काठमाडौं। सरकारी लगानीमा बनिरहेको सिद्धार्थ राजमार्गअन्तर्गतको पाल्पामा निर्माणाधीन सिद्धबाबा सुरुङ मार्ग कात्तिकसम्म ब्रेक थ्रू (छिचोल्ने काम) हुने भएको छ। सडक विभागअन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले विस्फोटक पदार्थ प्रयोग गरेर कात्तिकसम्म सुरुङ ब्रेक थ्रू गर्ने तयारी गरेको हो।
विकास केन्द्रका सिनियर डिभिजनल इन्जिनियर (सीडीई) प्रदीप भण्डारीका अनुसार सुरुङमार्गको भौतिक निर्माण कार्य १६ प्रतिशत सकिएको छ। यो २०८१ असारसम्मको विवरण हो।
‘विस्फोटक पदार्थ प्रयोग गरेर सुरुङ खन्दै छौं। सोचेजस्तो भए बढीमा ३ महिनासम्म ब्रेक थ्रू हुन्छ,’ सीडीई भण्डारीले भने। तर, नेपालमा विस्फोटक पदार्थ सहज रुपमा नपाइने भएकाले सुरुङ खन्न सहज छैन। विकास केन्द्रले नेपाली सेनासँग सहकार्य गरेर विस्फोटक पदार्थ प्रयोग गर्दै आएको छ। निर्माण कम्पनीको तदारुकता र मजदुर पर्याप्त भएकाले दसैं–तिहारमा पनि सुरुङको काम गर्न समस्या नहुने सीडीई भण्डारी बताउँछन्।
१ हजार १ सय २६ मिटर लामो सिद्धबाबा मुख्य सुरुङ असारसम्म २७५ मिटर खनिएको छ। सिद्धबाबामा ३ वटा बाइपास सुरुङ छन्। यसमध्ये १५१ मिटर लामो बाइसाप सुरुङमा ६५ मिटर खनिएको, १६१ मिटर लामो बाइसाप सुरुङमा ६४ मिटर र १३० मिटर लामो बाइसाप सुरुङमा ६२ मिटर खन्ने काम सकिएको सिडिई भण्डारीले जानकारी दिए।
सिद्धबाबा सुरुङमार्गको लागत ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँ छ। यसमध्ये हालसम्म २३.८० प्रतिशत खर्च भएको छ। केन्द्रले चाइना स्टेट इन्जिनियरिङ कन्स्ट्रक्सनसँग २०७८ फागुनमा पाँच वर्षभित्र सुरुङ निर्माण सम्पन्न गर्ने सम्झौता गरेको छ।
५ वर्षभित्र निर्माण कम्पनीले सुरुङको डिजाइनसहित निर्माण गर्नुपर्ने सम्झौता छ। सोहीअनुसार कम्पनीले तयार गरेको डिजाइन विकास केन्द्रले सडक विभागको सहकार्यमा अध्ययन गरेर स्वीकृत गरेको थियो। डिजाइन स्वीकृत भएसँगै चाइना स्टेटले गतवर्षबाट सुरु खन्न सुरु गरेको हो।
सुरुङ खन्ने काम छिट्टै सकिएपनि आवश्यक पहुँचमार्गदेखि सुरुङ फिनिसिङको काम गर्न बाँकी हुनेछ। अर्थात् सम्झौता अवधिसम्म गर्नुपर्ने काम बाँकी हुनेछन्। साथै सवारी सञ्चालन गर्न मिल्ने समय पनि अहिले भन्न नसकिने विकास केन्द्रले जनाएको छ। सिद्धबाबा सुरुङ ‘इन्जिनियरिङ, प्रोक्योरमेन्ट, कन्स्ट्रक्सन’ (इपिसी) मोडलमा निर्माण हुँदै छ।
ग्वार्को फ्लाई ओभरको म्याद पुस मसान्तसम्म
विकास केन्द्रले नै निर्माण गरीरहेको अर्को चासोको आयोजना ग्वार्को फ्लाई ओभर हो। नेपालमै पहिलो पटक ईपीसी मोडलमा निर्माणाधीन ग्वार्को फ्लाई ओभर निर्माणको अन्तिम चरणमा छ।
२०७८ फागुनमा विकास केन्द्रले आरसी, समानान्तर र रेलिगेरको संयुक्त उपक्रम (जेभी) सँग २०८० फागुन १२ सम्म फ्लाई ओभर निर्माण सम्पन्न गर्ने सम्झौता गरेको थियो। तर, निर्माणाधीन अवस्थामा जमिनमुनिको भाग पहिला अध्ययन गरेकोभन्दा फरक भेटिएपछि म्याद लम्बिएको केन्द्रको भनाइ छ।
यद्यपि २०८० फागुन १२ सम्मबाट करिब ५ महिना म्याद थप गरी केन्द्रले २०८१ असार मसान्तसम्म पुर्याएको थियो। तर, उक्त समयमा पनि नसकिएपछि हाल २०८१ पुस भित्र फ्लाइ ओभर निर्माण गर्न दोस्रो पटक म्याद थप गरेको विकास केन्द्रका अर्का सिडिई गागलबहादुर भण्डारी बताउँछन्।
‘एकपटक थपेको म्याद असारमा सकियो, साउन र भदौ वर्खाले काम गर्न सकिदैन। त्यसपछि चाडवाड आउँछ भनेर पुससम्म म्याद थप गरेका छौं त्यो समयसम्म निर्माण सकिन्छ’ सिडिई गागलबहादुर भण्डारीले भने।
फ्लाई ओभर निर्माणको काम ८० प्रतिशत सकिएको छ। विकास केन्द्रले १७ करोड ६८ लाख रुपैयाँमा फ्लाई ओभर निर्माण सम्झौता गरेको छ। उक्त रकममध्ये हालसम्म ४८ प्रतिशत खर्च भएको विकास केन्द्रले जनाएको छ।