काठमाडौं । नेपाली बजारमा विद्युतीय सवारीसाधन (ईभी)को तीव्र प्रतिस्पर्धाले मूल्य घटाउन दबाब पर्न थालेको छ। आयातकर्तामा सवारीसाधन भित्र्याउने प्रतिस्पर्धा चलिरहँदा मूल्य घटाएर बिक्री गर्न दबाब परेको हो।
पछिल्लो समय व्यक्तिगत सवारी साधन प्रयोगकर्ताले आइसीई इन्जिनभन्दा विद्युतीय साधन रोज्न थालेपछि ईभीको आयात बढेसँगै बढ्दो प्रतिस्पर्धाले कम नाफा राखेर गाडी बेच्नुपर्ने बाध्यता डिलरलाई छ। एकातिर आफ्नो ब्रान्डको प्रभुत्व जमाउन आयातकर्ताले नै मूल्य घटाउन थालेका छन् भने अर्को तिर गाडी बिक्रेता (डिलर)ले पनि आफ्नो हिस्सा बढाउन थप छुट दिएर ईभी बेच्ने क्रम सुरु भएको छ।
केही समय अघिसम्म अलिकति पनि सहुलियत नदिने बिक्रेता अहिले विभिन्न अफरसहित प्रतिस्पर्धामा उत्रिएका छन्। कतिपय बिक्रेताले घटेको मूल्य सार्वजनिक गर्दा कतिपयले भने घटाएको मूल्य बाहिर सार्वजनिक नगरी खरिद गर्न चाहने ग्राहकलाई छुट दिने गरेका छन्।
गाडीको मूल्य, फिचर, गुणस्तर र सेवासुविधा सबै हिसाबमा ग्राहकलाई आकर्षित गर्न सकेको खण्डमा मात्रै कुनै पनि ब्रान्डले लोकप्रियता कमाउन सक्दछ। ग्राहकसामु धेरै विकल्प रहेकाले जुनसुकै ब्रान्ड पनि रोजाइमा पर्ने अवस्था छ। ईभीको अधिक आयात र प्रतिस्पर्धाले अटो व्यवसायी सवारीसाधनको मूल्य समायोजन गर्न बाध्य छन्।
एकपछि अर्को ब्रान्डले कम मूल्यका गाडी ल्याएपछि नेपाली ईभी बजारमा हाल एक किसिमको प्राइस वार नै सुरु भएको देखिन्छ। सरकारले बजेटमार्फत ईभीमा कर बढाएपछि बिवाइडी, हुन्डाई, टाटा र डिपललगायत ब्रान्डले मूल्य बढाएका थिए। विद्युतीय सवारीमा वृद्धि गरिएको भन्सार र अन्तःशुल्कले अन्य ब्रान्डले मूल्य बढाए पनि ओरा, ओमोडा ब्रान्डले भने मूल्य घटाएका छन्।
प्रतिस्पर्धाकाबीच ओराले आफ्नो सवारीसाधनको मूल्य ५ लाख रुपैयाँले घटाएको छ। ग्रेटवाल मोटर्सको ओरा ब्रान्ड नेपालमा भिजी इम्पेक्सले बिक्री गर्दै आइरहेको छ। भिजी इम्पेक्सले ओरा जेरो थ्रीमामा मूल्य घटाएको हो। कम्पनीले यसअघि ४७ लाख ४९ हजारमा बिक्री वितरण गर्दै आइरहेको गाडीको मूल्य ५ लाख रुपैयाँले घटाइ ४२ हजार ४९ हजार रुपैयाँ कायम गरेको छ।
नेपालमा भित्रिएको मध्यम रेन्जको ईभी गाडीमा ओराले प्रतिस्पर्धा गर्न सकेको थिएन। आगामी नाडा अटो शोका लागि पनि नयाँ-नयाँ ब्रान्डका मध्यम रेन्जका गाडी आइरहेकाले पनि मूल्यका हिसाबले ग्राहक अरू ईभीमा आकर्षित हुने देखिएपछि ओराले आफ्नो जेरो थ्रीको मूल्य घटाएको हो।
नेपालमा ओमोडा गाडीको आधिकारिक वितरक एसपीजी अटो मोबाइलले केही फिचर हटाएर कम मूल्यको ओमोडा ई–५ सार्वजनिक गरेको हो। नेपालमा ओमोडा ई–५ को दुई भेरियन्ट डिलक्स र लक्जरी भेरियन्ट उपलब्ध छ।
यसअघि ड्यूल टन लक्स भेरियन्टको मुल्य ६२ लाख ४९ हजार थियो। भने लक्स भेरियन्टको मूल्य ६१ लाख ९९ हजार रुपैयाँ थियो। कम्पनीले परिमार्जित फिचरसहित नेपाल ल्याएको ओमोडा ई–५ डिलक्सको मूल्य ५५ लाख ९९ हजार रुपैयाँ र लक्जरी भेरियन्टको मूल्य ६१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।
कम्पनीले साउन २९ गते सार्वजनिक गरेको ओमोडा ई–५ मा ७ वटा फिचर घटाएको एजपीजी अटोमोबाइल्सले जनाएको छ। फिचर घटाएको नयाँ भेरियन्टमा सनरुफ र पछाडिको रिडिङ लाइट हटाएको छ। साथै, ३६० डिग्री क्यामेरा, प्राइभेसी तथा साइलेन्ट ग्लास, रियर डाइनामिक टर्निङ लाइट, पावर टेलगेट, ६ वटा स्पिकरलगायतका फिचर घटाएर ल्याएको छ।
यस्तै, एमजी र बिवाइडीले पनि मूल्य घटाएको भनिएको छ तर, सार्वजनिक भने गरिएको छैन। हालसम्म नेपालमा दुई दर्जन बढी ईभी ब्रान्ड भित्रिसकेका छन्। आगामी भदौ ११ गते देखि १६ गतेसम्म आयोजना हुन लागेको नाडा अटो शोका लागि करिब १ दर्जन ईभी ब्रान्ड भित्रिसकेका छन्।
यसले ईभी ब्रान्डबीचको प्रतिस्पर्धालाई थप बढवा दिएको छ। अझ, सवारीसाधन ल्याउने तयारीमा धेरै अटो व्यवसायी लागि परेकाले मूल्य समायोजन बाध्यकारी बनेको छ। बढ्दो ईभी आयात र प्रतिस्पर्धाले गर्दा ईभीको मूल्य घटाउनुपर्ने बाध्यतामा व्यवसायीहरू पुगेका छन्।