काठमाडौं । उकालो लागेसँगै सेयर बजारको चर्चाले व्यापकता पाउँदै गएको छ। सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) माथिल्लो बिन्दुतर्फ लम्किरहेकाले नयाँ लगानीकर्ताको बजार प्रवेश उल्लेख्य मात्रामा बढेको छ। बढ्दो बजारसँगै मेरो सेयर तथा डिम्याट खाता खोल्नेको संख्या पनि बढेर गएको छ।
खासगरी, सेयर बजारमा हालचालै प्रवेश गरेका र गर्न चाहनेका लागि लगानी कसरी गर्ने? कहाँबाट सुरु गर्ने? कसले भनेको मान्ने? कारोबार र लगानीमा कुन शैली अपनाउने? भन्ने स्पष्टता हुँदैन। बजार बढेको देखेर, अरूले नाफा कमाए भनेको सुनेर तथा कतिपय कम्पनीको सेयर मूल्यमा लागेको सकारात्मक सर्किट देखेर बजार प्रवेश गर्ने धेरै छन्।
घटबढ हुनु सेयर बजारको नियम नै हो। तर, कुन समयमा सेयर बजारमा लगानी गर्दा उत्तम हुन्छ? लगानी गर्दा कसरी गर्ने? भएको सबै पुँजी एकैपटक बजारमा लगाउँदा उचित हुन्छ वा क्रमैसँग लगाउनुपर्छ? यो धेरैको जिज्ञासा हो। हुनतः लगानी गर्ने, सेयर खरिदबिक्री गर्ने सबैको आआफ्नो शैली हुन्छ।
बजारमा वर्षौं बिताएका व्यक्तिले घट्दो र बढ्दो दुवै बजारमा कमाइरहेका हुन्छन्। तर, नयाँ लगानीकर्ताले भने कहिलेकाहीँ हुलमुलमै धेरै कमाउँछन् भने कुनै समय उक्सिनै कठिन हुनेगरी गुमाउँछन्। त्यसैले कतिपय सेयर लगानीकर्ताहरू सेयर कारोबार र लगानीमा ‘पिरामिड शैली’ अपनाउनुपर्ने सुझाव दिन्छन्। सेयर लगानीकर्ता केशव कोइराला पिरामिड शैलीमा बजारमा लगानीकर्ता गर्दा उत्तम हुने बताउँछन्।
नेप्से उकालो लागि रहेको समयमा कसैले ४५०० बिन्दु पुग्छ, कसैले ५००० पुग्छ तथा कसैले १० हजार बिन्दुसम्म पुग्छ भनिरहेका हुन्छन्। वास्तवमा नेप्से कति बिन्दुसम्म पुग्छ भन्ने जानकारी कसैलाई पनि हुँदैन।
नेप्से न्यून बिन्दुमा रहँदा लगानीकर्ताले आफूसँग भएको पुँजीको सबैभन्दा ठुलो हिस्सा लगानी गर्नुपर्दछ। नेप्से उकालो लाग्दै जानु भनेको जोखिम बढ्दै जानू हो। त्यसैले, जब नेप्से न्यून बिन्दुबाट बिस्तारै माथि बढ्दै जान्छ त्यसपछि लगानी थप्ने मात्रा कम गर्दै जानुपर्छ। यसपछि, यतिसम्म नेप्से पुग्छ भन्ने लागेको बिन्दुमा पुग्नु १०÷२० प्रतिशत अगाडि नै सानोसानो मात्रामा सेयर बिक्री गर्दै जानुपर्छ।
गएको करिब दुई वर्ष नेप्से १८०० बिन्दु वरिपरि थियो। वास्तवमा उक्त बिन्दु र त्यो अवधि नै सेयर बजारमा लगानी गर्ने सुनौलो अवसर हुन्छ। हुनतः नेप्सेको न्यून बिन्दु कति हो भन्ने पनि अन्योल नै हुन्छ। तर, बियरिस मार्केटबाट घटेर लामो समय निश्चित बिन्दुमा नेप्से अडिएपछि लगानीकर्ताले त्यसलाई नै न्यून बिन्दु मान्नुपर्छ। बजार त्यो भन्दा अझै तल झर्ने चर्चा चलिरहने भएकाले घटे पनि केही बेहोर्छु भन्ने हिम्मत गरेर लगानी गर्नुपर्छ।
‘विगतको दुई वर्ष नेप्से १८०० र १९०० बिन्दुमा घुम्दा पिरामिड शैलीमा आफूसँग भएको सबैभन्दा ठुलो पुँजी लगानी लगाउनुपर्ने थियो। हिजो त्यो समयमा लगानी गर्ने मानिसमा आज खुसीयाली छाएको छ,’ लगानीकर्ता कोइराला भन्छन्, ‘यसपछि बजार जतिजति माथि जान्छ जोखिम पनि बढ्दै जान्छ। त्यसैले बजार जतिजति उकालो लाग्छ त्यतित्यति लगानी थप्ने मात्रा कम गर्दै जानुपर्छ।’ यसपछि नेप्से एउटा बिन्दुमा पुगेपछि भने बिस्तारै नाफा झिक्दै जानुपर्ने कोइरालाको तर्क छ।
नेप्से उकालो लागि रहेको समयमा कसैले ४५०० बिन्दु पुग्छ, कसैले ५००० पुग्छ तथा कसैले १० हजार बिन्दुसम्म पुग्छ भनिरहेका हुन्छन्। वास्तवमा नेप्से कति बिन्दुसम्म पुग्छ भन्ने जानकारी कसैलाई पनि हुँदैन। त्यसैले स्वयम् लगानीकर्तालाई नेप्से जति बिन्दुसम्म नेप्से पुग्छ जस्तो लाग्छ त्यो भन्दा १५ प्रतिशत कम रहँदै केही मात्रा सेयर बिक्री गरेर पहिलो चरणमा ऋण तिर्न थाल्नुपर्दछ।
नेप्से आफूले सोचेको भन्दा धेरै माथि पुग्न सक्ने भएकाले एकैपटक सबै सेयर बिक्री गर्नु हुँदैन। पहिलो चरणमा ऋण तिरेपछि फेरि बजार बढिरह्यो र कमाई भइरह्यो भने अन्य काम गर्नुपर्दछ। नेप्से बढ्दै माथिमाथि गएपछि भने बजारसँग डराउन थाल्नुपर्छ। साथै, एक तहको कमाई भएपछि लगानीकर्ताले यो कम्पनीबाट, यो समूहबाट तथा समग्र बजारबाटै अब भयो भनेर अति लोभलाई काबुमा राखेर निस्कन पनि सक्नुपर्दछ। अन्यथा, लोभले लाभ र लाभले विलाप भनेजस्तै हुन पनि सक्दछ।
लगानीकर्ता कोइराला बढेको बजार जोखिमयुक्त र घटेको बजार अवसर नै अवसर भएको बताउँछन्। बजार तल्लो बिन्दुमा हुँदा पिरामिड जस्तै धेरै लगानी गर्ने र माथिल्लो बिन्दुमा बढ्दै जाँदा पिरामिडकै आकारमा लगानी थप्ने मात्रा कम गर्दै जानुपर्ने हुन्छ। यद्यपि, हाम्रोमा पिरामिडको उल्टो शैलीमा लगानी गर्ने काम बढी हुने गरेको देखिन्छ। नेप्से बढेर माथि पुग्दा बिक्री गर्ने र घटेर न्यून बिन्दुमा आउँदा किन्नुपर्नेमा लगानीकर्ताले भने नेप्से जति उकालो लाग्छ त्यति धेरै किन्दै जाने र न्यून बिन्दुमा हुँदा बिक्री गरेर निस्कने उल्टो शैली अपनाउने गरेको कोइराला बताउँछन्।
‘हिजो नेप्से १८०० देखि १९०० बिन्दुमा हुँदा कसैले सेयर किन्न मानेनन्। कसैले किन्यो भने डुब्छ भनेर अरूको कुरा काटेर बस्ने काम भयो। धेरैलाई नेप्से १८०० बिन्दुमा हुँदा सेयरमा लगानी गर भने तर, पैसा भएर पनि छैन भनेर बसे,’ कोइराला भन्छन्, ‘अहिले १८०० बिन्दुबाट ३००० बिन्दुमा बजार पुगेपछि बल्ल मानिस सेयर किन्न तम्सिएको छ। नेप्से चार हजार पुग्दा मानिस सबै पुँजी लगाउन तयार हुन्छ। झन् ४५०० पुग्दा घरजग्गा सबै राखेर लगानी गरेर उल्टो शैली अपनाउँछ।’
बजारमा लगानी गर्ने यही उल्टो शैली र गल्तीका कारण धेरै व्यक्ति गभर्नर, सरकार, धितोपत्र बोर्डलाई दोष लगाउँदै माइतीघरमा आन्दोलन गर्न पुग्ने कोइरालाको भनाइ छ। खासगरी, नयाँ लगानीकर्ता बढ्दो बजारसँगै लगानी गरेर भित्रिन हौसिनेभन्दा पिरामिड शैलीमा कारोबार गर्ने बाटोमा अगाडि जाँदा उत्तम हुने देखिन्छ।
१८०० बिन्दुमा सेयर किन्नका लागि बजारले दुई वर्ष समय दियो। सो समयमा आफूले भनेको मूल्यमा सेयर किन्न सकिन्थ्यो। बजार १८०० बिन्दुमा हुँदा सेयर किन्नुको साटो मानिस अब १२०० मा झर्छ भन्ने गीत गाएर बसे। अहिले नेप्से ३००० बिन्दुमा पुग्दा भने सेयर किन्न लगानीकर्ताको तँछाडमछाड छ। यसलाई सच्याएर पिरामिड शैलीमा लगानी गर्दा सबैका लागि उत्तम हुने देखिन्छ।