काठमाडौं । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाईइएफ)को अध्यक्षमा आशीष अग्रवाल चयन भएका छन्। मञ्चको वार्षिक साधारणसभाले सन् २०२४÷२०२५ का लागि अग्रवालको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो।
कार्यसमितिमा मनिष श्रेष्ठ (लर्निङ चेयर), सुगम घिमिरे (मेम्बर इन्टिग्रेसन चेयर), निदा दुन मल्ल (मेम्बरसिप चेयर), पुनित अग्रवाल (फाइनान्स चेयर), अंकुर अग्रवाल (नेटवर्क एन्ड कम्युनिकेसन चेयर), चिराग सरावगी (ग्रोथ एन्ड एक्सपान्सन चेयर) र साइनी खेतान (स्टार्टअप चेयर) निर्वाचित भएका छन्। यसअघि सन् २०२३/२०२४ का लागि अनुराग गोयल अध्यक्ष थिए।
नयाँ पदाधिकारीलाई बधाइ तथा शुभकामना दिँदै परिसंघ अध्यक्ष राजेशकुमार अग्रवालले युवासँग सम्बन्धित विषयमा अनुसन्धानमा आधारित भएर सरकार तथा नियामकीय निकायलाई नीतिगत सुझाव दिन मञ्चलाई आग्रह गरे। देशमा रोजगारी बढाउन, औद्योगिकीकरणको विकास गर्दै समग्र आर्थिक विकासका लागि युवा उद्यमीलाई प्रोत्साहन गरिनुपर्नेमा उनले जोड दिए।
मञ्चका निवर्तमान अध्यक्ष अनुराग गोयलले नयाँ टिमले संस्थालाई नयाँ उचाइमा पुर्याउने गरी काम गर्ने विश्वास व्यक्त गरे।
स्टार्ट–अप र युवा उद्यमीलाई प्रोत्साहन खाँचो रहेको बताउँदै नवनिर्वाचित अध्यक्ष अग्रवालले देशमै केही गर्ने चाहना भएका युवालाई प्रोत्साहन गर्ने खालका गतिविधि गर्ने विश्वास दिए। व्यवसाय क्षेत्रमा सन् २०१३ देखि आबद्ध अग्रवाल टौरस फर्माका निर्देशक हुन्।
युवा उद्यमी मञ्च सन् २००८ मा गठन भएको परिसंघको युवा संगठन हो। मञ्चले युवा उद्यमीलाई प्रोत्साहन, प्रवर्द्र्धनलाई प्राथमिकतामा राख्दै आएको छ।