काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले नेपाल राष्ट्र बैंकसँग दैनिक ३० किलो सुन आयात गर्न पाउनुपर्ने व्यवस्थासहित १४ बुँदे माग गरेको छ।
महासंघका अध्यक्ष अर्जुन रसाइली नेतृत्वको टोलीले शुक्रबार ‘सुन आयात तथा बिक्री वितरण सम्बन्धी कार्यविधि २०६८’ तत्काल परिमार्जन गरी समसामयिक र व्यवहारिक बनाउन राष्ट्र बैंकसँग आग्रह गरेको हो।
महासंघ अध्यक्ष रसाइलीले राष्ट्र बैंकको विदेशी विनिमय विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपाललाई १४ बुँदे ज्ञापन पत्र बुझाउँदै २०६८ सालमा जारी गरी हालसम्म लागू गरिँदै आएको ‘सुन आयात तथा बिक्री वितरण सम्बन्धी कार्यविधि २०६८’ अव्यवहारिक भएको र यसले आम सुनचाँदी व्यवसायीको समस्या सम्बोधन गर्न नसकेको भन्दै व्यवसायीका समग्र समस्या समाधानमा सहयोग पुग्ने गरी प्रभावकारी आचार संहिता जारी गर्न आग्रह गरे।
बजारको माग अनुसार सुनको आपूर्ति व्यवस्था सुनिश्चित नहुँदा व्यवसायीले धेरै समस्या बेहोर्नु परेको उल्लेख गर्दै अध्यक्ष रसाइलीले पर्याप्त मात्रामा सुनको आपूर्ति व्यवस्था सुनिश्चित गर्न, सदस्य संख्या र पान नम्बरको आधारमा सुनको वितरण गर्ने वातावरण मिलाउन, तोकिएका नाका नाकाबाट १००, २०० र ५०० ग्रामका सुन उपलब्ध गराउन, एउटै बैंकको खाताबाट जुनसुकै बैंकको सुन उठाउन मिल्ने व्यवस्था गर्न आग्रह गरेका थिए।
यस्तै भन्सार दरमा एकरूपता आउने वातावरण बनाउनका लागि सहजीकरण गर्न महासंघको आग्रह छ। आयात गर्न सकिने दैनिक सुनको परिणाम व्यवसायीका लागि ३० किलो र उद्योग तथा ठूला करदाता एवं व्यवसायीका लागि २० किलो बनाउन, बैंकले सुन आयात गरेपश्चात् सम्बन्धित महासंघको सिफारिसमा कम्तीमा ३० दिनभित्र बैंकबाट सुन उठाइसक्नु र सो अवधिमा नउठेमा ३१औं दिनदेखि महासंघसँगको समन्वयमा सिफारिस विना बैंकले सुन बिक्री गर्न पाउने व्यवस्था गर्न र दैनिक आयात हुने सुन बजारको माग तथा आवश्यकता कुनै अनुरूप हुने गरी कम्तीमा ६ महिनासम्ममा आयात गर्न पाउनु पर्ने महासंघको माग छ।
त्यसक्रममा सम्बन्धित महासंघसँगको सल्लाह र सहकार्यका आधारमा बजारको माग अनुरूप बैंकर्ष संघले सुन आयात गर्नुपर्ने, आयात गर्न स्वीकृत सुन मगाउन कति बाँकी छ भन्ने अग्रिम र आधिकारिक सूचना सम्बन्धित महासंघलाई दिने व्यवस्था मिलाउन तथा बागमती प्रदेश बाहेक चितवन, इटहरी, विरगन्जलगायत कार्य विधिमा तोकिएका मुख्य सहरमा बिक्री वितरण गर्ने व्यवस्थालाई प्रभावकारी बनाउन र भारतमा हालै बजेट वक्तव्यमार्फत सुनको भन्सार दर घटाई जम्मा ६ प्रतिशत कायम गरिएको विद्यमान अवस्थामा नेपालमा भने २० प्रतिशत कायम रहेकोले अर्थ मन्त्रालय, भन्सार विभागलगायत निकायमा आवश्यक समन्वय गरी भन्सार दर घटाई व्यवहारिक बनाउन महासंघले माग गरेको छ।
भेटमा कार्यकारी निर्देशक नेपालले महासंघको तर्फबाट राखिएमा मागलाई आफूले गम्भीरतापूर्वक लिएको र सम्बोधनका लागि पहल गर्ने आश्वासन दिएका थिए। सरोकारवाला निकायबीच आवश्यक परामर्श गरी व्यवसायीका माग सम्बोधन गरिने उनको भनाइ थियो। भेटमा महासंघका तर्फबाट महासचिव किरणभाई बज्राचार्य, कोषाध्यक्ष सुदिप श्रेष्ठलगायत पनि सहभागी थिए।