न्यूरालिंकले दोस्रो बिरामीमा सफलतापूर्वक ब्रेन चिप प्रत्यारोपण गरेसँगै यसले विश्वभर चर्चा पाइरहेको छ। एलोन मस्कको स्वामित्वमा रहेको ब्रेन चिप स्टार्टअप न्यूरालिंकले दुई साता अघि दोस्रो बिरामीमा सफलतापूर्वक आफ्नो उपकरण प्रत्यारोपण गरेको हो।
यसअघि, कम्पनीले पहिलो पटक २८ वर्षीय नोर्ल्यान्ड अर्बागमा ब्रेन चिप प्रत्यारोपणमा सफलता हात पारेको थियो। पक्षघात भएका व्यक्तिलाई डिजिटल उपकरणमार्फत नियन्त्रण गर्न मद्दत गर्नेगरी डिजाइन गरिएको यस यन्त्रको सफलताले थप नयाँ आशा जगाएको छ।
दोस्रो बिरामीमा सफलता हात पारेको न्यूरालिंकले आफ्नो क्लिनिकल ट्रायलको भागको रूपमा यस वर्ष थप ८ बिरामीमा उपकरण प्रत्यारोपण गर्ने लक्ष्य राखेको छ। यो महत्त्वाकांक्षी लक्ष्यले पक्षघात भएका व्यक्ति संसारसँग अन्तरक्रिया गर्न सक्ने ठूलो सफलता प्राप्त हुने जनाइएको छ।
एलोन मस्कका अनुसार पहिलो बिरामी जस्तै स्पाइनल कर्डमा चोट लागेको दोस्रो बिरामीमा हाल ब्रेनचिपको १०२४ इलेक्ट्रोडमध्ये ४०० काम भइरहेको छ। मस्कले लेक्स फ्रिडम्यानको पोडकास्टमा ब्रेन चिप प्रत्यारोपण कार्यले थप आशावादी लगाउँदै लगेको बताएका छन्।
न्यूरालिंकले तयार गरेको ब्रेन चिप सिक्काको आकारमा हुन्छ जुन मस्तिष्क र स्नायु प्रणाली विकारहरूको सामना गर्न आवश्यक व्यक्तिका लागि प्रयोग गरिन्छ।
ब्रन चिप प्रत्यारोपण गरिएका पहिलो बिरामी नोल्र्यान्ड अर्बागले पनि पोडकास्टमा आफ्ना अनुभव बताएका थिए। न्यूरालिंकले काँधमुनि पक्षघात भएका अर्बागको मस्तिष्कमा ब्रेन चिप राखेको दुई महिनामा उनले ब्रेन चिपको सहयोगमा कम्प्युटर स्क्रिनमा चेस खेलेको भिडियो सार्वजनिक भएको थियो। लगभग ८ वर्ष अगाडि दुर्घटनामा परेर हातखुट्टा नचल्ने भएका अर्बागले ब्रेन चिपको सहायतामा आफूले कम्प्युटरमा चाल नियन्त्रण गर्न सकेको र त्यसका आधारमा चेस खेलेको बताएका थिए।
चिकित्सकीय उपचार सम्भव नभएका स्नायुप्रणालीसँग सम्बन्धित जटिल समस्या समाधान ब्रेन चिपबाट हुने अपेक्षा गरिएको छ। पक्षघात, अन्धोपन, डिप्रेसन र सिजफ्रीनिआजस्ता समस्यालाई निराकरण गर्नका लागि बिरामीको मस्तिष्कमा एउटा सानो चिपलाई राखिन्छ।
यो चिपमा हावा पनि छिर्न नसक्ने हुनाले बाहिरी पदार्थले समेत असर गर्दैन। न्यूरालिंकका अनुसार यो चिप १०२४ वटा साना इलेक्ट्रोडहरूसँग जोडिएको हुन्छ र त्यो मानिसको रौँभन्दा कम बाक्लो हुन्छ। चिपले ब्याट्रीबाट ऊर्जा प्राप्त गर्छ र त्यसलाई बिनातार चार्ज गर्न सकिन्छ भने कम्प्युटरमा जोडिँदा सिग्नल पठाउन र पाउन सक्ने किसिमको हुन्छ।
यद्यपि यसमा क्षणिक शारीरिक खतरा, दीर्घकालीन चिकित्सकीय चिन्ता र सुरक्षाको विषय पनि सँगै जोडिएर आउँछ। मस्तिष्कमा हुने कुनै पनि शल्यक्रियामा आन्तरिक खतरा हुन्छ। शारीरिक असर हुने सम्भावना वा मानिसको शरीरले जनाउने अस्वीकृति दुवै हुने सम्भावना रहन्छ। बाँदरमा गरिएको एउटा परीक्षणमा निर्मम व्यवहार गरिएको आरोप लगाउँदै अमेरिकाको कृषि मन्त्रालयमा एउटा उजुरी दर्ता भएको थियो।
अमेरिकी फूड एन्ड ड्रग एडमिनिस्ट्रेशन (एफडीए)ले मानिसमा परीक्षण गर्नका लागि अनुमति दिएपछि केही हदसम्म यो विवाद मत्थर भएर गयो। यस्तो खालको प्रविधिलाई लिएर डेटा सुरक्षा, सम्भावित प्रयोग र मानव वृद्धिको सम्भाव्यतासँग सम्बन्धित चिन्ता पनि भइरहेका छन्।
यसले मानिसको अनुभूति, इन्द्रिय वा शारीरिक क्षमताहरूमा सुधार गर्न सक्ने जनाइएको छ। यसले सधैँ शक्तिशाली भावनाहरू जागृत गर्ने र नैतिक प्रश्न उठाउने भएकाले यसबारे नियमन गरिरहनुपर्ने आवश्यकता भने देखिने गरेको छ।
कस्तो हुन्छ ब्रेन चिप?
न्यूरालिंकले तयार गरेको ब्रेन चिप सिक्काको आकारमा हुन्छ जुन मस्तिष्क र स्नायु प्रणाली विकारहरूको सामना गर्न आवश्यक व्यक्तिका लागि प्रयोग गरिन्छ। यस चिपमा धेरै साना तार हुन्छन् अर्थात् एउटा तार मानव कपाल भन्दा २० गुणा पातलो हुन्छ।
यो चिप मानव मस्तिष्कको एक विशेष भागमा शल्यक्रिया गरेर प्रत्यारोपण गरिन्छ। यी इलेक्ट्रोडहरूले मस्तिष्कको न्यूरोन संकेत प्रशोधन गर्छन् र थप डाटा न्यूरालिंक एपमा जान्छ। यसपछि, सफ्टवेयरले डाटालाई डिकोड गरेर सोही आधारमा काम गर्छ।
फेसबुकको माउ कम्पनी मेटाले मस्तिष्कले सोच्दासाथ टाइप गर्न सकिने र लगाउन मिल्ने एउटा प्रविधिमा काम गरिरहेको विषय पनि चर्चामा छ।
यसबाहेक, ब्रेन चिपमा उन्नत वायरलेस प्रविधि हुन्छ जसको माध्यमबाट यसले कम्प्युटर वा फोन जस्ता उपकरणमा न्यूरल सिग्नल पठाउने गर्दछ। भविष्यमा यो चिपले बिस्तारै मानव मस्तिष्कलाई बुझ्दै जानेछ भने एल्गोरिदमअनुसार काम गर्ने र संकेत प्रवाह गर्नेछ।
एलोन मस्कको न्यूरो टेक्नोलोजी कम्पनी न्यूरालिंकले मानव मस्तिष्कका लागि ब्रेन चिप बनाउने कार्य ६ वैज्ञानिकबाट २०१६ मा सुरु गरेको थियो। यो कम्पनीले मस्तिष्क र कम्प्यूटरबीच प्रत्यक्ष सञ्चार च्यानल सिर्जना गर्न काम गरिरहेको छ।
यसले मानव मस्तिष्क जस्तै काम गर्ने बताइएको छ। शरीरका अन्य धेरै अंगले काम गर्न छोडेपछि ब्रेन चिप प्रत्यारोपण कार्य गरिन्छ। वास्तवमा यो मस्तिष्क प्रत्यारोपण नै हो। न्यूरालिंकले एफडीएबाट मानव मस्तिष्क प्रत्यारोपण परीक्षणका लागि इन–ह्युमन क्लिनिकल परीक्षणका लागि स्वीकृति प्राप्त गरेको थियो। ब्रेन चिपले पक्षघात र अन्धोपन जस्ता अवस्थाहरूको उपचार गर्न र केही अपाङ्गता भएका व्यक्तिहरूलाई कम्प्युटर र मोबाइल प्रविधि प्रयोग गर्न मद्दत गर्ने न्यूरालिंकले दाबी गरेको छ।
मानिस अघि बाँदरमा परीक्षण
मानिस भन्दा अगाडि ब्रेन चिप बाँदरमा परीक्षण गरिएको थियो। बाँदरमा राखेर परीक्षण गर्दा यो चिप स्मार्टफोन र कम्प्युटर जस्ता आधारभूत उपकरणबाट नियन्त्रण हुने कम्पनीले दाबी गरेको थियो। न्यूरालिंक कम्पनीले बाँदरमा गरिएको परीक्षणको भिडियो आफ्नो युट्युब च्यानलमा पनि राखेको छ। उक्त भिडियोमा एक अफ्रिकी बाँदरको दिमागमा चिप जडान गरिएको थियो देख्नसकिन्छ। भिडियोमा बाँदरले ब्रेन चिप राखेपछि जोइस्टिकको साथ भिडियो गेम खेलिरहेको देखाइएको छ।
जनावरमा परीक्षण गर्नेक्रममा न्यूरालिंकमाथि थुप्रै प्रश्नसमेत उठेका थिए। न्यूरालिंकले सन् २०१८ बाट ब्रेन चिप परीक्षणका लागि १५०० बढी जनावर मारेको आरोप लागेको छ।
तर, न्यूरालिंकले भने सो आरोपलाई अस्वीकार गर्दै आएको छ। ‘हामी पूर्णरूपमा प्रत्यारोपण गर्न मिल्ने कस्मेटिक रूपमा अदृश्य मस्तिष्क–कम्प्युटर इन्टरफेस डिजाइन गर्दैछौं जसले तपाईं जहाँ गए पनि कम्प्युटर वा मोबाइल उपकरणबाट नियन्त्रण गर्न सकिन्छ,’ न्यूरालिंकले भनेको छ।
कम्पनीका अनुसार लिंकमा थ्रेडहरू धेरै राम्रो र लचिलो हुन्छन् जसलाई मानव हातले सम्मिलित गर्न सकिँदैन। यसका लागि कम्पनीले रोबोटिक प्रणालीको डिजाइन गरेको छ जसको माध्यमबाट तारलाई बलियो र प्रभावकारी रूपमा प्रत्यारोपण गर्न सकिन्छ।
यसका साथसाथै न्यूरालिंक एप पनि यस्तो डिजाइन गरिएको छ जसले आफ्नो किबोर्ड र माउसलाई सिधै दिमागको गतिविधि मार्फत नियन्त्रण गर्न सक्ने बताइएको छ। उपकरण पनि चार्ज गर्न आवश्यक हुनेछ। यसका लागि, एक कम्प्याक्ट इन्डक्टिव चार्जर पनि डिजाइन गरिएको छ जसले ब्याट्रीलाई बाहिरी रूपमा चार्ज गर्न इम्प्लान्टसँग ताररहित रूपमा जडान गर्दछ।
अन्यले पनि ब्रेन चिपमा काम गरिरहेका छन्?
हुनतः विश्वका अन्य केही कम्पनीले न्यूरालिंकले भन्दा बढी यसमा अनुसन्धान गरिरहेको बताउँदै आएका छन्। ब्ल्याक रक न्यूरो टेकले पनि मानव मस्तिष्कमै राखिने चिपमा काम गरिरहेको उल्लेख गरेको छ। कम्पनीका अनुसार अन्य धेरै किसिमका कामहरू पनि हुँदै गएका छन्। फेसबुकको माउ कम्पनी मेटाले मस्तिष्कले सोच्दासाथ टाइप गर्न सकिने र लगाउन मिल्ने एउटा प्रविधिमा काम गरिरहेको विषय पनि चर्चामा छ।
केही साताअघि स्विस वैज्ञानिकले पक्षघात भएका एक व्यक्तिलाई हिँड्न सक्षम बनाएको विषय पनि बाहिरिएको थियो। टेस्ला तथा एक्स (ट्विटर)का मालिक इलोन मस्कको संलग्नताले न्यूरालिंकको चर्चा धेरै हुने गरेको छ।
तर, कुन कम्पनीले यो प्रतिस्पर्धामा बाजी मार्छ भन्ने निश्चित छैन। कुन प्रविधिले राम्रो काम गर्छ र कसले सुरक्षाबारे नियामक निकाय र बजारलाई आश्वस्त पार्न सक्छ भन्ने कुरा यसमा कसले बाजी मार्छ भन्ने कुराको निक्र्यौल हुनेछ।