काठमाडौं । साउन ३१ गते ३०००.८१ बिन्दुमा रोकिएको (३०३६.६४ विन्दुमा पुगेर फर्किएको) सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) गत साताको ३ कारोबार दिनमध्ये एक दिन घटेर र दुई दिन सामान्य बढेर भदौ ६ गते २९७४.४६ विन्दुमा रोकियो। असार ३१ गते हालसम्मकै उच्च अर्थात् २९ अर्ब ३० करोड रुपैयाँको सेयर किनबेच भएर नयाँ रेकर्ड बन्यो। तर, त्यसपछि कारोबार रकममा पनि केही शिथिलता देखियो।
साउन ३१ पछि हरेक दिन नेप्से ३००० बिन्दुमाथि पुगे पनि कारोबार बन्द हुँदा भने ३००० मुनि नै रोकियो। भदौ २ मा ३०४८.१५ बिन्दुसम्म पुगे पनि कारोबार बन्द नेप्से २९६६.३३ बिन्दुमा रोकियो भने भदौ ५ मा ३००२.७४ बिन्दुसम्म पुगेको नेप्से २९६८.४४ र भदौ ६ मा ३०१८.९३ बिन्दुसम्म पुगेको नेप्से २९७४.४६ बिन्दुमै रोकियो।
तर, सेयर बजार सुधारका लागि सरकारका तर्फबाट अहिलेसम्म कुनै पहल भएको छैन। २०८१ असार १७ मा नेकपा एमाले र नेपाली कांग्रेसबीच सरकार बनाउने सहमति भएसँगै सातौं सातासम्म लगातार बढेको सेयर बजार गत साता ‘ब्रेक’ भएको छ। अहिलेसम्म ‘सेन्टिमेन्ट’ कै आधारमा अघि बढेकाले लगानीकर्ताले विशेष ध्यान पुर्याउनुपर्छ।
नेप्सेमा देखिएको तीव्र उतारचढाव र कारोबार रकममा देखिएको गिरावटले सेयर बजार जर्मराएको हो कि भन्ने आशंका भइरहेको छ। नेपाल धितोपत्र लगानीकर्ता संघका अध्यक्ष प्रकाश रजौरे बजार सकारात्मक माहौलमा रहेकाले सामान्य करेक्सनपछि बढेर जाने बताउँछन्।
उद्योग तथा व्यवसायी महासंघले शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा निजी क्षेत्रका अधिकांश प्रतिनिधिले सरकार र मौद्रिक नीति केही उदार हुँदा समग्र अर्थतन्त्र चलायमान भएको दाबी गरे।
‘विगतमा बजार बढ्दैन र नेप्से २५००–२६०० बिन्दुमै रोकिने आशंकामा सेयर बिक्री गरेकाले बजार घट्ने हल्ला फिँजाएका छन्। तर, सूचक छिट्टै ३२०० कट्छ र बजार घट्छ भन्नेहरूको मुख बन्द हुन्छ’ रजौरे भन्छन्, ‘पहिलाको बुल ट्रेन्डलाई हेरेर अहिले निर्णय गर्नेहरू पनि छन्। विगतमा बजार बढ्दा समग्र क्षेत्र एकैपटक बढ्थ्यो। तर, अहिले हरेक दिन फरक समूह बढ्ने गरेको छ। वास्तवमा अहिले क्षेत्रगत बुल देखिएको छ।’
पछिल्लो पटक बजार बढ्न थालेको डेढ महिना मात्रै भएको र वास्तविक बुल सुरु नै नभएको रजौरेको ठम्याई छ। त्यसो त विगतको कारोबार रकमभन्दा धेरै सेयर किनबेच भए पनि २०७८ भदौ २ गतेको ३१९९.०३ अंक (त्यसदिन ३२२६ सम्म) रेकर्ड तोडिएको छैन। नेप्सेले ३२०० बिन्दु पार गरेपछि वास्तविक बुल सुरु हुने र कारोबार रकम पनि दैनिक ४० अर्ब माथि पुग्ने रजौरेको अनुमान छ।
पछिल्लो समय लगानीकर्ताले सस्तो मूल्य र कम पुँजी भएका कम्पनीको सेयरलाई ध्यान दिइरहेका छन्। अघिल्लो साता ५ करोबार दिनमा १ खर्ब २५ अर्ब २० करोड रुपैयाँ कारोबार भएको नेप्सेमा गत साता ३ दिनमा ६५ अर्ब ७५ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। त्यस्तै अघिल्लो साता एक दिन घटेर चार दिन बढ्दा २३४.४३ अंकको वृद्धि नेप्सेमा देखिँदा गत साता एक दिन घटेर दुई दिन बढ्दा साताभर नेप्से २६.३५ अंकले घट्न पुग्यो।
बजारको समग्र प्रतिक्रिया राम्रो छ। असार अन्तिममा नयाँ सरकार नबन्दासम्म उच्च असन्तुष्ट निजी क्षेत्र अहिले एकदमै सकारात्मक छ। सेयर बजार र अर्थतन्त्रका समग्र विषयमा निजी क्षेत्रका धारणा सकारात्मक आइरहेका छन्। चालू वर्षको मौद्रिक नीतिप्रति पनि निजी क्षेत्र र सेयर लगानीकर्ता सकारात्मक छन्।
त्यसो त सेयर बजार बढ्दा साउन–भदौमा उच्च अंक हासिल गर्ने विगतको अनुभव छ। अर्कोतिर गत वर्षको नाफाबाट लगानीकर्ताले पाउने लाभांस घोषणा हुन थालेको छ। लाभांशका कारण सेयर बजारमा थप रौनक आउन सक्छ। शुक्रबार मात्रै अपि पावरले ९ प्रतिशत बोनस सेयर घोषणा गरेको छ। अब अन्य कम्पनी पनि धमाधम लाभांस घोषणा गर्ने क्रममा रहेकाले भदौ महिनामै पुरानो रेकर्ड तोडेर नेप्से अघि बढ्ने लगानीकर्ताको विश्वास छ।
नेप्सेमा देखिएको तीव्र उतारचढाव र कारोबार रकममा देखिएको गिरावटले सेयर बजार जर्मराएको हो कि भन्ने आशंका भइरहेको छ।
उद्योग तथा व्यवसायी महासंघले शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा निजी क्षेत्रका अधिकांश प्रतिनिधिले सरकार र मौद्रिक नीति केही उदार हुँदा समग्र अर्थतन्त्र चलायमान भएको दाबी गरे। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल र चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाललगायतले नयाँ सरकारको निर्माण र मौद्रिक नीतिमा गरिएको सामान्य सुधारले मात्र पनि पुँजीबजार, घरजग्गा कारोबारलगायत समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव परेको र सरकारले थोरै मात्रै प्रोत्साहन दिएमा अर्थतन्त्रले लय समात्ने बताए। कार्यक्रममा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजी क्षेत्रले माग्ने र सरकारले दिने नभई सँगै बसेर सबै समस्या छलफल गर्दै अर्थतन्त्र मजबुत बनाउने दाबी गरे।
भदौ ६ गते बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा सांसदहरूको प्रश्नको जवाफ दिँदै साउनमा सेयर बजारसँगै घरजग्गा कारोबार बढेको र राजस्व असुली तथा पुँजीगत खर्च विगतको भन्दा बढी भएको बताएका थिए। यसलाई बाह्य अर्थतन्त्र सुदृढ रहेको र चालू वर्ष आयातमा पनि उल्लेख्य सुधार हुने संकेतका रूपमा लिन सकिन्छ। गत वर्ष साउनको तुलनामा चालू वर्ष आयात ०.६७ विन्दुले मात्रै घटेको छ। जबकि अघिल्लो वर्ष साउनको तुलनामा गत वर्ष १.५६ प्रतिशतले घटेको थियो।
२०८० पुस २० गतेदेखि खाली रहेको पुँजी बजार नियामक नेपाल धितोपत्र बोर्डको अध्यक्ष खाली छ। नियुक्ति प्रक्रिया सर्वोच्च अदालतमा विचाराधीन रहेकाले अझै कति समय लाग्छ भन्न सकिने अवस्था छैन। त्यसो त अर्थमन्त्री पौडेलले छिट्टै नियुक्ति गरिने बताएका छन्।
सेयर बजारका लागि राम्रो पक्ष बैंकको ब्याजदर अझै घट्दो क्रममा छन्। नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको गत आर्थिक वर्षको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदनअनुसार ३० महिनापछि कर्जाको ब्याजदर एकल बिन्दुमा झरेको छ। गत असारमा बैंकहरूले लिने कर्जाको ब्याजदर औसत ९.९३ प्रतिशतमा खुम्चिएको थियो। जबकि ब्याजदर बढ्दै जाँदा २०७९ फागुनमा १३.०३ प्रतिशतसम्म पुगेको थियो।
भदौमा पनि निक्षेपको ब्याजदर घटेकाले आगामी दिनमा कर्जाको ब्याजदर अझ घट्ने अनुमान गर्न सकिन्छ। यसअघि २०७८ माघमा बैंकहरूको कर्जाको ब्याजदर औसत ९.४४ प्रतिशत थियो। त्यस्तै लगानी अन्य क्षेत्र पहिचान भइनसकेको र वित्तीय प्रणालीमा अत्यधिक तरलता, बैंकहरूलाई प्राथमिक पुँजीको २० प्रतिसम्म एक वर्षपछि सेयर बेच्न खुला भएको, संस्थागत सेयर कर्जा धितो सीमा खारेज भएको जस्ता कारणले सेयर बजारलाई सकारात्मक बाटोमा अघि बढाए पनि लगानीकर्ताले राजनीतिक रूपमा हुन सक्ने जोखिमसँगै अन्य जोखिमलाई पनि ख्याल गरेर लगानी गर्नु उचित हुन्छ।