काठमाडौं । नेपाल धितोपत्र बोर्डले दोस्रो बजारमा ऋणपत्रको कारोबार बढाउन प्लेटफर्म बनाउने भएको छ । बोर्डमा नयाँ अध्यक्षले कार्यभार सम्हालेलगत्तै दोस्रो बजारमा ऋणपत्रको कारोबारका लागि प्लेटफर्म बनाउन तयारी सुरु भएको हो ।
खुला कारोबारको कुरा गरिरहे पनि दोस्रो बजारमा सरकारी तथा बैंक वित्तीय संस्था लगायतका ऋणपत्रको कारोबारले प्राथमिकता पाउन सकेको छैन । ऋणपत्रको कारोबार कम भएपछि यस्तो व्यवस्था गर्न लागेको हो । हाल नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नगन्य रुपमा ऋणपत्रको कारोबार हुने गरेको छ ।
त्यसैले ऋणपत्रको कारोबारलाई प्राथमिकता दिन बोर्डले प्लेटर्फ बनाउने भएको हो । बोर्डका नवनियुक्त अध्यक्ष भीष्मराज ढुंगानाले भने,‘ ऋणपत्रको कारोबार सहज बनाउन राम्रो प्लेटफर्म बनाउनै पर्छ ,त्यसमा हामी लागेका छौं ।’ हालसम्म दोस्रो बजारमा किनबेच हुने मेकानिजमले राम्रोसँग काम नगरेकाले काम गर्ने संयन्त्र बनाएर अघि बढ्नुको विकल्प नभएको अध्यक्ष ढुंगानाले बताए ।
विश्वमा ऋणपत्रको कारोबारमा अत्यन्तै प्रभावकारी मेकानिजमले काम गरिरहेको भएपनि नेपालमा त्यस्तो व्यवस्था नभएको उनको भनाई छ । ‘अब विस्तारै सुधार गर्नुपर्छ ।’ अध्यक्ष ढुंगानाले भने ।
लगातार ३ वर्ष बैंकिङ प्रणालीमा क्रेडिट क्रञ्चको समस्या आएपछि यसको दीर्धकालिन समाधानका लागि नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाहरुलाई चुक्ता पूँजीको २५ प्रतिशत ऋणपत्र निष्कासनको व्यवस्था गरेको छ । केन्द्रीय बैंकको यस्तो नीतिपछि बैंक तथा वित्तीय संस्थाका ऋणपत्रहरु धमाधम आउन थालेका छन् ।
बोर्डका अनुसार चालु आवको मंसिर मसान्तसम्म ५ वटा बैंकले ऋणपत्र बिक्रीका लागि स्वीकृति लिएका छन् । जसमा सिद्धार्थ बैंकको सात वर्षे १०.२५ प्रतिशत एसबीएल डिबेञ्चर २०८३ रहेको छ । जसले गत साउन १४ गते बोर्डबाट स्वीकृति पाएको थियो । सिद्धार्थले १ हजार अंकित बराबरका २५ लाख कित्ता ऋणपत्र बिक्री गर्ने अनुमति पाएको थियो ।
बैंकले कुल २ अर्ब ५० करोड बराबरका ऋणपत्र निष्कासन गरेको थियो । त्यस्तै, लक्ष्मी बैंकले १० वर्षे अवधिका लागि लक्ष्मी बैंक डिबेञ्चर २०८६ निष्कासनका लागि अनुमति पाएको थियो । यस बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ बराबरका २० लाख कित्ता ऋणपत्र बिक्री गर्न अनुमति लिएको थियो । बैंकले २ अर्ब रुपैयाँ बराबरका ऋणपत्र बिक्रीका लागि अनुमति पाएको थियो ।
त्यस्तै, प्रभु बैंकले १० वर्षे अवधिका लागि १ अर्ब बराबरका १० लाख कित्ता, सनराइज बैंकले ३० लाख कित्ताका लागि कुल ३ अर्ब र कुमारी बैंकले ३ अर्बको ऋणपत्र बिक्रीका लागि अनुमति लिएको छ ।
अनमुति लिएकामध्ये केहीले ऋणपत्र बिक्री गरिसकेका छन् भने केही प्रक्रियामै रहेका छन् । कुमारीको भने बिक्री खुला भइरहेको छ । यस्तै, एभरेष्ट बैंकले ७ वर्षे अवधिका लागि १०.२५ प्रतिशत ब्याज दिने गरी १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री अनुमति मागेको छ । ऋणपत्र बिक्रीको तयारीमा कृषि विकास बैंक र सिटिजन बैंक पनि रहेका छन् ।
कृषि विकास बैंकले २५ लाख कित्ता ऋणपत्र बिक्री गर्न लागेको छ । बैंकले वार्षिक १०.३५ प्रतिशत ब्याज दिने गरी बैंकले २ अर्ब ५० करोड रुपैयाँ बराबरका ऋणपत्र बिक्रीको गर्न लागेको हो । त्यस्तै, वार्षिक १०.२५ प्रतिशत ब्याज दिने गरी सिटिजन्स बैंकले पनि २५ लाख कित्ता ऋणपत्र निष्कासन गर्न अनुमति मागेको छ ।
बैंकले २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्ने भएको छ । त्यसैगरी, नेपाल एसबीआई बैंकले २५ लाख कित्ता ऋणपत्र बिक्री तयारी थालेको छ । १० प्रतिशत ब्याज दिने गरी बिक्री गर्न लागिएको यस ऋणपत्र २ अर्ब ५० करोड रुपैयाँको छ ।
त्यस्तै,नबिल बैंकले पनि वार्षिक १० प्रतिशत ब्याज दिने गरी कुल २ अर्ब रुपैयाँको ऋणपत्र बिक्री अनुमति मागेको छ । ती सबै ऋणपत्र अध्ययनका क्रममा रहेको बोर्डले जनाएको छन् । पछिल्लो समय लगानीकर्तामा ऋणपत्र खरिदका लागि केही आकर्षण भने बढ्न थालेको छ ।
बोर्डका अनुसार कुल ८ अर्ब ९५ करोड बराबरका ऋणपत्र स्वीकृतिको चरणमा छ । नेपाल स्टक एक्सचेन्जमा हाल ८ वटा ऋणपत्रको कारोबार भइरहेको छ ।
नेप्सेका अनुसार ग्लोबल आइएमई बैंकको ग्लोबल आइएमई डिबेञ्चर, एनआइसी एसिया डिबेञ्चरका तीन योजना, सिद्धार्थ, बैंक अफ काठमाडौं, एभरेष्ट बैंक, सानिमा बैंकको ऋणपत्र कारोबार भएको छ । गत आर्थिक वर्ष १४ वाणिज्य बैंकले ४३ अर्ब ९८ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गरेका थिए ।