नेटा एक्स र एमजी जेडएस नेपाली बजारमा उच्च प्रतिस्पर्धी देखिँदै आएका छन्। मूल्य र फिचरमा समानताका कारण यी गाडीबीच बजारमा तीव्र प्रतिस्पर्धा देखिन्छ। नेपालका लागि नेटा एक्सको आधिकारिक वितरक सिजी मोटर्स र एमजी जेडएसको पारामाउन्ट मोटर्सबीच गाडी बिक्रीमा तुलनात्मक रुपमा बढी प्रतिस्पर्धा छ।
हुन त, नेटा एक्स र एमजी जेडएस ईभीमा मूल्यदेखि ब्याट्री प्याक समान रहेका छन्। यी गाडीको मूल्य नेपालमा भेरियन्टअनुसार फरक–फरक तोकिएको छ। चिनियाँ स्टार्टअप कम्पनी होजोन मोटर्सको पछिल्लो उत्पादन नेटा एक्स नेपालमा २०२३ को नाडा अटो शोमा आएको थियो। भने एमजी जेडएस ईभी केही समय अगाडि नै आएको थियो।
एमजी जेडएस ग्राहकले रुचाएको मोडल हो। तर, नेटा एक्स ११ महिना अगाडि बुकिङ सुरु भए पनि भर्खरै मात्र बिक्री सुरु भएको छ। सिजी मोटर्सले नेटा एक्स सर्ट रेन्ज कम्फर्ट भेरियन्टको मूल्य ५२ लाख ९९ हजार तोकेर बिक्री सुरु गर्ने जनाएको थियो। तर, यसबीच बजेटमार्फत करका दर बढे पनि कम्पनीले मूल्य बढाउने वा नबढाउने विषयमा केही जानकारी दिएको छैन।
पारामाउन्ट मोटर्सले एमजी जेडएस ईभी डिलक्स भेरियन्टको मूल्य ५२ लाख ९९ हजार तोेकेको छ भने लङ रेन्ज ७१ लाख ९९ हजार रुपैयाँ तोकेको छ। विशेषगरी नेपाली बजारमा नेटा एक्स सर्ट रेन्ज कम्फर्ट भेरियन्ट र एमजी जेडएस ईभी डिलक्स भेरियन्टको मूल्य समान ५२ लाख ९९ हजार रहेकाले पनि यी गाडीको प्रतिस्पर्धा उच्च भएको हो।
ब्याट्री र मोटर क्षमता
यी दुई मोडलबीच ब्याट्री र मोटर क्षमता समान पाउन सकिन्छ। ग्राहकले दुवै ब्रान्डमा दुई ब्याट्री प्याकका विकल्प पाउन सक्छन्। नेटा एक्सको स्ट्यान्डर्ड मोडलमा ५१.८ किलोवाट आवर र लङ रेन्ज मोडलमा ६२ किलोवाट आवर ब्याट्री रहेको छ। यसको टप स्पिड प्रतिघन्टा १५० किलोमिटर छ।
एमजी जेडएस ईभीमा ५१.१ किलोवाट आवरको सीएटीएलको ब्याट्री प्याक दिइएको छ भने लङ रेन्जमा ७२.६ किलोवाट आवरको लिथियम आयोन ब्याट्री प्याक दिएको छ। यस एसयूभीको ब्याट्री वारेन्टी ८ वर्ष रहेको छ। यो गाडी ८.५ सेकेन्डमा १०० किलोमिटर प्रति घण्टाको दरमा गुड्न सक्छ।
रेन्ज
नेटा एक्सको ५१.८ किलोवाट आवरको ब्याट्री प्याकले फुल चार्जमा ४०१ किलोमिटर र ६२ किलोवाट आवर क्षमताको ब्याट्री प्याकले फुल चार्जमा ५०१ किलोमिटर रेन्ज प्रदान गर्ने कम्पनीले जनाएको छ। यसमा १०० किलोवाट क्षमताको मोटर दिएको छ।
एमजी जेडएसको ५१.१ किलोवाट आवरको ब्याट्री प्याकले सिंगल चार्जमा ३२० किलोमिटर र ७२.६ किलोवाट आवर क्षमताको ब्याट्री प्याकले ४४० किलोमिटर रेन्ज प्रदान गर्ने कम्पनीले दाबी गरेको छ।
चार्जिङ समय
नेटा एक्स एसी चार्जरबाट ६–८ घण्टा र फाष्ट चार्जरबाट आधा घन्टामा ८० प्रतिशत चार्ज गर्न सकिन्छ। एमजीको ग्लोबल डिजाइनमा आधारित जेडएस ईभीमा जडान गरिएको ब्याट्रीलाई आधा घण्टामै ८० प्रतिशत चार्ज गर्न सकिन्छ।
आकार
नेटा एक्सको लम्बाइ ४६१९ एमएम, चौडाइ १८६० एमएम र उचाई १६२८ एमएम रहेको छ। नेटा एक्सको ह्रीलवेस २७७० एमएम छ। एमजी जेडएसको लम्बाई ४३२३ एमएम, चौडाई १८०९ एमएम र उचाई १६४९ एमएम छ। यस्तै यसको ह्वीलबेस २५८५ एमएम रहेको छ।
ग्राउन्ड क्लियरेन्स
नेटा एक्सको ग्राउन्ड क्लियरेन्स १८५ एमएम रहेको छ। एमजी जेडएसको ग्राउन्ड क्लियरेन्स १७७ एमएम रहेको छ।
क्याबिन फिचर
नेटा एक्समा १८ इन्चको फ्रन्ट एन्ड रियर ह्वील छ। यसमा ६ वटा एयरब्याग, १९ भन्दा बढी सेन्सर फिचर, २३ बढी एल २ प्लस इनटेलिजेन्ट ड्राइभिङ असिस्टेन्स फङसन उपलब्ध छ। यससँगै नेटा एक्समा पानारोमिक सनरुफ, १५.६ इन्चको एलसीडी इन्स्ट्रुमेन्ट, ८.९ इन्चको क्लस्टर, ग्लासियर ब्लु, र एक्सिट्रिम इन्टेलिजेन्सजस्ता फिचर उपलब्ध छन्।
एमजी जेडएसमा सुरक्षाका लागि ६ वटा एयरब्याग, ईएसपी, ईएबी, एचडीसी, अटो होल्ड जस्ता फिचरहरु राखिएका छन् भने मनोरन्जनका लागि डीएबी रेडियो र ब्लुटुथयुक्त १०.१ इन्चको इन्फोटेनमेन्ट सिस्टम आदि उपलब्ध छ।
यसको डिलक्स भेरियन्टमा दिइएको पानारोमिक सनरुफ, हिटेड फ्रन्ट सिट, वायरलेस चार्जर, ३६० डिग्री क्यामेरा, थ्रीडी साउन्ड सिस्टम र रुफरेल लगायत फिचर कम्फर्ट भेरिएन्टमा भने पाउन सकिँदैन।
यसमा ड्राइभरका लागि ७ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, किलेस इन्ट्री र स्टार्ट, ड्राइभर लक्षित सिक्सवे र फ्रन्ट प्यासेन्जरका लागि फोरवे इलेक्ट्रिकल एड्जस्टेबल लेदर पावर सिटलगायत फिचर पाउन सकिन्छ।