काठमाडौं । गत वर्ष दुई बैंकलाई ०.५ प्रतिशत बिन्दु काउन्टर साइक्लिकल बफर लगाएको नेपाल राष्ट्र बैंक चालू वर्ष कसरी कार्यान्वयनमा जाने भनेर छलफलमा जुटेको छ। सामान्यतया ५ वर्षको कुल गार्हस्थ उत्पादन (जीडीपी) र ऋण अनुपात (रेसियो) अनुसार काउन्टर साइक्लिकल बफर राष्ट्र बैंकले गत वर्षदेखि लगाउन थालेको हो।
काउन्टर साइक्लिकल बफर प्राथमिक पुँजीकोषमा लाग्ने भए पनि थप पुँजी (सप्लिमेन्ट्रि क्यापिटल) पनि घटाउन पाइँदैन। अहिले प्राथमिक पुँजी ८.५ प्रतिशत र थप पुँजी २.५ गरी ११ प्रतिशत पुँजीकोष चाहिन्छ।
‘क्यापिटल एडिक्वेसी फ्रेमवर्क २०१५’ अनुसार काउन्टर साइक्लिकल बफर ०.५ प्रतिशत लगाउँदा प्राथमिक पुँजीकोष ९ प्रतिशत र कुल पुँजीकोष साढे ११ प्रतिशत हुनुपर्छ। यसरी प्राथमिक पुँजीकोष ९ प्रतिशतभन्दा कम भए र कुल पुँजीकोष साढे ११ प्रतिशतभन्दा कम भए काउन्टर साइक्लिकल बफर नपुगेको ठहरिन्छ। अर्थात प्राथमिक पुँजीकोष १० प्रतिशत भएर कुल पुँजीकोष साढे ११ प्रतिशत भए पनि त्यो मान्य हुँदैन। थप पुँजीकोष पनि साढे २ प्रतिशत हुनैपर्छ।
राष्ट्र बैंकले गत वर्ष काउन्टर साइक्लिकल बफर ०.५ प्रतिशत २०८१ असारसम्म पुर्याउनु पर्ने निर्देशन दिएको थियो। गत वर्ष दुई वाणिज्य बैंकले तोकिएको पुँजीकोष कायम गर्न सकेनन्।
पुँजीकोष अनुपात हरेक महिना र प्रत्येक त्रैमासमा कायम नगर्ने बैंकहरूलाई राष्ट्र बैंकले अर्को आर्थिक वर्षमा लाभांश वितरणमा रोक लगाउँछ। त्यसै गरी पुँजीकोष घट्दै गएमा सिघ्र शुधारात्मक कारबाही गर्न (पीसीए लगाउन) सक्छ।
राष्ट्र बैंकका प्रवक्ता रामु पौडेलका अनुसार केन्द्रीय बैंकले बैंकहरूसँग काउन्टर साइक्लिकल बफरसहतिको पुँजीकोषको तथ्यांक मगाइरहेको छ।
गत वर्ष कुमारी र एनआईसी एसिया बैंकले पुँजीकोष कायम गर्न नसकेका कारण चालू वर्ष लाभांश बाँड्न सक्दैनन्। राष्ट्र बैंकले विगतमा पनि पुँजीकोष नपुग्दा लाभांश रोक्का गर्दै आएको छ। विगतमा एनआईसी एसिया, माछापुच्छ्रे र लक्ष्मी सनराइज (तत्कालीन लक्ष्मी) बैंकलाई लाभांश रोकेको थियो।
एनआईसी एसिया र कुमारीले भने काउन्टर साइक्लिकल बफरसहितको ९ प्रतिशत प्राथमिक पुँजीकोष कायम गर्न सकेनन्।
राष्ट्र बैंकका प्रवक्ता रामु पौडेलका अनुसार केन्द्रीय बैंकले बैंकहरूसँग काउन्टर साइक्लिकल बफरसहतिको पुँजीकोषको तथ्यांक मगाइरहेको छ।
‘काउन्टर साइक्लिकल बफरसहित बैंकहरुले प्राथमिक पुँजीकोष ९ प्रतिशत र कुल पुँजी ११.५ प्रतिशत कायम गर्नुपर्छ। कायम नगर्ने बैंकलाई पिसिए लाग्छ,’ राष्ट्र बैंकका प्रवक्ता पौडेलले क्यापिटल नेपालसँग भने, ‘चालू वर्ष थप बफर लगाउने/नलगाउने विषयमा अध्ययन तथा छलफल भइरहेको छ। एक/दुई दिनमै परिपत्र हुन्छ।’
गत वर्षको कुल कर्जा विस्तार र जीडीपी अनुपातअनुसार चालू वर्ष काउन्टर साइक्लिकल बफर नलाग्ने सम्भावना रहेको पौडेलले बताए।
गत वर्षको असारमा कुमारी बैंकको प्राथमिक पुँजीकोष ८.४४ प्रतिशत र कुमारी बैंकको ८.५६ प्रतिशत कायम छ। एनआइसी एशियाले पुरानै व्यवस्था समेत पालना नहुने गरी सीसीएआर कायम गरेको छ भने कुमारी बैंकले बफर क्यापिटलसहितको प्राथमिक पुँजी कायम गर्न नसकेको हो। साथै कुमारी बैंकको कुल पुँजी १२.२६ प्रतिशत र एनआईसी एसिया बैंकको ११.१८ प्रतिशत कायम छ।
बैंकहरुद्वारा सार्वजनिक आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासको ‘बासेल डिस्कोल्जर’ अनुसार १८ बैंकले बफर क्यापिटलसहित प्राथमिक पुँजीको ९ प्रतिशतदेखि १४.३६ प्रतिशतसम्म कायम गरेका छन्। त्यसमध्ये ७ वटाको ९ प्रतिशतमाथि १० प्रतिशतसम्म, ८ वटाको १० प्रतिशदेखि ११ प्रतिशतसम्म र ३ वटाको ११ प्रतिशतमाथि १४.३६ प्रतिशतसम्म प्राथमिक पुँजीकोष कायम छ।