काठमाडौं। अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पाेरेसन (एमसीसी) नेपाल कम्प्याक्ट कार्यान्वयनको एक वर्ष पूरा भएकाे छ।
एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयनको एक वर्ष पूरा भएको अवसरमा आयोजित पत्रकार सम्मेलनमा एमसीए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले यस अवधिमा १८ किलोमिटर लामो सीमापार विद्युत् प्रसारण लाइनका लागि ठेकेदार छनोट र ठेकेदारको पहुँचका लागि साइट तयार गर्न उल्लेख्य प्रगति भएको बताए।
२९७ किमि प्रसारण लाइनका लागि यस वर्ष पुनः बोलपत्र आह्वान गरिने उनले जानकारी दिए। आयोजना कार्यान्वयनको एक वर्षभित्र तीन वटा सबस्टेसनका लागि ठेक्का सम्झौता सम्पन्न भइसकेको उनको भनाइ छ। गत वैशाख २७ मा ३ करोड ५५ लाख १० हजार अमेरिकी डलर रकम बराबरको नयाँ बुटवल, नवलपरासी पश्चिम सम्झौता सम्पन्न भएको बताए।
गत असार १ मा ५ करोड १६ लाख अमेरिकी डलर बराबरको रातमाटे, नुवाकोट तथा गत साउन १६ मा तीन करोड ८८ लाख ९० हजार डलर बराबरको नयाँ दमौली, तनहुँ सम्झौता सम्पन्न भइसकेको कार्यक्रममा जानकारी दिइयो।
सडक मर्मतसम्भार आयोजनाका लागि सडक विभागलाई प्रयोगशाला स्तरोन्नति, सडक परीक्षण उपकरण र प्राविधिक तालिमलगायत सहयोग प्रदान गरिएको एमसीसीले जनाएको छ।
धानखोलादेखि लमहीसम्म फूल डेप्थ रिक्लेमेसन (एफडीआर) प्रविधि प्रयोग गर्न ४० किलोमिटर लामो सडकखण्ड स्वीकृत भएको र यसैवर्ष बोलपत्र आह्वान गरिनेछ।
आवधिक मर्मतसम्भारका लागि दुई वटा सम्भावित सडक खण्डको पहिचान गरी स्वीकृत भएको प्रतिवेदनमा उल्लेख छ। यस्तै निर्माणस्थलमा पहुँच र जीविकोपार्जन पुनःस्थापनाअन्तर्गत १० जिल्लामा ८५६ प्रसारण टावरका जग निर्माणका लागि जग्गा प्राप्तिमा प्रगति भएको, दुईवर्षे जीविकोपार्जन पुनःस्थापना कार्यक्रममार्फत दुई सय ७० जनालाई तालिम दिइएको एमसीएले जनाएको छ।
जग्गाको मुआब्जा निर्धारण गर्न नौ जिल्लामा मुआब्जा निर्धारण समिति गठन भएको तथा धादिङ, मकवानपुर र नवलपरासीपश्चिम गरी तीन जिल्लामा जग्गाको मुआब्जा निर्धारण गरिएको छ। ९ जिल्लामा पहिलो चरणको रुख गणना कार्य सम्पन्न भएको छ।
कार्यक्रममा एमसीसीका देशीय निर्देशक डियान एल फ्रान्सिस्केले समयमै एससीसी परियोजना कार्यान्वयनमा आइसक्ने विश्वास व्यक्त गर्दै परियोजना अघि बढाउन नेपाल सरकारको तर्फबाट पनि सहजीकरण भइरहेको बताए ।
परियोजना थालनीको वर्ष दिनभित्र एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयनमा गति आएको, तीन वटा सबस्टेसनको ठेक्कामा हस्ताक्षर, विद्युत् नियामक प्राधिकरणलाई प्राविधिक सहयोगको व्यवस्था, आयोजना प्रभावित समुदायलाई सहयोग गर्न एमसीए साझेदारी कार्यक्रमको थालनी, १८ किमि प्रसारण लाइनको ठेक्कामा हस्ताक्षर र उल्लेखनीय प्रगति भएको जनाइएको छ।
नेपालका लागि अमेरिकी राजदूत डीन आर थम्पसनले एमसीसी परियोजना समयमै सम्पन्न हुने विश्वास व्यक्त गरे। उनले आयोजनालाई अमेरिकी सरकारले महत्त्व दिएको उल्लेख गरे।