काठमाडौं। साउन ३१ गते बिहीबार ३०३६.६४ बिन्दुसम्म पुगेर ३०००.८१ बिन्दुमा रोकिएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक त्यसपछिका तीन कारोबार दिन तीन हजारभन्दा तलै रहेको छ। तर, आइतबार, बुधबार र बिहीबारको कारोबारमा पनि नेप्से पटक-पटक तीन हजार बिन्दुमाथि चढे पनि कारोबार रोकिँदा भने तीन हजार मुनी नै अड्किएको छ।
गत आइतबार ३०४८.१५ बिन्दुसम्म पुगे पनि २९६६.३३ बिन्दुमा रोकिएको थियो भने बुधबार ३००२.७४ बिन्दुमा पुगेको नेप्से २९६८.४४ बिन्दुमा रोकिएको थियो। विहीबार पनि ३०१८.९३ सम्म पुगेको नेप्से कारोबार सकिँदा भने २९७४.४६ बिन्दुमा अड्किएको छ।
गत आइतबार केही घटेको बजार सूचकमा बुधबार र बिहीबार भने सामान्य सुधार देखिएको छ। अघिल्लो कारोबार दिन बुधबार २.११ अंकले बढेर २९६८.४४ बिन्दुमा बन्द भएको थियो। बिहीबार विकास बैंक समूहको सेयर मूल्य ४.५२ प्रतिशत र फाइनान्स समूहको सेयर मूल्य १.२३ प्रतिशत बढ्दा पनि नेप्सेमा ठूलो अंकको वृद्धि हुन सकेन।
यद्यपि, बिहीबार १२ बजेर ४५ मिनेटमा नेप्से ३०१८.९३ बिन्दुसम्म पुगेपनि त्यसबाट निरन्तर घटेर बन्द हुँदा भने २९७४ बिन्दुमै सीमित भएको हो। बिहीबार बैंकिङ समूहको सेयर मूल्य ०.१७ प्रतिशत, होटल तथा पर्यटन समूहको सेयर मूल्य १.३१ प्रतिशत र जलविद्युत समूहको सेयर मूल्य ०.५५ प्रतिशतले बढ्यो।
जीवन बिमा समूहको सेयर मूल्य १.१२ प्रतिशतले घट्दा लगानी समूहको सेयर मूल्य १.०८ प्रतिशतले घटेको छ। अघिल्लो कारोबार दिन बुधबार फाइनान्स समूहको सेयर मूल्य ४.९९ प्रतिशतले बढ्दा बैंकिङ समूहको ०.५९ प्रतिशत, विकास बैंक समूहको ०.७२ प्रतिशत र जीवन बिमा समूहको सेयर मूल्य ०.१२ प्रतिशतले बढेको थियो।
यस्तै, होटल तथा पर्यटन समूहको सेयर मूल्य १.०३ प्रतिशत, जलविद्युत समुहको ०.७५ प्रतिशत र लघुबिमा समूह ०.५४ प्रतिशतले घटेको थियो। बिहीबार तारागाउँ रेजेन्सी होटल, नारायणी विकास बैंक, ज्योति विकास बैंक, कर्पोरेट विकास बैंक, सिन्धु विकास बैंक, सप्तोकोशी विकास बैंक र थ्री स्टार हाइड्रोपावरको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ।
बिहीबार नेप्सेमा कुल १८ अर्ब ९४ करोड रुपैयाँ बढीको कारोबार भएको छ। अघिल्लो कारोबार दिन बुधबार भने नेप्सेमा कुल १८ अर्ब ५४ करोड रुपैयाँ बढीको कारोबार भएको थियो। बिहीबार कारोबारमा आएकामध्ये १३३ कम्पनीको सेयर मूल्य बढ्दा १०८ कम्पनीको घटेको छ। यस्तै, ३ कम्पनीको सेयर मूल्य भने स्थिर छ।