काठमाडौं । ट्रेकिङ एजेन्सी सञ्चालकमा चुनावी सरगर्मी चहलपहल बाक्लिएको छ। प्रत्येक २/२ वर्षमा नेतृत्व परिवर्तन हुँदै आएको ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल(टान)को निर्वाचन मिति नजिकिएसँगै प्यानल बनाएरै उम्मेदवार प्रचार–प्रसारमा होमिएका हुन्।
२ हजार ४०० सदस्य रहेको टानको निर्वाचन भदौ १७ मा हुँदै छ। पर्वतीय पर्यटन क्षेत्रमा क्रियाशील व्यवसायीबीच निर्वाचन हुने भनिए पनि अहिले विभिन्न राजनीतिक दलले आफू निकटलाई जिताउन प्यानल घोषणा गरेका छन्।
प्यानलअनुसार जसरी सत्ता गठबन्धन चलेको छ, त्यहीअनुसारले टान निर्वाचनमा उम्मेदवार तय गरेको छ। टान निर्वाचनमा सत्ताघटक नेपाली कांग्रेस र नेकपा एमालेले एउटा प्यानल र प्रतिपक्षी नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध व्यवसायीबीच प्रतिस्पर्धा हुने निश्चित देखिएको छ।
सत्तापक्षबाट राजेन्द्रप्रसाद सापकोटाको नेतृत्वमा प्यानल घोषणा भएको छ। अध्यक्षका उम्मेदवार सापकोटाको टिममा वरिष्ठ उपाध्यक्ष कर्मा शेर्पा, प्रथम उपाध्यक्षमा विष्णुप्रसाद लम्साल, द्वितीय उपाध्यक्ष सनम शेर्पा, महासचिवमा राजेन्द्रप्रसाद सुवेदी, सचिवमा रिन्जी जाग्बु शेर्पा, कोषाध्यक्षमा गौतमराज वाग्ले र सह–कोषाध्यक्षमा लाक्पा तेम्बा शेर्पा रहेका छन्।
२ हजार बढी सदस्य रहेको टानको निर्वाचन सेप्टेम्बर २(भदौं १७) मा हुँदै छ। पर्वतीय पर्यटन क्षेत्रमा क्रियाशील व्यवसायीबीच निर्वाचन हुने भनिए पनि अहिले विभिन्न राजनीतिक दलले आफू निकटलाई जिताउन प्यानल घोषणा गरेका छन्।
यस्तै सदस्यमा महिलातर्फ पवित्रा तामाङ र पुरुषतर्फ सागर राई छन्। खुल्ला सदस्यमा विश्व दाहाल, दिनेश तिमलसिना, राजु गुरुङ, छेपेट लामा, भुवनबहादुर खड्का र दावाग्याल्जेन लामा रहेका छन्।
प्रतिपक्षका तर्फका उम्मेदवार पाण्डे समूहबाट वरिष्ठ उपाध्यक्षमा चोलेन्द्र बहादुर कार्की, प्रथम उपाध्यक्षमा दावा लामा र द्वितीय उपाध्यक्षमा निशेष थापा, महासचिवमा सोनाम शेर्पा, सचिवमा सजना त्रिपाठी, कोषाध्यक्षमा गणेशप्रसाद न्यौपाने र सहकोषाध्यक्षमा डम्बर अधिकारी रहेका छन्। सदस्यमा माधवकुमार धमला, विनोदकुमार तामाङ, सृष्टि भण्डारी, फुर्बु छिरिङ भोटे, उत्सव ढकाल, शिवप्रसाद सिलवाल र अम्बिरबहादुर गुरुङ छन्।
सत्ता अनुकूल हुँदा नेतृत्वलाई हुन्छ सहज?
सत्ता अनुकूल नेतृत्व हुँदा सरकारी कामकाजमा सहज हुन्छ भन्ने उदाहरण टानको वर्तमान नेतृत्वबाटै प्रष्ट हुन्छ। २०७९ साउन ३१ गते भएको निर्वाचनमा माओवादी केन्द्रका उम्मेद्धवारलाई हराउदै नेपाली कांग्रेस र एकीकृत समाजवादीबाट बनेको संयुक्त प्यानलबाट विजयी निलहरि बास्तोला(निलम)ले तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीलाई भेट्नसमेत पाएनन्।
माओवादीबाट पर्यटनमन्त्री बनेका किराँतीले आफ्नो पक्षका उम्मेदवार हराएको ‘इगो’ लिएर भेट समय नदिएपछि अध्यक्ष बास्तोला निरास भएका थिए। पछि माओवादी–कांग्रेसबीचको सरकार निर्माण भएपछि भने केहीह सहज भएको उनी निकट व्यवसायीको भनाइ छ।
नेतृत्वमा आएपछि सरकारसँग खासगरी पर्यटन क्षेत्रको तालुकदार मन्त्रालय पर्यटनसँग निकट भएर काम गर्नुपर्ने हुन्छ। मन्त्रीहरुले पनि आफू निकटको हो या हैन भनेर हेर्ने प्रवृत्तिका कारण व्यवसायिक संघ–संस्था पछिल्लो समय राजनीतिक दलजस्तै हुन थालेको चर्चा व्यवसायीवृत्तमा चल्न थालेको छ। कतिपय अवस्थामा राजनीतिक दलको पार्टी कार्यालयबाटै उम्मेदवार चयन गर्ने गरिएको छ। खासगरी पर्यटन क्षेत्रका संघ–संस्थामध्ये टान र नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)मा प्रत्यक्ष रुपमा राजनीतिक हस्तक्षेप हुने गरेको छ।
वर्तमान अवस्थामा पर्यटनमन्त्री नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे रहेका छन्। त्यसैले पनि सत्ता घटकले कांग्रेस निकट सापकोटालाई अगाडि सारेको व्यवसायीको भनाइ छ।