काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले देशका सातै प्रदेशमा आफ्नै भवनबाट प्रदेश कार्यालय सञ्चालनमा ल्याएको छ।
हालै सुदूरपश्चिम प्रदेशको धनगढी उपमहानगर–३ मा बैंकले आफ्नै भवनमा सुदूरपश्चिम प्रदेश कार्यालय सञ्चालनमा ल्याएको हो।
यसअघि बैंकले कोसी प्रदेशको विराटनगर, मधेसको वीरगन्ज एवं जनकपुर, गण्डकीको पोखरा, लुम्बिनीको बुटवल एवं नेपालगन्ज र कर्णालीको सुर्खेतस्थित आफ्नै भवनबाट प्रदेश कार्यालय एवं क्लस्टर कार्यालय सञ्चालनमा ल्याइसकेको छ।
सुविधासम्पन्न भवनबाट सुदूरपश्चिम प्रदेश कार्यालयका अलवा धनगढी शाखासमेत सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ।
हाल वडा–४ मा बैंकको धनगढी शाखालाई आफ्नै भवनमा स्थानान्तरण गरेर बैंकिङ कारोबार सुरु गरिएको हो।
बैंकका सीईओ गणेशराज पोखरेलले धनगढी उपमहानगरमा निर्मित भवनबाट शाखा एवं प्रदेश कार्यालयबाट बैंकिङ कारोबार सञ्चालनको घोषणा गरे।
कार्यक्रममा स्थानीय निकायका प्रतिनिधि, उद्योगी, व्यापारी, विभिन्न संघसंस्थाका प्रमुख तथा सर्वसाधारण उपस्थित रहेको बैंकले जनाएको छ। बैंकका हाल सुदूरपश्चिममा १० शाखा छन्।
बैंकले हाल १९७ शाखा, १६२ एटीएम, ३ विस्तारित काउन्टर र ७४ शाखारहित इकाइबाट बैंकिङ सेवा दिँदै आएको छ।