काठमाडौं । उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सुरक्षित र व्यवस्थित सहर बनाउन सहरी विकास मन्त्रालयले काम गरिरहेको बताएका छन्।
मंगलबार काठमाडौं–१ मा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री सिंहले मन्त्रालयले सहरी विकास र पूर्वाधार निर्माणको काम सहर र ग्रामीण क्षेत्र दुवैलाई प्राथमिकतामा राखेर गर्ने बताएका हुन्।
उपत्यकाका बागमती, विष्णुमतीलगायतका नदीमा सुधार ल्याउन र ढल व्यवस्थापनमा मन्त्रालयले प्रयास गरिरहेको भन्दै परिणाम देखिन केही समय लाग्ने उनको भनाइ थियोे। ‘जसरी चलिरहेको छ त्यसैगरी चलाऔं भनेर हुँदैन। सुधारका लागि काम गर्न प्रयास गरिरहेको छु। त्यसमा केही समय लाग्छ’, उनले भने, ‘संविधानले दिएको अधिकारलाई आवश्यक कानुन बनाएर कार्यान्वयन गर्दै जनतालाई परिवर्तनको महसुस गराउन सक्नुपर्छ।’
अहिलेको सरकारले जनतामा आशा जगाउने गरी काम गर्ने उनले दाबी गरे।
देशभर सुरक्षित र व्यवस्थित सहर बनाउन मन्त्रालयले काम गरिरहेको पनि उपप्रधानमन्त्री सिंहले बताए। काठमाडौं उपत्यका विकास प्राधिकरण, अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति सहरी विकास मन्त्रालयअन्तर्गत रहेकाले राजधानीलाई व्यवस्थित बनाउन र उपत्यकाका नदी प्रणााली सुधार्ने काम प्राथमिताका साथ अघि बढिरहेको उनले जानकारी दिए।
सिंहले सरकारलाई रचनात्मक सुझाव दिएर सहयोग गर्न पनि आह्वान गरे। ‘राम्रा विचार, आइडिया, नदीनाला सुधारदेखि लिएर काठमाडौं उपत्यकाको प्रदूषित वातावरण सुधार के गर्दा हुन्छ भन्ने कुरामा कुनै त्यस्तो सुझाव छ भने दिनुहोला,’ उनले भने।