काठमाडौं । ऋणीले कर्जा सम्झौताअनुसार समयमै साँवाब्याज भुक्तानी नगर्दा अधिकांश बैंकहरूको कुल निष्कृय कर्जा (ग्रस एनपिएल) ५ प्रतिशत हाराहारी पुगेको छ। तर, बैंकहरूले निष्कृय कर्जा व्यवस्थापन गर्न अर्बौं रुपैयाँ छुट्याएर लगानीकर्ताको हात खाली बनाउन लागेका हुन्।
बैंकहरूले आफूले गरेको आम्दानी खराब कर्जा व्यवस्थापनमा लगाएर खुद निष्कृय कर्जा (नेट एनपिएल) घटाइरहेका छन्। गत आर्थिक वर्षमा २० बैंकहरूको ग्रस एनपिएल ३.५३ प्रतिशत छ भने अधिकांशको ३ देखि ५ प्रतिशत छ।
गत वर्ष ऋणीले कर्जा सम्झौताअनुसार नतिरे पनि बैंकहरूले नियामकीय प्रावधानअनुसार कर्जा नोक्सानी व्यवस्था (प्रोभिजन)बापत करिब ३७ खर्ब रुपैयाँ खर्च गरे। यसको प्रभावमा बैंकहरूको औषत नेट एनपिएल १.२० प्रतिशत कायम भएको छ।
बैंकहरूले ३६ अर्ब ९६ करोड ३२ लाख रुपैयाँ प्रोभिजन गरेर ग्रस एनपिएल २.३३ प्रतिशत बिन्दुले घटाएका हुन्।
नेपाल राष्ट्र बैंकले गत वर्षको दोस्रो त्रैमास (पुस) देखि नेट एनपिएलको तथ्यांक सार्वजनिक गर्न थालेको छ। त्यसअघिसम्म राष्ट्र बैंकले ५ प्रतिशत माथि निष्कृय कर्जा हुने बैंकलाई शीघ्र सुधारात्मक (पिसिए) कारबाही गर्दै विभिन्न सेवा–सुविधाबाट वञ्चित गथ्र्यो। तर, उक्त अवधिमा अधिकांशको एनपिएल ३ प्रतिशत माथि साढे ५ प्रतिशतसम्म पुगेपछि राष्ट्र बैंकले एनपिएलमार्फत बैंकको मूल्यांकन विधि परिवर्तन गरेको हो।
गत आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकहरूको औषत ग्रस एनपिएल ३.६३ प्रतिशत हुँदा नेट एनपिएल १.१३ प्रतिशत थियो। उक्त अवधिमा बैंकहरूले कुल २७ अर्ब ३७ करोड १४ लाख रुपैयाँ प्रोभिजन गरेर २.५ प्रतिशत बिन्दुले एनपिएल घटाएका थिए।
कुल एनपिएलमा पर्याप्त प्रोभिजन गर्ने बैंकहरू आन्तरिक रुपमा जोखिममुक्त रहेको हुँदा त्यस्ता बैंकलाई एनपिएलकै कारण पिसिए लगाउन आवश्यक नरहेको राष्ट्र बैंकका प्रवक्ता रामु पौडेल बताउँछन्।
‘अहिले एनपिएल बढी भएकै कारण बैंक कुनै कारबाहीमा पर्दैनन्। कुल एनपिएल बढेर त्यसमा पर्याप्त प्रोभिजन गरे जोखिम कम हुन्छ र नेट एनपिएल कम हुन्छ,’ पौडेलले क्यापिटल नेपालसँग भने, ‘एनपिएल बढी भए पनि पुँजी बलियो भएका बैंकले जोखिम व्यवस्थापन गर्न सक्छन्। यसैले पुँजीको ‘नम्स’ पालना नभए मात्रै पिसिए लगाउँछौं।’
गत वर्ष समग्र अर्थतन्त्रमा आएको सुस्तताको प्रभावले ऋणीले तिर्न नसके पनि बैंकहरूले त्यसमा धेरै प्रोभिजन गर्दा जोखिम व्यवस्थापन भएको उनको भनाइ छ।
गत आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकहरूको औषत ग्रस एनपिएल ३.६३ प्रतिशत हुँदा नेट एनपिएल १.१३ प्रतिशत थियो। उक्त अवधिमा बैंकहरूले कुल २७ अर्ब ३७ करोड १४ लाख रुपैयाँ प्रोभिजन गरेर २.५ प्रतिशत बिन्दुले एनपिएल घटाएका थिए।
तेस्रो त्रैमासमा औषत ३.८९ प्रतिशत रहेको ग्रस एनपिएलमा ३९ अर्ब ८७ करोड ६३ लाख रुपैयाँ प्रोभिजन गरेर २.७५ प्रतिशत बिन्दुले एनपिएल घटाएर नेट एनपिएल १.१४ प्रतिशत कायम गरेका थिए।
के हो ग्रस र नेट एनपिएल?
ऋणीले समयमै किस्ता नबुझाउँदा त्यस्ता ऋणमा बैंकले राष्ट्र बैंकले निर्धारण गरेको कर्जा प्रोभिजन गर्नुपर्छ। प्रवाहित कर्जामा १.१० प्रतिशतदेखि शतप्रतिशतसम्म आर्जित नाफाबाट प्रोभिजन गर्नुपर्ने प्रावधान राष्ट्र बैंकको छ। ऋणीले कर्जाको साँवाब्याज बुझाउन ढिलाइ गरेअनुसार बैंकहरूले त्यस्तो कर्जालाई सूक्ष्म निगरानी, कमसल, शंकास्पद र खराब कर्जामा वर्गीकरण गर्नुपर्छ। यसरी प्रोभिजन गरिसकेको निष्कृय कर्जा खुद निष्कृय कर्जा हो।
राष्ट्र बैंकको प्रावधानअनुसार बैंकहरूले ऋणीले साँवा ब्याज भुक्तानी गर्न भाखा नाघेको ३ महिना भएका कर्जालाई सूक्ष्म निगरानीमा राखेर ५ प्रतिशत, ३ भाखा नाघेको महिनादेखि ६ महिनासम्मका कर्जालाई कमसल कर्जामा राखेर २५ प्रतिशत, ६ महिनादेखि १ वर्षसम्म भाखा नाघेको कर्जालाई शंकास्पदमा राखेर ५० प्रतिशत र १ वर्षभन्दा माथि कर्जाको साँवाब्याज नतिरेका कर्जालाई खराब कर्जामा वर्गीकरण गरेर शतप्रतिशत प्रोभिजन गर्नुपर्छ। वर्गीकरणअनुसार प्रोभिजनपछि रहेको नेट एनपिएल हो।
गत वर्ष ग्रस एनपिएलमा प्रशस्त प्रोभिजन गरेर नेट एनपिएल तल्लो सीमामा राख्न सफल भएको प्रभु बैंकका सीईओ अशोक शेरचन पनि लगानीकर्तालाई भन्दा अघि निक्षेपकर्तालाई प्राथमिकतामा राखेको बताउँछन्।
ऋणीले भाखाभित्र नतिरेको सबै कर्जा ग्रस एनपिएल हुन्। बैंकहरूको ग्रस एनपिएलभन्दा नेट एनपिएल बढी हुँदैन। नियामकीय व्यवस्थाअनुसार जति धेरै प्रोभिजन गरिएको हुन्छ, खुद निष्कृय कर्जा अनुपात पनि त्यति कम आउँछ।
ग्रस एनपिएलमार्फत बलिया देखिँदै बैंक
कुनै पनि बैंकमा ऋणीले कर्जा नतिर्दा भएको कुल निष्कृय कर्जामा प्रोभिजन गर्दा खुद नाफा घट्ने र सेयरधनीलाई वितरण गर्ने लाभांश प्रभावित हुन्छ। तर, बैंकले निष्कृय कर्जामा गरेको प्रोभिजन ऋणीले नियमित कर्जा तिर्न थालेपछि पुनः बैंकले नाफामा फिर्ता गरेर सेयरधनीलाई प्रतिफलका रुपमा लाभांश वितरण गर्न पाउँछन्।
गत आर्थिक वर्षमा ग्रस एनपिएल धेरै भए पनि त्यसमा प्रसस्त प्रोभिजिन गरेर नेट एनपिएल थोरै कायम गर्ने बैंकको सूचीको पहिलो नम्बरमा कुमारी बैंक छ। बैंकले असारमा ४.९५ रहेको ग्रस एनपिएलमा कुल साढे ३ अर्ब रुपैयाँ बढी प्रोभिजिन गरेर ४.४७ प्रतिशत बिन्दुले एनपिएल घटाइ नेट एनपिएल ०.४८ प्रतिशत कायम गरेको हो।
नाजुक आर्थिक परिस्थितिबाट गुज्रिएको समय बैंकले ऋणीलाई असुलीमा दवाब नदिई नाफाबाट जोखिम व्यवस्थापन गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल बताउँछन्।
‘हामीले ऋणीलाई असुलीमा दवाब नदिएकै हो। त्यसले ग्रस एनपिएल बढ्यो तर जोखिम व्यवस्थापन गर्न सेयरधनीलाई वितरण गर्ने नाफाबाट शतप्रतिशतसम्म प्रोभिजन गरेका छौं,’ बैंकका सीईओ पौडेलले क्यापिटल नेपालसँग भने, ‘विगत वर्ष हेर्ने हो भने सबैभन्दा धेरै प्रोभिजन गर्ने बैंकमा कुमारी पर्छ, अहिले गरेको प्रोभिजन ऋणीले तिरेपछि सेयरधनीलाई लाभांश वितरण गर्न मिल्छ। धेरै भएको एनपिएलको जोखम व्यवस्थापन हाम्रो पहिलो प्राथमिकता हो।’
गत वर्ष ग्रस एनपिएलमा प्रशस्त प्रोभिजन गरेर नेट एनपिएल तल्लो सीमामा राख्न सफल भएको प्रभु बैंकका सीईओ अशोक शेरचन पनि लगानीकर्तालाई भन्दा अघि निक्षेपकर्तालाई प्राथमिकतामा राखेको बताउँछन्। गत वर्षको असारमा बैंकको ग्रस एनपिएल ४.४७ प्रतिशत कायम छ।
यसमा बैंकले ५५ करोड ६८ लाख रुपैयाँ प्रोभिजन गरेको छ। लगानीकर्तालाई लाभांश खुवाउने वितरण योग्य नाफाबाट निक्षेपकर्ताको पैसाबाट लिइएको नउठेको कर्जाको जोखिम व्यवस्थापन गरेको सीईओ शेरचनको भनाइ छ।
‘ग्रस एनपिएल बढी भएपनि नेट एनपिल कम भएको बैंक निक्षपकर्ताको निक्षेप सुरक्षाका हिसाबले राम्रो बैंक हो। हामीले पनि पहिलो प्राथमिकतामा निक्षेपकर्ताको निक्षेप जोखिम व्यवस्थापन गरेका हौं,’ सीईओ शेरचनले क्यापिटल नेपालसँग भने, ‘लगानीकर्ता रुष्ट बनाएरै भए पनि निक्षेपकर्ताको हित लक्षित व्यवसाय गरेका छौं।’
नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष भुवन दाहालसमेत बैंकहरूको जोखिम व्यवस्थापन क्षमता ग्रस एनपिएलमा गरेको प्रोभिजनपछि कायम नेट एनपिएलको तथ्यांकले देखाउने बताउँछन्।
‘ग्रस एनपिएल हेरेर कुनै बैंकको अवस्था खत्तम भयो भन्नुको सट्टा त्यसको नेट एनपिएल हेरेर निक्षेपकर्ताको निक्षेप कति छ, त्यसको मूल्यांकन गर्नु आवश्यक हुन्छ,’ दाहाल भन्छन्, ‘ऋणीले बैंकलाई नतिरेपनि बैंकले त्यसको जोखिमलाई व्यवस्थापन गरिरहेको म्यासेज नेट एनपिएलले दिन्छ।’
बैंक तथा वित्तीय संस्थाको मुख्य आम्दानीको स्रोत भनेकै कर्जा दिएबापत ऋणीले भुक्तानी गर्ने ब्याज हो। बैंकले सर्वसाधारणसँग निक्षेप लिएर त्यसमा केही प्रतिशत स्प्रेड कायम गरी खर्बौं कर्जा दिएर अबौं ब्याज आम्दानी गरिरहेका छन्। तर, ऋणीले तोकिएको समयमा किस्ता नतिर्दा बैंकहरूले नोक्सानी व्यवस्थामा खर्च गर्नुपरेकै कारण कतिपयको वितरणयोग्य नाफा नकारात्मक छ।
गत वर्षको अपरिस्कृत वित्तीय विवरणअनुसार वाणिज्य बैंकहरूले कुल २५ अर्ब २३ करोड ९५ लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएका थिए। ४ बैंकको वितरणयोग्य नाफा २ अर्ब माथि ६ अर्बसम्म नकारात्मक हुँदा यस्तो नाफा पौने १३ अर्बमा सीमित भएको छ।
उक्त अवधिमा हिमालयनको ५ अर्ब ७८ करोड, नेपाल इन्भेष्टमेन्ट मेगाको ३ अर्ब ४३ करोड, कुमारीको ३ अर्ब ३४ करोड र एनआईसी एसिया बैंकको २ अर्ब ३० करोड वितरणयोग्य नाफा नकारात्मक छ। यी बैंकको वितरणयोग्य नाफा नकारात्मक हुँदा चालू वर्षमा सेयरधनीलाई लाभांश वितरण गर्न पाउँदैनन्।