काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ सरकार बनेसँगै निजी क्षेत्रको मनोबल उकासिँदा लगानीको महोल बन्दै गएको बताएका छन्। बिहीबार प्रतिनिधि सभाको प्रश्नोत्तर कार्यक्रममा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै नयाँ सरकार निर्माणपछि लगानीकर्तामा अभुतपूर्व विश्वास जागेको बताएका हुन्।
ओलीले भनेका छन्, 'निजी क्षेत्रमा उत्साह जाग्दा घरजग्गा कारोबार वृद्धि हुँदै गएको छ भने पुँजीबजारमा पनि उल्लेखनीय सुधार आएको छ। त्यति मात्र होइन, गत वर्षको तुलनामा साउन महिनामा राजश्व परिचालन र पुँजीगत खर्च पनि वृद्धि भएको छ।'
प्रधानमन्त्री ओलीले जनतामा रहेको निराशालाई आशामा बदल्ने नयाँ सरकारको प्रयास छोटो समयमै सार्थक हुन खोजेको दाबी गरे। वर्तमान सरकारले यथार्थमा परिवर्तन ल्याउने गरी काम गर्न चाहिरहेको भन्दै अमुक समूह जनता भड्काउन लागिपरेको दाबी गरेका छन्।
दलहरूबीच अस्वस्थ प्रतिस्पर्धाले अहिलेको प्रणाली मन नपराउने समूहले विभिन्न किसिमले नकारात्मक भाषा प्रयोग गरेर जनतालाई दिगभ्रमित गर्न खोजिरहेको ओलीको टिप्पणी छ।
उनले वर्तमान सरकार बहुदलीय प्रतिस्पर्धात्मक प्रणालीलाई व्यवस्थित र दीगो बनाउन क्रियाशील रहेकाले प्रतिगमनमा जालाकि भन्ने सोच नराख्न र भ्रम फिजाउनेहरूको पछि नलाग्न पनि आग्रह गरेका छन्।
'सरकारलाई कुनै गल्ती गर्ने, अन्योल सिर्जना हुने गरी काम गर्ने र प्रतिफल नदेखिने गरी काम गर्ने छुट छैन,' प्रधानमन्त्री ओलीले भने, 'जनतामा देखिएको निराशा अन्त्य गरी आशा जगाउनु सरकारको दायीत्व हो।'