काठमाडौं। प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरुले प्रश्नोत्तर गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा प्रधानमन्त्री ओलीलाई सांसदहरुले राजनीतिक, आर्थिक, बाढीपहिरोलगायतका विषयमा प्रश्न सोध्नेछन्।
असार ३० मा चौथोपल्ट प्रधानमन्त्री नियुक्त ओलीसँग सांसदहरुले पहिलोपल्ट प्रश्नोत्तर गर्न लागेका हुन्।
प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ मा उल्लिखित वर्णानुक्रमअनुसार सांसदहरूले प्रश्न सोध्दै आएका छन्। आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाअन्तर्गतको विषयगत समितिमा सदस्यको नाम हेरफेर गर्ने कार्यसूची रहेको छ।
बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले धितोपत्रसम्बन्धी (पहिलो संशोधन) विधेयक प्रस्तुत गर्नेछन्। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयकलाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद सुवालले राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची रहेको संसद् सचिवालयले बताएको छ।
यस्तै, धितोपत्रसम्बन्धी (पहिलो संशोधन) विधयेकलाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद सुवालले राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिनेछ।
अर्थमन्त्री पौडलेले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक प्रस्तुत गर्ने पनि सम्भावित कार्यसूचीमा रहेको छ।
आजको बैठकमा सांसद डा. तोसिमा कार्कीले हैजा महामारीका कारण निम्तिन सक्ने स्वास्थ्य संकटकालको पूर्वानुमान, नियन्त्रण र द्रुत प्रतिकार्यलाई प्रभावकारी बनाउनुपर्ने सार्वजनिक महत्त्वको विषयमाथि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको ध्यानाकर्षण गराउने कार्यसूचीमा उल्लेख छ।