क्यापिटल नेपालले मुख्य आर्थिक समाचारलाई प्राथमिकता दिएर सुरु गरेको साताभरका प्रमुख आर्थिक खबर नामक स्तम्भ। यस्ता छन्, संक्षेपमा साताभरका मुख्य–मुख्य आर्थिक समाचारः
सर्वोच्च अदालतले ३० वर्षे सेवा अवधिका कारण अवकाशमा जान लागेका प्रहरी अधिकारीलाई तत्काल अवकाश नदिन अन्तरिम आदेश जारी गरेको छ। भदौ ६ मा सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले भदौ १६ मा अवकाश हुन लागेका २१ प्रहरी अधिकारीले दिएको रिटमाथि सुनुवाइ गर्दै उनीहरुलाई अवकाश नदिन अन्तरिम आदेश दिएको हो। सर्वोच्चले यसअघि बृहत पूर्ण इजलासले दिएको निर्देशनात्मक आदेश पालना भएको नदेखिएको भन्दै उनीहरुको हकमा जिम्मेवारी परिवर्तन नगराउन पनि अन्तरिम आदेश दिएको छ। सर्वोच्चले यो विवादमा विपक्षीसँग लिखित जवाफ माग गरेको छ र १० असोजमा पूर्ण सुनुवाइका लागि पेस गर्न पनि आदेश दिएको छ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले बेचन झालाई थुना पठाउन आदेश दिएको छ। भदौ २ मा न्यायाधीश तीर्थराज केसीको इजलासले उनलाई धरौटीमा रिहा गर्न अस्वीकार गर्दै पुर्पक्षका लागि थुना पठाउने आदेश गरेको हो। झाविरुद्ध ठगी, लिखत किर्ते, राज्यविरुद्ध र संगठित अपराध सम्बन्धी कसुरमा प्रतिवादी कायम गरिएको छ।
राष्ट्रिय सभाले पनि संक्रणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक पारित भएको छ। भदौ ६ मा बसेको राष्ट्रिय सभा बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित पारित व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको हो। यसअघि उक्त विधेयक प्रतिनिधिसभाबाट पारित भएको थियो। त्यसपछि राष्ट्रिय सभामा पेस गरिएको थियो। अब यो विधेयक सभामुख हुँदै राष्ट्रपतिकहाँ पुग्नेछ। राष्ट्रपतिले प्रमाणीकरण गरेपछि कानुन बन्नेछ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत पाएका छन्। भदौ ४ मा बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मतको प्रस्ताव राखेकामा पक्षमा ७० र विपक्षमा ११ मत परेको हो। कुल ८७ सदस्यीय प्रदेशसभामा एमालेका २९ र कांग्रेसका २७, जनमतका तीन, लोसपाका तीन, जसपाका दुई, जसपा नेपालका एक र नाउपाका चार सांसद छन्।
यो साता सेयर बजारमा २६ अंकको गिरावट आएको छ। साताको तीन कारोबार दिनमा दुई दिन बढेर एक दिन घट्दा सेयर बजार २६.३५ अंकले घटेर २९७४.४६ बिन्दुमा सीमित भएको छ। गत साताको पाँच कारोबार दिन एक दिन घटेर चार कारोबार दिन बढ्दा २३४.४३ अंकले बढेर सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३०००.८१ बिन्दुमा रोकिएको थियो। यस साता नेप्सेमा कुल ६५ अर्ब ७५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। गत साता भने नेप्सेमा कुल १ खर्ब २५ अर्ब २० करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।
भारतले नेपालका एक दर्जन जलविद्युत् आयोजनाबाट थप २५१ मेगावाट बिजुली खरिद गर्ने भएको छ। अन्तरदेशीय व्यापार उद्देश्यले भारतको तोकिएको प्राधिकरणले नेपालका १२ जलविद्युत् आयोजनाबाट उक्त परिमाणमा विद्युत् निर्यातका लागि स्वीकृति दिएको काठमाडौंस्थित भारतीय दूतावासले भदौ ३ मा जानकारी दिएको हो। नेपालले पहिलो पटक बिहारमा मध्यकालीन विद्युत् बिक्री सम्झौतामार्फत विद्युत् निर्यात गर्नेछ। यसले कुल स्वीकृत परिमाण ६९० मेगावाट (१६ वटा आयोजना) बाट ९४१ मेगावाट (२८ आयोजना) पुग्नेछ।
सरकारले सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध सर्तसहित खुलाएको छ। भदौ ६ को मन्त्रिपरिषद् बैठकले टिकटकमा लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय हो। यसअघि पुष्पकमल दाहाल नेतृत्वको सरकारले विभिन्न कारण देखाएर सामाजिक विकृति बढेको भन्दै २०८० कात्तिक २७ देखि टिकटक बन्द गरेको थियो।
नेपाल विद्युत् प्राधिकरणले ७५३ मध्ये ५३९ पालिकामा शतप्रतिशत विद्युत् सेवा पुगेको तथ्यांक सार्वजनिक गरेको छ। प्राधिकरणले भदौ ४ मा सार्वजनिक गरेको तथ्यांकअनुसार १९६ स्थानीय तहमा आंशिक विद्युतीकरण भएको छ भने १८ स्थानीय तहमा प्राधिकरणको राष्ट्रिय प्रसारण पहुँच पुग्न सकेको छैन। प्राधिकरणले मुलुकभरका स्थानीय तहका गाउँपालिका र नगरपालिकाका वडासम्मको विस्तृत अध्ययन गरी तयार पारेको विद्युतीकरण तथ्यांक, २०८१ अनुसार कुल जनसंख्याको ९९ प्रतिशतमा विद्युत् पुगेको छ। ७५३ स्थानीय तहमध्ये ५९० मा ९५ देखि शतप्रतिशतसम्म विद्युतीकरण भएको छ । ७२ स्थानीय तहमा ७५–९५ प्रतिशतसम्म विद्युतीकरण भएको छ। ३३ प्रतिशत स्थानीय तहमा ५०–७५ प्रतिशतसम्म, २६ स्थानीय तहमा २५–५० प्रतिशतसम्म र ३२ स्थानीय तहमा ०–२५ प्रतिशतसम्म विद्युतीकरण गरिएको छ।
सरकारले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा लिइएको ऋणलाई अनुदानमा परिणत गर्न चीन सरकारलाई पत्र लेखेको छ। भदौ ६ मा नेपाल भ्रमणमा आएका चीन अन्तर्राष्ट्रिय विकास सहयोग निकायका उपाध्यक्ष याङ वेईकुनमार्फत अर्थ मन्त्रालयले चीन सरकारलाई पोखरा विमानस्थल निर्माण गर्दा चिनियाँ एक्जिम बैंकमा लिइएको करिब २६ अर्ब रुपैयाँ ऋणलाई अनुदानमा परिणत गर्न पत्र काटेको हो। अर्थमन्त्री विष्णु पौडेलको उपस्थितिमा मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्माले चीन अन्तर्राष्ट्रिय विकास सहयोग निकायका उपाध्यक्षलाई हस्तान्तरण गरेका हुन्। अर्थमन्त्री पौडेलले चीन नेपालको असल छिमेकी भएको नाताले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा लिइएको ऋणलाई अनुदानमा बदल्न चिनियाँ सरकारसँग आग्रह गरेका थिए। सरकारले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि चीनसँग १३३८.७४ मिलियन चिनियाँ युआन ऋण लिएको थियो। पोखरा विमानस्थल निर्माण सम्पन्न भए पनि हालसम्म बिजनेसविहीन छ।
पृथ्वी राजमार्गअन्र्तगत तनहुँको आँबुखैरेनी नजिकै भारतीय नम्बर प्लेटको बस मर्स्याङ्दी नदीमा खस्दा २७ यात्रुको मृत्यु भएको छ भने १६ जनालाई उद्धार गरेर अस्पताल पठाइएको तनहुँ प्रहरीले बताएको छ। भदौ ७ गते बिहान साढे ११ बजे पोखराबाट ४० यात्रुसहित काठमाडौं आउँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको भारतीय बस तनहुँको आँबुखैरेनीस्थित मर्स्याङ्दी नदीमा खस्दा २७ जनाले ज्यान गुमाएका हुन्। बस आबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित सडकबाट भारतीय बस मर्स्याङ्दीमा खसेको हो। मर्स्याङ्दीमा खसेको बससहित यात्रुको उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी प्रवक्ता डिएसपी दीपककुमार रायले बताए। घटनास्थल पृथ्वी राजमार्गको आँबुखैरेनी–मुग्लिन सडक खण्डमा पर्छ।