काठमाडौं। प्रतिनिधिसभाअन्तर्गत आज ६ वटा संसदीय समितिको बैठक बस्ने कार्यसूची संसद् सचिवालयले सार्वजनिक गरेको छ।
संसद् सचिवालयका अनुसार आज कानुन, न्याय तथा मानव अधिकार समिति, महिला तथा सामाजिक मामिला समिति, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति (संयुक्त), राज्य व्यवस्था तथा सुशासन समिति, विकास समिति, विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो।
कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्दैछ। बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा दफावार छलफल गर्ने कार्यसूची छ।
महिला तथा सामाजिक मामिला समितिको बैठकमा देशको समग्र विकासको मूल प्रवाहमा आउन नसकेका वर्ग र समुदायको मानव अधिकारका विषयमा छलफल हुनेछ। बैठक दिउँसो ३ः४५ बजे सुरु हुनेछ।
राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ । बैठक बिहान ११ बजे बस्नेछ।
राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठक दिउँसो साढे १ बजे बस्ने संसद् सचिवालयको सूचनामा उल्लेख छ। बैठकमा समितिको कार्यविधि र राज्यका निर्देशक सिद्धान्त तथा नीतिहरूका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ।
विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान साढे ११ बजेका लागि बोलाइएको छ। बैठकमा सुशासन र राष्ट्रिय सदाचार नीति जारी गर्ने सम्बन्धमा सरोकारवालासँग छलफल हुनेछ।
विधायन व्यवस्थापन समितिको बैठक बिहान साढे ११ बजे बस्नेछ। बैठकमा उत्तर विधायिकी परीक्षण सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवायले बताएको छ।