिएको डीसी फास्ट चार्जरले ३५ मिनेटमा ३० बाट ८० प्रतिशतसम्म रिचार्ज गर्न सकिनेछ।
चीनमा सन् २०२२ मा पहिलो पटक सार्वजनिक भएको चांगान लुमिनमा मोडुलर ईपीए जिरो प्लेटफर्मको प्रयोग गरिएको छ।
हुन्डाई नयाँ क्रेटा फेसलिफ्ट
नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाई क्रेटा नेपाली बजारमा भित्र्याएको छ। कम्पनीले उक्त गाडी नाडा अटो शोमा प्रदर्शनीमा राख्नेछ। नाडा अटो शोका लागि अधिकांश ईभी भित्रिए पनि हुन्डाई क्रेटा भने पेट्रोल सेग्मेन्टको गाडी हो।
नेपालमा आइसिई इन्जिन गाडी माग क्रमिक रुपमा घट्दै गइरहेको समय आएको क्रेटामा पहिलो पटक एडास फिचर समावेश गरिएको छ। स्ट्यान्डर्ड रुपमै ६ एयरब्यागसहित आएको क्रेटाको सुरुआती भेरियन्टको मूल्य ५५ लाख ९६ हजार तोकिएको छ।
डीपल एल जेरो सेभेन
चिनियाँ गाडी उत्पादक कम्पनी चांगनको सब–ब्रान्ड एल जेरो सेभेन आगामी नाडा अटो शोमा देख्न पाइनेछ। नेपालमा डीपल गाडीको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि अटोकर्पले उक्त गाडी नाडा अटो शोमा राखिने जनाएको छ। कम्पनीले एल जेरो सेभेनको मूल्य ६९ लाख ९९ हजार रुपैयाँ तोकेको छ।
एमजी साइबरस्टर
मंगलबारदेखि सुरु हुने नाडा अटो शोको लागि एमजी साइबरस्टर नेपाल आइपुगेको छ। नेपालको लागि एमजीको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले एमजीको साइबरस्टर नेपाल ल्याएको हो। कम्पनीले नेपाल ल्याएको साइबरस्टरमा २५० किलोवाट क्षमताको मोटर दिइएको छ।
१६औं संस्करणको नाडा अटो शोमा ‘सामान्यदेखि प्रिमियम सेग्मेन्ट’का गाडीलाई ग्राहक रोजाइ पार्ने गरी विभिन्न ब्रान्डले अवलोकन तथा बिक्रीमा ल्याउनेछन्। नाडा अटो शोमा देखाइने र बिक्री गर्ने गरी हालसम्म करिब डेढ दर्जन नयाँ ईभी ब्रान्ड नेपाल भित्रिएको र भित्रिने तयारीमा रहेको व्यवसायी बताउँछन्।
पारामाउन्ट मोटर्सले यसको अधिकतम खुद्रा बिक्री मूल्य १ करोड ६७ लाख ९९ हजार रुपैयाँ तोकेर बिक्री सुरु गर्न लागेको हो। एमजी साइबरस्टर प्रिमियम स्पोर्टस् कार हो।
बीएडब्लुको ब्रम्बी ह्याचब्याग
एलआरआर ग्रुपले चिनियाँ ब्रान्ड बीएडब्लूको ब्रम्बी कार नाडा अटो शोमा प्रदर्शनीका लागि नेपाल ल्याउने तयारी गरेको छ। ब्रम्बी ह्याचब्याग बेइजिङ अटोमोबाइल वर्क (बीएडब्लू)को इलेक्ट्रिक उत्पादन हो।
बीएडब्लुको ब्रम्बी इलेक्ट्रिक ह्याचब्यागमा १७.२८ किलोवाट आवरको लिथियम आयोन ब्याट्री प्याक दिइएको छ। उक्त ब्याट्रीलाई फुल चार्ज गर्दा २०५ किलोमिटर गुडाउन सकिने कम्पनीको दाबी छ।
एक्सपेङ
एक्सपेङ नेपाली बजारमा प्रवेश गर्न लागेको नयाँ ईभी ब्रान्ड हो। यो गाडी नाडा अटो शोका लागि सिजी मोटर्सले ल्याउन लागेको हो। एक्सपेङको जी६ मा ६६ किलोवाट आवर र ८७.५ किलोवाट आवर गरी दुई ब्याट्री प्याक छ। कम्पनीका अनुसार यसमा भएको ब्याट्रीको फुल चार्जले ५८० देखि ७५५ किलोमिटरसम्मको रेन्ज दिनेछ। यसले ४८० किलोवाटसम्मको डिसी फास्ट चार्जर सपोर्ट गर्छ।
यी गाडी आउने तयारीमा
नाडा अटो शोका लागि अधिकांश नयाँ ब्रान्ड नेपाल भित्रिइसके पनि अझै थप नयाँ ब्रान्डका गाडी ल्याउने तयारीमा व्यवसायी छन्। यो वर्ष नाडा अटो शोमा देखिने अधिकांश नयाँ ब्रान्ड चिनियाँ रहनेछन्।
बिवाइडी एमसिक्स
विश्व चर्चित इलेक्ट्रिक ब्रान्ड बिवाइडीले सातसिटे ‘एमसिक्स’ नाडा अटो शोमा उतार्ने तयारी गरेको छ। नेपालका लागि बिवाइडीको आधिकारिक वितरक साइमेक्स इंकले चीनमा अहिले राइट ह्यान्ड ड्राइभमा उपलब्ध रहेको एमसिक्स प्रदर्शनीका लागि ल्याउने जनाएको छ।
राडार आरडी सिक्स
राडार गाडी नेपाल आउन लागेको नयाँ ब्रान्ड हो। आगामी अटो शोमा उक्त गाडी देख्न पाइनेछ। नेपालका लागि राडारको आधिकारिक बिक्रेता सिजी मोटर्सले जिलीको नयाँ डबल क्याब पिकअप ईभी नाडा अटो शोका लागि ल्याइने जनाएको छ।
सिजी मोटर्सले राडार आरडी सिक्सको अधिकतम खुद्रा मूल्य ६३ लाख रुपैयाँ राखेर नेपाल ल्याइने बताएको छ। तर, यसको बिक्री मूल्य पछि परिवर्तन हुने सम्भावना छ।
जीएसी आयोन भी
नेपालको लागि आयोन गाडीको आधिकारिक वितरक सिजी मोटर्सले १६ औं संस्करणको नाडा अटो शोका लागि आयोन–भी प्रदर्शन गर्र्ने जनाएको छ। कम्पनीले नयाँ यसयुभी प्रदर्शनी गर्र्ने योजना बनाएको छ।
आयोन–भी मोडलमा एच आकारको हेडलाइट, १९ इन्चको मल्टी स्पोक पेटल स्टाइल रीम, क्लोज अफ ग्रिल दिइएको छ। आयोन–भीमा १५० किलोवाट र १६५ किलोवाटको दुई मोटर अप्सन पाउन सकिन्छ। तर, कम्पनीले कुन मोटर पावर र ब्याट्री अप्सनमा नेपाल आउन लागेको हो केही खुलाएको छैन
काई इक्यू
आगामी नाडा अटो शोको लागि लक्ष्मी इ–मोविलिटीले काई इक्यू ल्याउने भएको छ। कम्पनीले नाडा अटो शोमा ल्याउने काई ह्याचब्यागमा ४० किलोवाट क्षमताको मोटर पावर रहेको छ।
कम्पीले काई एक्स थ्री भने यसअधि नै ल्याइसकेको छ। यसको मूल्य ४६ लाख ९६ हजार रुपैयाँ तोकेको छ। काई इक्यू–०२ ईभीको खुद्रा मूल्य २३ लाख ९६ हजार रुपैयाँ तोकेकोे छ भने इक्यू–०४ ईभीको मूल्य २५ लाख ९६ हजार रुपैयाँ तोकिएको छ। कम्पनीले ३ वटै गाडीहरु नाडा अटो शोमा राख्ने तयारी गरेको छ।
(भदौ अंकको क्यापिटल बिजनेस म्यागजिनबाट)