काठमाडौंं। पूर्वाधार क्षेत्रमा लगानीे विविधता पहिचान तथा औद्योगिक वातावरण तयार गर्ने उद्देश्यले आगामी भदौ २७ र २८ गते काठमाडौंमा पाँचाैं पूर्वाधार सम्मेलन आयोजना गरिने भएको छ।
पूर्वाधार क्षेत्रमा नवप्रवर्तनको प्रवर्द्धन, रोजगारी सिर्जना गर्दै समग्र आर्थिक विकासका लागि नेपाल उद्योग परिसंघको आयोजनामा सम्मेलन आयोजना गरिन लागेको हो।
सम्मेलनको सह–आयोजकमा लगानी बोर्ड रहेको छ। समृद्ध अर्थतन्त्र निर्माणको आधार पूर्वाधार विकास भएकाले त्यसलाई प्रमुख प्राथमिकतामा राखेर आयोजना हुने सम्मेलनको मुख्य नारा ‘रणनीतिक लगानीमार्फत दिगो विकास’ रहेको छ।
राष्ट्रिय योजना आयोगले तयार पारेको विवरणअनुसार पूर्वाधारको विकासका लागि एकीकृत एवं सामूहिक लगानी जरुरी रहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो। परिसंघको अध्ययनअनुसार दिगो विकास लक्ष्य हासिल गर्न पूर्वाधार क्षेत्रमा मात्रै १ खर्ब ३० अर्ब अमेरिकी डलर लगानी आवश्यक छ।
परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल पूर्वाधार क्षेत्रमा स्रोत अभाव भइरहेका बेला सम्मेलनले मार्ग तय गर्ने बताए। पूर्वाधारमा धेरै लगानी आवश्यक तर स्रोत अभाव भइरहेको समय स्रोत जुटाउने उपाय खोज्ने र अन्तर्राष्ट्रिय अभ्यास सम्बन्धमा गहन छलफल हुने उनले जानकारी दिए।
लगानी बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत प्रद्युम्नप्रसाद उपाध्यायले गत लगानी सम्मेलनका क्रममा शो केसमा राखिएका आयोजनालाई सम्मेलनका क्रममा पुनः पछिल्ला प्रगतिसहित प्रस्तुत गरिने बताए।
पूर्वाधारका लागि लगानी प्रवर्द्धन, र्पवूाधार विकासका सफल अभ्यास, पूर्वाधार क्षेत्रको विकासमा रहेका अवरोधलगायतका विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पूर्वाधार विज्ञ, लगानीकर्ता, तीनै तहका सरकार र निजी क्षेत्रका प्रतिनिधिबीच गहन छलफल हुने पत्रकार शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो।