नारी उत्सव मानिने तिज नजिकिँदै छ। भदौ २१ मा परेको यस वर्षको तिज आउन करिब १२ दिन मात्रै बाँकी छ। तिज नजिकिएसँगै कस्मेटिक सामग्री व्यवसायमा केही मात्रामा चहलपहल बढेको छ। चाडपर्व, बिवाह, ब्रतबन्ध, उत्सवको समयमा कस्मेटिक सामग्री प्रयोग बढी हुने गर्दछ। तर, कस्मेटिक सामाग्री बढी प्रयोग गर्ने युवा समूह बाहिरिएकाले व्यवसायमा धक्का पुगेको सौन्दर्य सामग्री व्यवसायीको छाता संगठन नेपाल कस्मेटिक व्यवसायी संघ अध्यक्ष ऋषिकेश तिमल्सिना बताउँछन्। आर्थिक मन्दीका कारण विगतका वर्षमा सौन्दर्य सामग्री व्यवसायमा संकुचन आएपनि यस वर्ष भने केही सकरात्मक देखिएको तिमल्सिनाको अनुमान छ। आर्थिक मन्दी सकिएको भनिए पनि १२ कक्षा पढेपछि युवा समूहको ठूलो संख्या बिदेसिने गरेको छ। युवा समूह मुलुकमा नअडिँदा अन्य क्षेत्रजस्तै सौन्दर्य व्यवसायमा पनि स्वाभाविक रुपमा असर परेको छ। खासगरी कस्मेटिक सामग्री व्यापार सधैं एकनासे हुँदैन। कुनै समय बढी र कुनै समय कम हुन्छ। शिवको महिना साउन, तिजलगायत चाडवाडमा यस्तो व्यापार बढ्ने गर्छ। सौन्दर्य सामग्री व्यवसायको वर्तमान अवस्था, चुनौती र बदलिँदो स्वरुपबारे क्यापिटल नेपालका कमला भण्डारीले तिमल्सिनालाई सोधेका ५ प्रश्नः
तिज पर्व नजिकिँदै छ। विगत वर्षको तिजमा कस्मेटिक व्यवसाय कस्तो थियो? यस वर्ष कस्तो हुँदै छ?
आर्थिक मन्दीको प्रभाव नेपालको कस्मेटिक व्यवसायमा पनि परेको छ। शृंगार सामान महिलाका लागि अनिवार्यजस्तै भएकाले चाडपर्वमा यसको व्यापार केही बढी हुनु स्वाभाविकै हो। भदौ २१ गते यस वर्षको तिज परेकाले करिब एक महिना अघिदेखि नै सौन्दर्य सामग्रीको व्यापारमा चहलपहल आउने गर्छ। हालसम्मको अवस्था हेर्दा विगत तुलनामा यस वर्षको व्यापार बढ्ने अनुमान छ। यद्यपि, आर्थिक मन्दीको असर अझै बाँकी रहेकाले धेरै व्यापार फस्टाउन सकेको छैन। महिलाले पर्वको रुपमा मनाउँदै आएको तिजमा आफ्ना साथी तथा आफन्तलाई उपहार दिने, जमघटको क्रम सुरु भइसकेको छ। यसले नै समग्र व्यापार बढाउन मद्दत गर्छ। तिज पर्वले दिदीबहिनी, साथीसंगीबीच एकापसमा भेटघाट र उपहार साटासाट गर्ने माहोल बनाइदिँदा सौन्दर्य प्रसाधनको बजार भदौ लागेसँगै उकालो चढेको छ।
चाडपर्व मनाउने प्रचलनमा परिवर्तन आएको देखिन्छ। चाडपर्वको बदलिँदो स्वरुप र टे«न्डसँगै व्यावसायीक वातावरणमा त्यसको प्रभाव कस्तो परेको छ?
अहिलेको बदलिँदो परिवेशमा रमाउने भनेको अहिलेको युवा समूह नै हो। नेपालमा ठुलो युवा समूह १२ कक्षा पढेपछि विदेशीने गरेका छन्। यसर्थ, यो युवा समूह मुलुकमा कम छ। बच्चा र बुढापाकाको संख्या मात्रै धेरै छ। परिवर्तित ट्रेन्ड पछ्याउने युवा समूह नै बाहिरिएकाले पनि त्यसको असर स्वभाविकरुपमा हाम्रो व्यवसायमा परेको छ। खासगरी, कस्मेटिक सामग्रीको व्यापार सँधै उस्तै रहँदैन। कुनै समय बढी र कुनै समय कम हुने गर्दछ। चाडपर्व, विवाह, ब्रतबन्ध, उत्सव हुने समयमा कस्मेटिक सामग्रीको प्रयोग बढी हुने गर्दछ। यस्तो समयमा चुरापोते, धागो बढी प्रयोग हुन्छ। अहिलेको नयाँ युवा समूह सिन्दुर, पोते, चुरा सँधै प्रयोग गर्दैनन्। तर, सौन्दर्य सामग्रीकाे व्यापार केही मात्रामा बढ्दै गएको छ। क्रिम पाउडर, गाजल, आइस्याडोलगायतका सामग्री प्रयोग भने विगतको तुलनामा बढेर गएको छ। तिजमा प्रयोग हुने चुरापोते र सिन्दुर व्यापारमा कमी आएको छैन।
सौन्दर्य सामग्री व्यवसायलाई दिगो बनाउन केमा ध्यान ‘फोकस’ गर्नुपर्छ?
पछिल्लो समय नेपालमा अनलाइन व्यवसाय फस्टाउँदै गएको छ। तर, यसमा गलत प्रयोग पनि भइरहेको छ। तस्बिरमा एउटा प्रोडक्ट देखाएर अर्को प्रोडक्ट लगिदिने काम भएको छ। कमसल सामग्री बेच्ने काम बढेको छ। सरकारी तबरबाटै यसलाई नियन्त्रण गनुपर्छ। उपभोक्ताले पनि आफूले खरिद गरेको सामग्री गुणस्तरीय भए/नभएको यकिन गरेर मात्रै किन्नुपर्छ।
कस्मेटिक व्यवसायमा दक्ष जनशक्ति अभाव पनि होला। यसलाई कसरी व्यवस्थापन गर्नुभएको छ?
अहिले कस्मेटिक व्यवसायमा नाफा राम्रो र काम सहज रहेको भन्दै प्रवेश गर्ने धेरै छन्। काम सुरु गरेर पूर्ण ज्ञान हासिल नगरी यो व्यवसायलाई निरन्तरता दिन नसकेर पछि छाड्ने मानिस पनि धेरै छन्। दक्ष जनशक्ति सिर्जना गर्न कस्मेटिक व्यावसायिक संघको तर्फबाट जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न विभिन्न समय छलफल भइरहेको छ। यो क्षेत्रमा व्यावसायिक वातावरण तयार गर्दै जान आवश्यक छ। सरकारले यो विषयमा खासै चासो दिएको देखिँदैन। सौन्दर्य व्यवसायका लागि स्थानीय तहबाट वडाहरूले तालिम दिने गरे पनि त्यसको खासै नतिजा देखिएको छैन। शृंगार सामग्री स्वास्थ्यसँग पनि सम्बन्धित हुने भएकाले यो व्यवसायमा सचेत रहनु आवश्यक छ। कम लगानी गरेर पनि कस्मेटिक व्यवसाय गर्न मिल्ने हुँदा धेरै मानिस यसमा आकर्षित भएका छन्। यस क्षेत्रमा प्रवेश गर्न चाहने र गरेका व्यक्तिका लागि उपयुक्त वातावरण तयार गरेर अगाडि बढ्न आवश्यक छ।
चाडपर्व नजिकिँदा कस्मेटिक सामग्रीको व्यापार बढी हुने गरेका छ। यसलाई कसरी व्यवस्थापन गर्नुहुन्छ?
मुस्लिम समुदायले पहिलेदेखि नै चुरापोते कारोबार गर्दै आएका छन्। अहिले पनि यो समुदायले यसलाई निरन्तरता दिएको छ। चुरापोते प्रायः भारतबाटै आयात हुने गर्दछ। तिजमा चुरापोते, धागो, शृंगार सामग्री बेचेर वर्षभरिकै कारोबार धान्नुपर्ने स्थिति छ। कस्मेटिक व्यवसायमा इन्द्रचोकबाटै ठूलो कारोबार हुने गर्दछ। व्यवसायीले चाडपर्वका लागि यस्ता सामग्री अग्रिम मगाएका हुन्छन् र खपत पनि बढी हुन्छ। हामीले एक–डेढ महिनाअघि नै मेलापर्वका लागि भनेर यस्ता सामान मगाइसकेका हुन्छौं। नक्कली गरगहना सुनजस्तै देखिने भएकाले सुन लगाउने चाहना पूर्ति नक्कली सुनबाट भएको छ। आर्थिक स्थिति कमजोर भएका र सुन लगाउने चाहना भएका सबै ग्राहकलाई नक्कली गरगहनाले सहयोग पुगेको छ।