काठमाडौं। प्रिमियम मूल्यमा साधारण सेयर निष्कासन पर्खाइमा रहेको रिलायन्स स्पिनिङ मिल्सले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)बाट पनि ‘क्लिन चिट’ पाएको छ। वित्तीय विवरणमा कुनै कैफियत नभएको भन्ने धितोपत्र बोर्डको जवाफमा चित्त बुझाउँदै सीआईबीले रिलायन्स स्पिनिङलाई क्लिन चिट दिएको धितोपत्र बोर्ड स्रोतले बताएको हाे।
स्रोतका अनुसार धितोपत्र बोर्डले साउन २४ गते पठाएको जवाफमा चित्त बुझाउँदै सीआईबीले रिलायन्स स्पिनिङविरुद्ध परेको उजुरीलाई तामेलीमा राखिएको जानकारीबारे साउन ३२ गते पत्र पठाएको छ। बोर्डबाट कम्पनीमाथि थप अनुसन्धान गर्न नपर्ने गरी प्रमाणसहित जवाफ प्राप्त भएकाले उक्त मुद्दालाई तामेलीमा राखिएको सीआईबीले पठाएको पत्रमा उल्लेख छ।
धितोपत्र बोर्डले प्रश्नको प्रतिउत्तरमा साउन २४ गते सीआईबीलाई ४८ पृष्ठ लामो जवाफ पठाएको थियो। वित्तीय विवरण कसुरपूर्ण रहेको भन्दै उजुरी परेपछि सीआईबीले धितोपत्र बोर्डलाई जवाफ दिन लिखित निर्देशन दिएको थियो।
कम्पनीलाई बुक बिल्डिङ प्रणालीबाट आईपीओ जारी गर्न दिएको अनुमति र कम्पनीको वित्तीय रिपोर्टअनुसार कुनै कमजोरी नभएको भन्दै बोर्डले सीआईबीलाई लेखेको पत्रमा कम्पनीमाथि थप अनुसन्धान गर्न आवश्यक नरहेको उल्लेख गरेको छ। रिलायन्सको वित्तीय विवरण बदनियतपूर्वक भएको नभेटिएकाले थप अनुसन्धान आवश्यक नपर्ने बोर्डको पत्रमा उल्लेख छ।
‘धितोपत्रसम्बन्धी ऐन, २०६३ र सोअन्तर्गत बनेको धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३, धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका, २०७४ र बुक बिल्डिङ निर्देशिका, २०७७ अनुसार नै मूल्य निर्धारण गरिएको, कम्पनीको वित्तीय विवरण प्रमाणित गर्ने एसएआर एसोसिएट्सले रिलायन्सको २०८०÷८१ को प्रथम त्रैमासको प्रतिसेयर आम्दानी ०.९६ पैसा र २०८०/८१ को प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ९० पैसा प्रक्षेपण गरेको र सो प्रक्षेपणमा धितोपत्र बोर्डमा पटक–पटक अध्ययन अनुसन्धान भएको विषयलाई आधार मान्दा उक्त कम्पनीको वित्तीय प्रक्षेपण असम्भव वा बदनियतपूर्ण भन्न सकिने अवस्था नदेखिएको र धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ९७ बमोजिमको कसुर गरेको भन्न सकिने अवस्था नदेखिएकाले वित्तीय विवरणमा कुनै पनि किसिमको कसुर नभएको ठहर गर्दै सीआईबीले थप अनुसन्धान गर्न आवश्यक नरहेको देखिन्छ,’ धितोपत्र बोर्डले सीआईबीलाई लेखेको पत्रको निष्कर्षमा भनिएको छ।
अदालतमा परेको उजुरीबारे पनि अदालतले अन्तरिम आदेश नदिएर यसअघि नै रिलायन्स स्पिनिङ्गलाई आईपीओ निष्काशनको बाटो खुला गरिदिएको छ। अदालत, बोर्डपछि सीआईबीले पनि क्लिन चिट दिएकाले बोर्डमा कार्यवाहक अध्यक्ष आएलगत्तै रिलायन्सलाई आईपीओ निष्कासन बाटो खुला हुने अपेक्षा गरिएको छ।