काठमाडौं । वाणिज्य बैंकहरूका कर्मचारीले साढे १० अर्ब रुपैयाँ बोनस पाउँने भएका छन्। गत आर्थिक वर्षमा आर्जित कुल नाफाको १० प्रतिशतका दरले बैंकहरूले कर्मचारीलाई १० अर्ब ४६ करोड रुपैयाँ बोनस छुट्याएका हुन्।
बोनस ऐन २०३० अनुसार रोजगारादाता प्रतिष्ठानले आयकर तिर्नुअघिको कुल नाफाको १० प्रतिशत बोनश कर्मचारीलाई छुट्याउनुपर्छ। गत आर्थिक वर्षमा बैंकहरूले कुल ९४ अर्ब १४ करोड १९ लाख रुपैयाँ नाफा कमाएका थिए। जसबाट १० प्रतिशत बोनश कर्मचारीलाई र सरकारलाई ३६ प्रतिशत आयकर छुट्याएपछि बैंकहरूले ६४ अर्ब १५ करोड रुपैयाँ खुद नाफा कमाएका थिए।
कानुनी प्रावधानअनुसार कर्मचारीका लागि बैंकहरूले छुट्याएको बोनस अन्तिम लेखा परीक्षणपछि वार्षिक साधारणसभा सम्पन्न भए पश्चात बाढ्ने प्रचलन छ। तर, केही बैंकले आर्थिक वर्ष समाप्तपछि प्राप्त आम्दानीको आधारमा साउनको दोस्रो साताभित्र र केही बैंकले दसैंमा बोनस वितरण गर्छन्।
हाल वाणिज्य बैंकहरूमा कुल ४९ हजार २९ जना कर्मचारी कार्यरत छन्। सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये सबैभन्दा बढी प्रभु बैंकमा ४ हजार ४ सय २२ जना र सबैभन्दा कम स्ट्यार्ण्ड चार्टर्ड बैंकमा ४ सय ९६ जना कर्मचारी कार्यरत छन्। बैंकहरूले गत वर्षमा कर्मचारीलाई छुट्याएको बोनसलाई प्रति–कर्मचारी औषतमा २ लाख २६ हजार रुपैयाँ भाग पर्ने देखिन्छ ।
बैंकहरूले आर्जित नाफाबाट कर्मचारीलाई दिने बोनस औषतमा लाखौं रुपैयाँ देखिए पनि यस्तो रकम कर्मचारीको पद र कार्यअवधिको आधारमा फरक पर्छ।
गत वर्षको नाफाबाट सबैभन्दा बढी कर्मचारी बोनसमा नबिल बैंकले १ अर्ब रुपैयाँ र सबैभन्दा कम एनआइसी एशिया बैंकले २१ करोड ४५ लाख रुपैयाँ खर्च गर्न लागेका हुन्। एक मुष्टमा सबैभन्दा बढी नबिल बैंकले कर्मचारीालाई बोनस दिने देखिए पनि प्रतिकर्मचारी सबैभन्दा बढी बोनश स्ट्यान्डर्ड चार्टर्ड बैंकले प्रतिकर्मचारीे १० लाख ५८ हजार र एनआइसी एशिया बैंकका कर्मचारीले ५४ हजार रुपैयाँ पाउने देखिन्छ। कर्मचारी संख्या नै थोरै हुँदा बैंकले वितरण गर्ने बोनश पनि प्रतिकर्मचारी औषतमा बढी देखिएको हो।
गत आवको नाफाबाट प्रतिकर्मचारी औषतमा एभरेष्टले पौने ५ लाख, नबिलले ४ लाख ३८ हजार, प्राइमले ३ लाख ३६ हजार, सानिमाले पौने ३ लाख रुपैयाँ बोनस वितरण गर्नेछन्। बाँकीमध्ये १४ वटा बैंकले एक लाखमाथि साढे २ लाख रुपैयाँ बार्षिक बोनश दिने देखिन्छ।
बैंकहरूले आर्जित नाफाबाट कर्मचारीलाई दिने बोनस औषतमा लाखौं रुपैयाँ देखिए पनि यस्तो रकम कर्मचारीको पद र कार्यअवधिको आधारमा फरक पर्छ। साथै कर्मचारीका लागि बैंकले अपरिस्कृति वित्तीय विवरणका आधारमा छुट्याएका अनुमानित बोनस परिमाण अन्तिम लेखा परीक्षणपछि केही मात्रा तलमाथि पर्न सक्छ।
कर्मचारीमा तलबभत्ता र बोनसमै आधा अर्ब खर्च
आकर्षक तलबभत्ता र बोनसकै कारण निजामति सेवापछि बैंकिङ क्षेत्रको रोजगारीमा आकर्षण बढ्दो छ। गत आर्थिक वर्षमा वाणिज्य बैंकले कर्मचारीलाई बोनससहित तलबभत्तामा ६६ अर्ब ६ करोड ४० लाख रुपैयाँ खर्च गर्न लागेका हुन्। जसमा बोनसको हिस्सा मात्रै १८.८१ प्रतिशत रहेको छ।
बैंकहरूले गत आर्थिक वर्षमा तलबभत्तामा कुल ५५ अर्ब ६० करोड ३७ लाख खर्च गरेका छन्। जसमा सबैभन्दा बढी कर्मचारीमा खर्च एनआइसी एशियाले ४ अर्ब २१ करोड ७३ लाख रुपैयाँ गर्दा सबैभन्दा कम स्ट्याण्र्डर्ड चार्टर्डको १ अर्ब ६ करोड १३ लाख रुपैयाँ भएको देखिन्छ।
गत वर्ष कर्मचारीको तलबभत्ता र बोनसमा मात्रै सबैभन्दा बढी प्रभु बैंकले ४ अर्ब ७६ करोड ९७ लाख रुपैयाँ खर्च गर्दा सबैभन्दा कम स्ट्याण्डर्ड चार्टर्ड बैंकले १ अर्ब ५८ करोड ६६ लाख रुपैयाँ खर्च गरेको थियो। तर, कर्मचारीलाई बोनसमा भने तलबभत्ताको स्ट्याण्डर्ड चार्टर्डले ४९.४९ प्रतिशत र प्रभु बैंकले १९.६६ प्रतिशत खर्च गर्न लागेका हुन्।
कर्मचारीलाई बोनसमा सबैभन्दा बढी खर्च गर्ने बैंकको दोस्रो नम्बरमा प्राइम कर्मसियल बैंकले ३९.५६ प्रतिशत अर्थात् ६० करोड ३१ लाख र एभरेष्ट बैंकले ३७.४२ प्रतिशत अर्थात् ६२ करोड २३ लाख रुपैयाँ कर्मचारी बोनस दिन लागेका हुन्।
वाणिज्य बैंकहरूको कर्मचारी संख्या, तलब भत्ता र बोनस खर्च विवरण