काठमाडौं। मूल्य घटाउने र बढाउनेको तिब्र प्रतिस्पर्धाकाबीच सेयर बजार सामान्य अंकले बढेको छ। बुधबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.११ अंकले बढेर २९६८.४४ बिन्दुमा बन्द भएको छ।
अघिल्लो कारोबार दिन आइतबार भने नेप्से ३४.४७ अंकले घटेर २९६६.३३ बिन्दुमा बन्द भएको थियो। बजारको टे«न्ड हेर्दा मूल्य बढाउने र घटाउनेबीचमा तिब्र प्रतिस्पर्धा चलिरहेको देखिन्छ।
कारोबारको सुरुवातमै अर्थात् ११ बजेर ४ मिनेटमा ३००२.७४ बिन्दुसम्म चढेको नेप्से १२ बजेर ४५ मिनेटमा न्यून २९४३.६१ बिन्दुसम्म झरेको थियो। नेप्सेमा तिब्र उतारचढाव देखिँदा कारोबार रकममा उच्च गिरावट आएको छ।
बुधबार नेप्सेमा कुल १८ अर्ब ५४ करोड रुपैयाँ बढीको कारोबार भएको छ। अघिल्लो कारोबार दिन आइतबार भने नेप्सेमा २८ अर्ब २७ करोडको कारोबार भएको थियो जुन बुधबारको तुलनामा करिब १० अर्बले बढी हो।
बुधबार कारोबारमा आएकामध्ये १०० कम्पनीको सेयर मूल्य बढ्दा १४० कम्पनीको सेयर मूल्य घटेको छ। यस्तै, ४ कम्पनीको सेयर मूल्य भने स्थिर छ।
बुधबार कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, रिलायन्स फाइनान्स र डोल्टी पावर कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ। यस्तै, ५ कम्पनीको सेयर मूल्य ९ प्रतिशत बढीले वृद्धि भएको छ।
कर्णाली डेभलपमेन्ट बैंकको सेयर मूल्यमा नकरात्मक सर्किट लाग्दा मातृभूमी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ५.९८ प्रतिशतले घटेको छ।
बुधबार फाइनान्स समूहको सेयर मूल्य ४.९९ प्रतिशतले बढ्दा बैंकिङ समूहको ०.५९ प्रतिशत, विकास बैंक समूहको ०.७२ प्रतिशत र जीवन बिमा समूहको सेयर मूल्य ०.१२ प्रतिशतले बढेको छ।
यस्तै, होटल तथा पर्यटन समूहको सेयर मूल्य १.०३ प्रतिशत, जलविद्युत समुहको ०.७५ प्रतिशत र लघुबिमा समूह ०.५४ प्रतिशतले घटेको छ।