काठमाडौं । नयाँ सरकार तथा खुकुलो मौद्रिक नीतिले सेयर बजार र अर्थतन्त्र चलायमान बनेको निजी क्षेत्रले बताएको छ। एमाले निकट उद्योग तथा व्यवसायी महासंघले काठमाडौंमा आयोजना गरेको ‘नेपालको अर्थतन्त्रको विस्तार र विकास’ विषयक छलफलमा सहभागी नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सको नेतृत्वले नयाँ सरकार बनेपछि सेयर बजार र अर्थतन्त्रले गति लिन लागेको प्रतिक्रिया दिएको हो।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले नयाँ सरकार बनेसँगै समग्र अर्थतन्त्र चलायमान बनेको धारणा व्यक्त गरे। खासगरी नयाँ सरकार र मौद्रिक नीतिले सेयर बजारसहित समग्र क्षेत्र सुधारमा उत्साह देखिएको उनको भनाइ छ।
‘सरकारले अर्थतन्त्र सुधारका लागि उच्चस्तरीय आयोग बनाउने विषय स्वागतयोग्य छ। यो हामीले लामो समयदेखि उठाउँदै आएको माग हो’, अध्यक्ष ढकालले भने, ‘सरकारको यो तत्परताले निजी क्षेत्रमा आत्मबल बढेर गएको छ।’
लगानी सम्मेलनको समय कानुन निर्माण र परिवर्तन गर्न सबै दल तयार भएको विषयले निजी क्षेत्रलाई प्राथमिकतामा दिएको आवास भएको उनले बताए। ‘सेयर बजार उत्साहित भएको छ भने घरजग्गा कारोबार पनि बढ्दै गएको छ’, अध्यक्ष ढकालले भने, ‘निजी क्षेत्र संकुचित बन्दा रोजगारी र अर्थतन्त्रमा असर परेको थियो। तर, अब यो समग्र विषय सुदृढीकरणको बाटोमा अगाडि बढेका छन्।’
सरकारको छोटो अवधिले नै आगामी अर्थतन्त्र राम्रो बन्दै जाने देखाएको ढकालको तर्क छ।
यस्तै, उद्योग परिसंघ अध्यक्ष राजेश कुमार अग्रवालले पछिल्लो समय निजी क्षेत्रलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्ने विषय सार्वजनिक हुँदा यसले मनोबल घट्न सक्ने बताए।
दर्जन बढी निकायले निजी क्षेत्रमाथि यसअघि नै अनुसन्धान गरिरहेको उनले उल्लेख गरे। ‘निजी क्षेत्र सरकारप्रति आशावादी छ। विभिन्न नियामकीय व्यवस्थाका कारण आज पनि निजी क्षेत्रलाई अड्काउने काम भइरहेको छ’, अध्यक्ष अग्रवालले भने।
चेम्बर अफ कमर्स अध्यक्ष कमलेश अग्रवालले नयाँ सरकार आएसँगै सेयर बजार चम्किएको बताए। सेयर बजार कारोबार बढ्दा राजस्व वृद्धि भई सरकारलाई नै फाइदा पुगेको उनको दाबी छ।
‘नेपाल अर्थतन्त्रमा महत्त्वपूर्ण स्थान ओगटेको घरजग्गा व्यवसाय चलायमान बनाउन आवश्यक छ’, अध्यक्ष अग्रवालले भने, ‘नीतिगत सहजताले मात्रै सुदृढ अर्थतन्त्रको परिकल्पना गर्न सकिन्छ। सरकारले अर्थतन्त्र सुधारका लागि उच्चस्तरीय आयोग बनाउने घोषणा स्वागतयोग्य छ।’
अख्तियारले निजी क्षेत्रमा पनि अनुसन्धान गर्ने विषयले निजी क्षेत्र त्रासमा पुगेको उनको भनाइ छ। नेपाल राष्ट्र बैंकमा जम्मा भएको रकम उपयोग गरेर पूर्वाधार निर्माणमा खर्चिनुपर्ने सुझाव उनले दिए।