काठमाडौं । २०८० वैशाख ११ गते राती त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडान भरेको फ्लाई दुबईको जहाज इन्जिनमा खराबी पत्ता लाग्यो।
विमानस्थलबाट उडान भरेलगत्तै एफजेट ५७६ उडान नम्बरको ‘बोईङ ७३७–८००’ जहाजको इन्जिनमा ठूलो आवाजसहित आगोको मुस्लो देखियो।
नेपाली मिडिया र सामाजिक संजालमा ठूलो हल्लाखल्ला भयो। तर, जहाजको कमान्ड गर्ने पाइलटलाई थाहा थियो– सामान्य भएकाले गन्तव्यमै पुगिन्छ भन्ने।
पाइलटको निर्णयअनुसार नै नजिकका ट्रान्जिटमा आकस्मिक अवतरण नगरी गन्तव्य मुलुक दुबई विमानस्थलमा अवतरण भयो।
यदि पाइलटलाई जहाजमा ठूलै समस्या छ, अवतरण गराउनुपर्छ भन्ठानेको भए भारतका विभिन्न विमानस्थलमा अवतरण गर्न सक्थे। तर, त्यो आवश्यक ठानेनन्।
नेपालमा आन्तरिक उडानमा रहेका जहाज बेलाबेलामा मौसम खराबीको कारण गन्तव्यमा नपुगी अर्को ठाउँमा डाइभर्ट हुने र काठमाडौंमै फर्किने गर्छन्। नेपाली मिडिया र सामाजिक सन्जाल प्रयोगकर्ताले त्यसलाई ठूलो रुपमा लिँदै नकरात्मक टीकाटिप्पणी गर्छन्।
के साँच्चै जहाज गन्तव्यमा नपुगी फर्किनु गलत हो? या उडानका क्रममा कुनै समस्या देखिए बीचबाटै फर्काउनु वा रनवेमा उडान गर्ने बेला जहाजभित्र कुनै समस्या देखे मर्मत गरेर उडान गर्नु गलत हो भन्ने प्रश्न उब्जिन थालेका छन्।
हवाई क्षेत्रको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जहाजमा कुनै समस्या देखिए जबर्जस्ती उडान नगरी गन्तव्यमा फर्काउनु वा मर्मत गरेर मात्र उडान गर्ने अडान पाइलटले राख्नु भनेको सुरक्षाको सबैभन्दा ठूलो मानक रहेको बताउँछन्। जहाजमा कुनै समस्या देखिए उडान गर्ने वा नगर्ने र जहाज फर्काउने÷नफर्काउने सम्पूर्ण अधिकार सम्बन्धित पाइलटको रहेकाले उसले गरेको निर्णय नै अन्तिम हुने सूचना अधिकारी भुलको भनाइ छ।
सामान्य समस्या देखिँदा पनि जहाज फर्काउने र विमानस्थलमै होल्ड गरेर अर्को जहाजमा पठाउनु भनेको यात्रु सुरक्षालाई ध्यानमा राखिने गरिने निर्णय हो। यसो गर्दा एयरलाइन्सलाई व्यावसायिक रुपमा घाटा हुने भए पनि यात्रुलाई बेफाइदा हुँदैन।
एक वर्षअघि फ्लाई दुबईको जहाजमा आगोको मुस्लोजस्तो देखिँदासमेत त्यसलाई सामान्य ठानेर उडान गर्ने निर्णय पाइलटकै भएको उनले बताए। त्यसैले उडानका क्रममा जहाज फर्किँदा यात्रुको सुरक्षालाई मुख्य रुपमा हेरिने गरेको उनको धारणा छ। कतिपय घटनामा पाइलटले विवेकपूर्ण निर्णय नगर्दा ठूला दुर्घटना हुने गरेकाले बेलाबेला जहाज फर्किनु वा समस्या पहिचान गर्नुलाई सकरात्मक रुपमा लिनुपर्ने उनको तर्क छ।
जहाज उडान र अवतरण इन्स्ट्रमेन्ट फ्लाइट रुल्स (आइएफआर) र भिजुअल फ्लाइट रूट (भीएफआर) मार्फत हुने गरेको छ। आइएफआर प्रणाली जडान भएका विमानस्थलमा रात्रिकालीन उडानसमेत गर्न मिल्छ। तर, भीएफएआरमा आँखाले देखेको भरमा उडान÷ अवतरण गराउनुपर्छ। अवतरण र उडानका लागि विमानस्थलमा ग्राउन्ड भिजिविलिटी ५ किलोमिटरभन्दा बढी हुनुपर्छ। त्योभन्दा कम भयो भने भीएफआर हुँदैन। क्लाउड १५ सय फिटभन्दा माथि हुनुपर्छ। त्योभन्दा तल भयो भने भीएफआर हुँदैन। विमानस्थलमा भीएफआर फ्लाइट खोल्ने वा नखोल्ने भन्न एयर ट्राफिक कन्ट्रोलरले भिजिबिलिटी हेरेर निर्णय दिन्छ। हेलिकोप्टर पाइलट सधैं भीएआरमै उडान गर्ने हो। उनीहरु आईएफआरमा उडान गर्न सक्दैनन्।
अहिले नेपालमा सञ्चालनमा रहेको ३३ वटा विमानस्थलमध्ये १० वटामा मात्र आईफएफआर जडान गरिएको छ। सोही कारण मौसम खराबीका बेला वा रात्रिकालीन समय ती विमानस्थलमा उडान गर्न सक्दैनन्। अर्को कुरा, जुन विमानस्थललाई गन्तव्य मानेर उडान गरिन्छ, त्यस आसपासमा रहेका विमानस्थलमा समेत मौसम खुला हुनुपर्छ नत्र त्यहाँ पनि उडान हुँदैनन्। गन्तव्य विमानस्थलमा कुनै समस्या देखा परेर अवतरण गर्न नमिल्ने बेला विकल्पको रुपमा अर्को विमानस्थलमा जानुपर्ने हुन्छ। त्यसैले खासगरी जाडो मौसममा उडान डिले हुने गरेका छन्।
बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्ण गन्तव्य विमानस्थलको भिजिबिलिटी कम हुनु वा उडान प्रतिकूल मौसम हुँदा जहाजलाई नजिकैको गन्तव्यमा डाइभर्ट वा अवतरण गराइने गरेको र मौसममा सुधार भएपछि जहाजलाई फेरि त्यही गन्तव्यमा फर्काउने गरेको बताउँछन्। कतिपय अवस्थामा मौसम सुधार हुन केही समय लाग्ने जानकारी विमानस्थल टावरको निर्देशनअनुसार दिइने हुँदा विमान चालकले जहाजलाई माथि अकासमै होल्ड गर्ने गरेको उनको भनाइ छ।
यसरी जहाज अकासमा होल्ड हुँदा वा गन्तव्यमा नपुगी फर्किंदा र अर्को गन्तव्यमा डाइभर्ट गर्दा जहाजको सञ्चालन खर्चको झन्डै ४० प्रतिशत हवाई इन्धन खर्च हुने गरेको बताइन्छ। ‘१ उडान तथा अवतरणलाई ‘साइकल’ पनि भनिन्छ। यी सबै प्रक्रिया अपनाउँदा हवाई कम्पनीले अतिरिक्त खर्च वहन गर्नुपर्छ,’ सूचना अधिकारी कर्णले भने, ‘यो उडानलाई सुरक्षित बनाउनकै लागि हो। यसलाई आकस्मिक अवतरण भन्न मिल्दैन।’
श्री एयरलाइन्सका प्रवक्ता अनिल मानन्धरले यात्रु सुरक्षा नै सबैभन्दा ठूलो विषय भएकाले सामान्य समस्या देखिँदा पनि जहाज फर्काउने र विमानस्थलमै होल्ड गरेर अर्को जहाजमा पठाइने गरेको बताए। यसबाट एयरलाइन्सलाई व्यावसायिक रुपमा घाटा हुने भए पनि यात्रु सुरक्षालाई ध्यानमा राखेर गन्तव्यमा पुग्नै लाग्दासमेत कुनै समस्या देखिए काठमाडौंमै फर्काउने वा अर्को विमानस्थलमा अवतरण गराउने गरेको उनले जानकारी दिए।